कांग्रेस-एमालेलाई प्रचण्डले भने: तपाईँहरु आफैं मिल्नुभएको हैन, कसैले मिलाइदिएको हो’



‘मैले कांग्रेस र एमालेको सहमतिबारे ओलीजीलाई सोधेँ । उहाँले त थाहा छैन भन्नुभयो । मैले पत्रिकामा फोटो नै देखाएँ । उहाँले कहिलेको फोटो रहेछ भन्नुभयो । ढाँट्ने र झुट बोल्ने पनि एउटा सीमा हुन्छ नि !’

काठामडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसबीच बनेको नयाँ गठबन्धनप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् । सामान्यतया लोकतान्त्रिक देशमा दुई ठूला प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाउनु अस्वभाविक र अव्यवहारिक हुने बताएका छन् ।

विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसद्‍लाई सम्बोधन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् । नयाँ गठबन्धन एमाले कांग्रेस आफैंले मिलाएको नभएर खराब नियतसहित कसैले मिलाइदिएको उनको आरोप छ। साथै नयाँ गठबन्धन कुन ठाउँमा र कसरी तयार भयो भन्ने कुराले नै आम जनताले नयाँ गठबन्धनको नियत बुझिसकेको प्रचण्डले बताए ।

‘कांग्रेसका साथीहरु हामी आफैँ मिलेको भन्नुहुन्छ । तर हैन । कसैले मिलाएको हो । कसले र किन मिलाएको हो भन्ने कुरा घाम जत्तिकै छर्लंग छ । तपाइँहरु आफैं मिलेको हैन । कसैले मिलाएको हो,’ प्रचण्डले भनेका थिए । यस्तै अँध्यारो र बन्द कोठामा कांग्रेस र एमालेको सहमति बनेको भन्दै यसलाई प्रचण्डले रहस्यमय र नाटक मन्चन गरिएको आरोप लगाए ।

साथै दुई ठूला दलहरु डर र भयका कारण नयाँ सहमति बनाउन पुगेको पनि उनको भनाइ थियो । यस क्रममा एमालेका अध्यक्ष केपी ओलीले नयाँ गठबन्धन बनाउने क्रममा आफूलाई झुट बोलेको पनि प्रचण्डले गुनासो गरेका थिए । ‘पत्रिकामा दुई नेताको नाम र हस्ताक्षर आयो । मैले नयाँ गठबन्धनबारे ओलीजीलाई सोधेँ । उहाँले त थाहा छैन भन्नुभयो । मैले पत्रिकामा फोटो नै देखाएँ । उहाँले कहिलेको फोटो रहेछ भन्नुभयो,’ प्रचण्डले भनेका छन्, ‘झुट र ढाँट्ने पनि सीमा हुन्छ नि !’

प्रचण्डले नयाँ गठबन्धनलाई जनताले अनुमोदन नगरेको र उनीहरुको स्वार्थलाई नियालिरहेको भन्दै यसलाई इतिहासमा रेकर्ड हुने भन्दै चेतावनी पनि दिएका थिए । ‘बाढी पहिरो आउन लाग्यो भनेर तपाइँहरु मिल्नुभएको त हैन,’ प्रचण्डले भने, ‘तपाइँहरुको यात्रा प्रतिगमनतिर हो भन्ने कुरा सहमति गर्ने ठाउँ र को व्यक्तिको घरमा सहमति गर्नुभयो भन्ने कुराबाट पनि आम जनताले हेरिरहेका छन् । नियत सफा भए पहिलो र दोस्रो दल मिल्न अँध्यारो र बन्द कोठा चाहिन्छ ?’


क्लिकमान्डु