प्रहरीलाई पंगु बनायौं, भ्रष्ट बनायौं: एमाले सांसद पृथ्वीसुब्बा गुरूङ



नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले राज्यका सबै संयन्त्रहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाउनुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गुरुङले गणतन्त्र स्थापनापछि यतिका वर्ष आइसक्दा पनि राज्यका संयन्त्रहरु लोकतान्त्रिक हुन नसकेका बताए । उनले राज्यका सबै संयन्त्रहरुलाई गणतन्त्रमैत्री बनाउनुपर्नेमा सबै राजनीतिक दललाई ध्यानाकर्षण गराए ।

नेपालको कर्मचारीतन्त्र ब्रिटिश लिगेसीमा हुर्केको र शाणा, शाह तथा पञ्चायत शासनले हुर्काएको भन्दै अझै परिवर्तन हुन नसकेको उनले बताए ।

‘गणतन्त्र स्थापनापछि हाम्रो कर्मचारीतन्त्र नयाँ बनाउन सकेका छैनौँ । ३००/४०० वर्ष अगाडी ब्रिटिश लिगेसीमा हुर्केको कर्मचारीतन्त्र, राणा शासनले, शाह शासनले, पञ्चायतले हुर्काएको यो ब्युरोक्रेसीमा तात्विक फरकपन ल्याउन सकेको छैन । त्यसमा लोकतान्त्रिकरण हुन बाँकी छ,’ उनले भने,’ त्यसलाई क्रान्तिकारी बनाउन बाँकी छ । जनमुखी, गणतन्त्रमैत्री बनाउन बाँकी छ ।’

गुरुङले नेपाल प्रहरीमा चरम राजनीतिकरण भएर नेतापिच्छेका प्रहरीका हाकिम भएको बताए । रहरीले आफ्नो औचित्य, सान्दर्भिकता र श्रेष्ठता, पुष्टि गर्न नसकेको उनको भनाइ छ ।

‘नेपाल प्रहरीमा धेरै राजनीतिकरण भयो । बहुदलीय कालमा र अहिलेसम्मको अवधिभित्र । हामी राजनीतिक दलहरुले प्रहरीलाई पंगु बनाएका छौँ,’ उनले भने, ‘प्रहरी यतिधेरै राजनीतिकरण भयो, पार्टीकरण भयो, गुटकरण भयो । व्यक्तिकरण भयो अहिले कि नेता–नेताको प्रहरीको हाकिम छन् ।’

प्रहरीले आफ्नो स्वतन्त्र ढंगले काम गर्ने परिस्थिति नरहेको उनको भनाइ छ । कुनै एक व्यक्तिविरुद्ध मुद्दा हाल्यो भने नेतालाई सोधेर मात्र उजुरी लिने गरेको उनले बताए ।

‘प्रहरीले कुनै व्यक्तिले मुद्दा हाल्यो भने प्रहरीले उजुरी लिन सक्दैन । नेतासँग सोधेर मात्रै । मन्त्रीहरुसँग सोधेर मात्रै । सांसदहरुसँग सोधेर मात्रै लिने कि नलिने भनेर फैसला गर्छ,’ उनले भने, ‘कतिधेरै राजनीतिकरण भयो ? कति धेरै भ्रष्ट बनाइयो ? यो चिजबाट नेपाल प्रहरीलाई उठाइएन भने नेपाल प्रहरी माथि उठ्न सक्दैन ? सुशासनको अभिष्ट पूरा गर्न सक्दैनौँ । शान्ति, सुव्यवस्था कायम गर्न सक्दैनौँ । नेपाली सेनालाई गणतन्त्रमैत्री बनाउन सकिएको छैन । यो सबैभित्र लोकतान्त्रिकरण गर्नुपर्छ । सरकारका पुराना संयन्त्रहरुलाई संघीय लोकतान्त्रिक गणतन्त्रमैत्री बनाऔँ ।’


क्लिकमान्डु