पहिरो अपडेट: त्रिशूलीमा बस बगाउँदा बेपत्ता केही यात्रुको पहिचान खुल्यो, टिकट लिस्ट सार्वजनिक



भरतपुरको सिमलतालमा पहिरोले दुईवटा यात्रुवाहक बस पुरिदिँदा दुबै बसका चालकसहित ६३ जना यात्रु बेपत्ता छन् । तीन यात्रु भने झ्यालबाट हामफालेर सुरक्षित स्थानमा छन् ।

काठमाडौं । चितवनको सिमलतालमा दुईवटा यात्रुवाहक बस पहिरोमा पुरिँदा अहिले पनि खोजी कार्य जारी रहेको छ । शुक्रबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी र स्थानीयहरुले यात्रुहरुको खोजी गरेका छन् ।

शुक्रबार बिहान साढे ३ बजेतिर वीरगञ्जबाट काठमाडौंतर्फ आइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस भरतपुर महानगरपालिका २९ स्थित सिमलताल भन्ने ठाउँमा माथिबाट खसेको पहिरोमा पुरिएको हो ।

घटनापछि यात्रुहरुको खोजी भइरहेको छ । बसलाई पहिरोले बगाउने क्रममा तीन यात्रु भने भागेर बाँच्न सफल भएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा पुरिएका दुबै बसमा जम्मा ६३ यात्रुहरु रहेको बताइएको छ । तर सबैको नाम भने पहिचान भइसकेको छैन ।

गणपति डिलक्स बसका केही यात्रुहरुको नाम भने खुलेको छ । काठमाडौंस्थित नयाँ बसपार्कले सार्वजनिक गरेको टिकट लिस्ट अनुसार राज पटेल, प्रिन्स जैशवाल, नन्दन दास र ओकिल खाँको नाम खुलेको छ । टिकट लिस्टमा अन्य यात्रुको पनि नाम उल्लेख गरिएको छ । तर उनीहरुको थर र अन्य पहिचान भने भएको छैन । नन्दु, अमिता, हरिचन्द्र, शम्भु, नवीन, ओम, राजकिशोर, शैलेन्द्र लगायतको नाम लिस्टमा देखिन्छ । उनीहरुको नामबाट टिकट बुक गरेको सार्वजनिक भएको छ।

सिमतालमा पुरिएका दुबै बस लेदोसहितको पहिरोले बगाउँदा त्रिशुली नदीमा यात्रुलाई बगाएको वा पुरेको हुनसक्ने देखिएको छ । अहिले पनि गोताखोरसहितको प्रहरी टोलीले यात्रुहरुको खोजी गरिरहेको छ । सिमतालमै पहिरो खस्दा ढुंगाले लागेर अर्को एउटा बसका चालकको मृत्यु भएको छ । उक्त बसका यात्रुहरु भने सुरक्षित रहेका छन् ।

यसैबीच कास्की महानगरपालिका १९ तल्लोकोटमा पहिरोका कारण एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ । बिहीबार राति तल्लोकोटस्थित घरमाथिबाट आएको पहिरोले एक तले घर बगाउँदा ४७ वर्षीय कुलबहादुर परियार, उनकी पत्नी ४३ वर्षीया मनकुमारी, ८५ वर्षीया आमा लक्षिमा, छोरी १५ वर्षीया प्रशना, २० वर्षीया प्रभा, ज्वाइँ २५ वर्षीय अस्मित परियार र आफन्त तल्लाकोट बस्न राधिका परियारको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

यस्तै पोखरा महानगरपालिका–३२ चैनपुरमा पहिरोमै पुरिएर तीन जनाको मृत्यु भएको छ । चैनपुरस्थित आरती ओझाको घर पहिरोले पुरिँदा छोरी १८ वर्षीया अनिता ओझा, ११ वर्षीया अनुष्का ओझा र आफन्त ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कास्कीकै मादी गाउँपालिका वडा नम्बर ११ तल्लो साप्लेमा पहिरोमा पुरिएर ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जानकारी दिएको छ ।

बिहीबार बिहानदेखि नै देशका विभिन्न स्थानमा बाढी पहिरोले ठूलो संख्यामा मानिसहरु प्रभावित बनेका छन् । तराइका कतिपय जिल्लामा नदीमा आएको बाढी बस्तीमा नै छिरेर स्थानीयहरु विस्थापित भएका छन् ।

यसैगरी, तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको वर्षाका कारण शुक्रबार बिहान विभिन्न ठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पामा, व्यास नगरपालिका–१२ घाँसीकुवा, म्याग्दे गाउँपालिका–६ मौरीओडारमा आज बिहान पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

याम्पामा बिहान ४ बजे गएको पहिरो हटाइए पनि रुख ढलेर फेरि राजमार्ग अवरुद्ध भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) को निर्माण कम्पनीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


क्लिकमान्डु