बेलायती प्रधानमन्त्री स्टार्मरका चुनौती: १५ लाख घर बनाउने आवास योजना र शरणार्थी समस्या



केही वर्षयता अस्थिर राजनीतिको सामना गरेको बेलायतमा लेबर पार्टीको सरकार बनेपछि स्थिरता कायम हुने देखिन्छ । तर १५ लाख नयाँ घर बनाउने लेबर पार्टीको आवास सम्बन्धी चुनावी एजेन्डा र शरणार्थी समस्या कसरी समाधान होला ?

एजेन्सी । शुक्रबार मात्रै लेबर पार्टीका नेता केयर स्टार्मर नयाँ प्रधानमन्त्री बनेपछि बेलायतमा वर्षौंदेखि पेचिलो बन्दै आएको आवास सम्बन्धी नीतिबारे फेरि चर्चा हुन थालेको छ । स्टार्मर तिनै नेता हुन् जसले १५ लाख नयाँ घर बनाउने योजनालाई चुनावको प्रमुख मुद्दा बनाएका थिए ।

उनको यही मुद्दा बेलायतमा ज्यादै लोकप्रिय पनि छ । स्टार्मर प्रधानमन्त्री बन्नेबित्तिकै बेलायतमा ठूलो संख्यामा भवन निर्माण व्यवसायीहरुले खुसीयाली मनाए । किनकि २०१६ पछि नै अस्थिर बनिरहेको बेलायतको राजनीति लेबर पार्टीको जितपछि स्थायित्व आउँछ भन्ने धेरै विश्लेषकहरुको तर्क थियो ।

त्यसो त बेलायतमा स्टार्मरको विजयसँगै आवास निर्माताहरुमा खुसी र उत्साह छाएको बताइन्छ । थुप्रै विश्लेषकहरुको टिप्पणी के छ भने, लेबर पार्टीको जित नै बेलायती भवन निर्माताहरुका लागि सकारात्मक पक्ष हो ।

स्टार्मरले भने आर्थिक विकासलाई बढावा दिन रोजगारी सिर्जना गर्ने र १५ लाख नयाँ घरहरु बनाउने लक्ष्यसहित बेलायतलाई फेरि निर्माण गर्ने योजनालाई नै चुनावी अभियानको एजेन्डा बनाएका थिए । र स्टार्मर यस्ता प्रधानमन्त्री हुन् जो पाँच वर्षमा चार प्रधानमन्त्री बनिसकेपछि नयाँ प्रधानमन्त्रीमा छानिएका हुन् । र पछिल्लो समय बेलायतले सामना गरेको अस्थिरताको राजनीतिलाई सही ट्र्याकमा ल्याउने उनको प्रमुख जिम्मेवारी हो । रोजगारी सिर्जना गर्ने तथा अर्थतन्त्र सुधार गर्ने गम्भीर जिम्मेवारी स्टार्मरसँग छ ।

यद्यपि स्टार्मरको अगाडि केही सहजता पनि छन् । लामो समयसम्म भएको मूल्यवृद्धि र २०२२ अक्टोबरमा ११.१ प्रतिशतसहित चरम अवस्थामा पुगेको मुद्रास्फीति सन्तुलनमा आएपछि स्टार्मर प्रधानमन्त्री बन्ने मौका पाएका छन् । हाल मुद्रास्फीति २ प्रतिशतसहित सरकारको लक्ष्यअनुसार नै कायम भएको छ । र ४१ वर्षको इतिहासमा बेलायतको मुद्रास्फीति ११ प्रतिशतभन्दा माथि पुगेको थियो । सरकारी आकडा अनुसार २०२३ को अन्त्यमा अर्थव्यवस्थामा मन्दी कायम थियो । तर २०२४ को पहिलो त्रैमासिकमा ०.७ प्रतिशतको वृद्धि भयो ।

नवनिर्वाचित प्रधानमन्त्री स्टार्मरका चुनावी बाचा र उनका चुनौती

ऋषि सुनकले यदि आफूले जितेको खण्डमा फेमिली भिजाको एक सीमा तय गर्ने बताएका थिए । साथै नेट इमिग्रेसनलाई शून्यमा पुर्‍याउने उनको योजना थियो । लेबर पार्टीले भने नेट इमिग्रेसनलाई घटाउने भनिरहेको थियो । साथै विदेशी कामदारहरुबाट निर्भरता हटउँदै घरेलु रुपमा प्रशिक्षित कामदारहरुलाई परिचालन गर्ने लेबर पार्टीको प्रतिबद्धता थियो ।

यससँगै शरणार्थी मुद्दा पनि एक प्रमुख चुनावी एजेन्डा बनेको थियो । कानुनी रुपबाट हुने आप्रवासनभन्दा फरक अर्थात् शरण माग्ने विदेशीहरुका कारण पनि एक समस्या बेलायतमा देखिएको छ । यो विषय एक प्रमुख चुनावी एजेन्डा थियो । यसरी शरण माग्नेहरुलाई बेलायतमा रोक्ने एउटा एजेन्डा थियो ।

शरण पाउने खोजीमा मानिसहरु समुद्रबाट साना डुंगाको सहारामा बिना अनुमति युरोप हुँदै बेलायत आउने गरेका छन् । अवैध बाटो भएर आउनेहरुलाई चुनावअघि नै फिर्ता पठाउने ऋषि सुनकको योजना सफल हुन सकेन । लेबर पार्टीले भने यो नीति हटाउने भनिरहेको थियो ।

गत वर्ष २९ हजारभन्दा धेरै यसरी साना डुंगाबाट बेलायत पुगेका थिए । २०२२ मा यो संख्या ४५ हजार ७७५ र यही वर्ष पनि १० हजारभन्दा धेरै यस्तै च्यानलबाट बेलायत प्रवेश गरेका छन् । साथै शरणार्थी आवेदनसँग जोडिएको प्रक्रियामा बेलायत हरेक वर्ष ३०० करोड पाउन्डभन्दा धेरै खर्च गर्दै आएको छ । आवेदनदेखि फैसलासम्मको अवधिमा पनि आवेदकहरुलाई राख्ने बन्दोबस्तका लागि पनि करिब ८० लाख पाउन्ड हरेक वर्ष खर्च हुने गरेको छ।

२०१९ को आम चुनावमा लेबर पार्टीको ठूलो पराजयपछि स्टार्मर पार्टी नेतृत्वका लागि चुनाव लडे । र अप्रिल २०२० मा उनी लेबर पार्टीको नेता बने । आफ्नो विजयसभामा उनले लेबर पार्टीलाई आत्मविश्वास र उद्देश्यसाथ नयाँ युगमा लैजाने बाचा गरेका थिए ।

स्टार्मरको नेतृत्वमा लेबर पार्टीले जति पनि बाचा गरेको थियो त्यसमा बेलायतको स्वास्थ्य व्यवस्थादेखि आप्रवासनको मुद्दासम्म समेटिएको थियो । यस क्रममा लेबर पार्टीले बिना अनुमति वा अवैध बाटो भएर साना डुंगाबाट प्रवेश गर्नेहरुलाई रोक्नका लागि सुरक्षा दस्ता खडा गर्ने बाचा गरेको थियो । यस्तै कानुनमा सुधार गर्दै १५ लाख नयाँ घर बनाउने योजना लेबर पार्टीको प्रमुख एजेन्डा थियो।

लेबर पार्टी लामो समयपछि सत्तामा फर्कँदा यससँग अपेक्षा गर्नेहरुको ठूलो जमात पनि छ । यससँगै लेबर पार्टीको जिम्मेवारी नै नयाँ प्रधानमन्त्री स्टार्मरको पनि जिम्मेवारी बनेको छ । यसअन्तर्गत हरित उद्योगमा ठूलो लगानी गर्नका लागि निजी क्षेत्रलाई तयार बनाउनुपर्ने दयित्व स्टार्मरका अगाडि छ ।

स्टार्मरले यदि बेलायतको अर्थव्यवस्थालाई तीब्र रुपमा परिवर्तन गरे भने त्यसले केही मानिसहरुलाई पक्कै नोक्सान पनि पुर्‍याउने छ । यद्यपि सार्वजनिक वित्तीय क्षेत्रमा तत्काल नै सम्बोधन गरुपर्ने केही चुनौती छन् । काउन्सिल तथा विश्वविद्यालयहरुको लिलामी सामना गर्नुपर्ने छ । यससँगै बेलायती अर्थतन्त्रमा स्टार्मरको अर्को चुनौती भनेको ‘बिग ब्याङ’ शैलीमा निर्णय लिनुपर्ने छ ।

आखिर लामो समय प्रतिपक्षमा बस्दा लेबर पर्टीले जनसवालका धेरै बाचा गर्दैआएको छ । आम जनतालाई लेबर पार्टी र स्टार्मरप्रति गहिरो अपेक्षा पनि छ । ब्रेक्जिटसँगै अस्थिरता झेल्दै आएको बेलायतलाई अब स्टार्मरले कस्तो लय दिन्छन् यो त आगामी दिनमा उनको इमान र लगनले देखाउने छ ।


क्लिकमान्डु