बीपी र मदन भण्डारीको नाममा बजेट नदिँदा कांग्रेस एमालेले बैठक रोके: बालेन

घण्टौं कुर्दा पनि मेयर नआएको वडाअध्यक्षहरुको भनाइ



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कांग्रेस र एमालेका नेताका नाममा करोडौँको कार्यक्रम राख्न नमन्दा नगरसभा बैठक रोकिएको दाबी गरेका छन् ।

शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत मेयर शाहले कांग्रेसका संस्थापक नेता बीपी कोइराला र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नाममा बजेट छुट्टाउन नमान्दा नगरसभा बैठक रोकिएको दाबी गरेका हुन् ।

आफूले ४ शहीदहरुको नाममा गरौं भन्दा उनीहरुले नमानेको आरोप बालेनको छ ।

‘एमाले, कांग्रेसले बीपी कोइराला र मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।

स्वतन्त्र सेनानी सहिदहरू भन्दा आफ्नो नेताहरूको योगदान कार्यपालिका सदस्यले धेरै देखेको मेयर शाहको आरोप छ । ‘सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा कांग्रेस एमालेको नेताहरूको योगदान धेरै देख्नु भयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानु भयो ,’ शाहले भनेका छन् ।

शाहले आज बिहान ८ बजे नगरसभाको बैठक बोलाएका थिए । बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गर्ने तयारी थियो ।

तर कांग्रेस एमालेका वडाअध्यक्षहरुले भने मेयर शाहलाई घण्टौं कुर्दा पनि बैठकमा नआएको बताए । पछिमात्र बैठक स्थगित भएको बारे खबर पाएको उनीहरुको भनाइ छ ।


क्लिकमान्डु