सिधा कुराका सम्पादक र प्रकाशकसहित ३ जनाविरुद्ध साइबर अपराधको मुद्दा दायर



काठमाडौं । ‘द डार्क फाइल’ नामक कार्यक्रममा गलत भिडियो क्लिप तयार गरेको भन्दै सिधा कुरा डटकमका सम्पादक र प्रकाशकसहित तीन जनाविरुद्ध मुद्दा दायर भएको छ ।

काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सम्पादक नवीन ढुंगाना, प्रकाशक युवराज कँडेल र अडियो उपलब्ध गराएका भनिएका व्यक्ति राजकुमार तिमल्सिनाविरुद्ध साइबर अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो । तीनै जनालाई फरार प्रतिवादी बनाइएको छ ।

सिधा कुरा डटकम नामक युट्युब र अनलाइनले अख्तियारको स्टिङ अप्रेसनका मुद्दा मिलाउन सर्वोच्च अदालतका न्यायाधीशसमेतको मिलेमतोमा बैठक बसेर डिल भएको समाचार र भिडियो प्रकाशन/प्रशारण भएको थियो ।

उक्त भिडियोमा डिल भएको भन्दै बैठकको अडियो सामग्री राखिएको थियो । तर, सर्वोच्च अदालत स्यंले यस विषयलाई लिएर अदालतको अवहेलना भन्दै रिट दायर गरेको थियो । त्यसक्रममा अदालते प्रमाण भनिएको अडिओबारे छानबिन गर्न प्रहरीलाई आदेश दिएको थियो । उक्त अडियोको जाँच गर्दै प्रहरीले प्रतिवेदन पेस गरेको थियो ।

अभियोग पत्रमा भनिएको छ ‘अदालतको मुद्दामा हुने कार्यविधि तथा सुनुवाइ र फैसलासँग जोडी गलत भिडियो क्लिप तयार पारी प्रशारण समेत गरी अपमानजनक कार्य समेतको कसुर गरेको वारदातबाट स्थापित हुन आयो।’

अदालतमा परेको मुद्दाको अन्तिम टुंगो लगाउन भने बृहत् पूर्ण इजलासमा पठाइएको छ।


क्लिकमान्डु