के के गरिन ११७ दिनमा कृषि मन्त्री साहले ?, सुन्तलालाई राष्ट्रिय फल घोषणादेखि खाद्य स्वच्छता तथा गुणस्तर ऐन पारितसम्म



काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्रालयको जिम्मेवारी सम्हालेकी कृषि मन्त्री ज्वालाकुमारी साहले आफ्नो ११७ दिनको मन्त्रालयको कार्यकाल सफल भएको बताएकी छन् ।

चार दलीय गठवन्धनबाट नेकपा एमालेको तर्फबाट गत् फागुन २३ गते साहले कृषि मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । कृषि मन्त्रालयमा उनी ११७ दिन बिताएकी छिन् ।

साहको सचिबालयका अनुसार उनको कार्यकालमा लामो समयदेखि अड्केर बसेको विभिन्न प्रकारका नीतिगत समस्यालाई समाधान गरिएको छ ।

केही बर्षदेखि अड्केर बसेको खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ संसदबाट पारित गराउन साह सफल भएको सचिवालयले जनाएको छ ।

आफ्नो कार्यकालमा सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिइएको थियो भने कृषि जैविक बिषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको सचिवालयले जनाएको छ ।

यस्तै लामो समयदेखि दुग्ध किसानलाई भुक्तानी उपलब्ध गराउन अर्थ मन्त्रालयमा पहल गरी ५ % ब्याजदरमा डीडीसीलाई ३० करोड रुपैयाँ उपलब्ध गराइएको थियो ।

डीडीसीले सरकारबाट प्राप्त गरेको ३० करोड र आन्तरिक स्रोतबाट ७ करोड परिचालन गरी ३७ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिएको बिषयलाई पनि उपलब्धीको रुपमा लिएको सचिवालयले जनाएको छ ।

यस्तै भुक्तानी गर्न बाँकी थप रकमका लागि अर्थ मन्त्रालयसँग थप ६० करोड रुपैयाँ माग गरिएको छ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय मकै सम्मेलन, आलु सम्मेलन, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत जोन र सुपर जोन थप गर्नुका साथै जीवनाशक विषादी नियमावली २०८१ समेत पारित भएको सचिवालयले जनाएको छ ।

यसैगरी बिजबिजन नियमावली मन्त्रिपरिषद्मा पेश हुने क्रममा छ । विश्व दुग्ध दिवस किसानकै गोठमा मनाउने अवस्थाको सुरुआतसँगै पशु र कृषि अन्तर्गतको बीमाको रकम भुक्तानी गरिएको छ ।

लामो समयदेखि कृषि तथा पशुपन्छी बिमातर्फ भुक्तानी गर्न बाँकी रहेको बक्यौता रकम उपलब्ध गराउन पनि पहल भएको सचिबालयले जनाएको छ ।

यो पहलका कारण अर्थमन्त्रालयबाट ९७ करोड रुपैयाँ निकासा भएको छ । साहले बजेट अभावका कारण लामो समयदेखि अवरुद्ध कृषि तथा पशुपन्छी बिमा कार्यक्रम पुन सुचारु गरिएको जानकारी दिएकी छन् ।

विगतको समयमा देखिने रसायनिक मलको समस्या समाधान भएको दाबी गर्दै सचिवालयले पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद् नियमावली २०८१ पारित भएको जनाएको छ । चैतै धानको समर्थन मूल्य निर्धारतका साथै कृषिमा लगानी दशक २०८१–२०९१ घोषणा गरिएको छ ।

प्रत्येक बर्षको बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवस मनाउने निर्णयका साथै प्रत्येक प्रदेशमा कृषि एक्सीलेन्स केन्द्रको सुरुआत गरिएको छ । बुढानिलकण्ठमा खोरेत तथा सीमा विहिन पशु रोग अन्वेषण प्रयोगशाला अन्तर्गत वायो सेफ्टी लेभेल २ प्लस भवनको उद्घाटन पनि गरिएको छ ।

नेपाल पशु चिकित्सा परिषद्को डिजिटल काउन्सिल र पुस्तकालयको सुरुआतका साथै नेपालबाट रांगा भैसीको मासु चीन निर्यात गर्नेसम्बन्धी समझदारी पत्रको तयारीसम्म भएको सचिबालयले जनाएको छ ।

यस्तै सधै काठमाडौंमा मनाइने गरिएको राष्ट्रिय धान दिवसको परम्परागत प्रक्रिया अन्त्य गरी जिल्लाबाट मनाउने थाल्तीको सुरुवात गरिएको छ ।

त्यस्तै खाद्य तथा दानाको उद्योगसम्बन्धी अनुमति पत्र अनलाइनबाट उपलब्ध हुने व्यवस्था मिलाइएको उनको सचिवालयले जनाएको छ ।


क्लिकमान्डु