सहकारीबाट गोर्खा मिडियामा गएको रकमको विवरण झिकाउने संसदीय छानबिन समितिको निर्णय



काठमाडौं । सहकारी छानबिनका लागि गठित संसदीय छानबिन समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ ।

बुधबार बसेको समितिको बैठकले ९ वटा सहकारीको कागजात सम्बन्धित निकायबाट माग गर्ने निर्णय गरेको छ ।

ती सहकारीका बार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सन्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र विभिन्न सहकारीमार्फत गोरखा मिडियामा प्रवाह भएको रकम समेत माग गरेको समितिका सभापति सूर्य थापाले जानकारी दिए।

उनले गोर्खा मिडियामा बिभिन्न सहकारीबाट प्रवाह भएको रकमका विषयमा समितिको चासो केन्द्रित रहेको बताए ।

यसअघि गठन भएका बिभिन्न समिति, आयोग लगाएतको प्रतिवेदन प्राप्त भएको र अध्ययनका लागि समिति सदस्यहरुलाई बितरण गरिएको उनले जानकारी दिए ।

गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिले तीन महिनाको समय पाएको छ ।

गोरखा मिडिया नेटवर्कमा रवि लामिछाने तत्कालीन समयमा प्रबन्ध निर्देशक थिए । उनी भएको समयमा नेटवर्कका अध्यक्ष गितेन्द्र बहादुर (जीबी) राईसहित लामिछानेले विभिन्न सहकारीबाट कानूनविपरीत कर्जा लिएका थिए । सहकारी ठगीमा लामिछाने सहितको नाम आएपछि नेपाली कांग्रेसले धेरै समय संसद अवरोध गरेपछि सरकारले जेठ १५ गते समिति गठन गरेको हो ।

समितिमा नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद सूर्य थापा सभापति छन् ।

नेपाली कांग्रेसबाट सह–महामन्त्री बद्रीप्रसाद पाण्डे र केन्द्रीय सदस्य एवं सांसद ईश्वरी न्यौपाने, एमालेकी सरिता भुसाल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका माओवादीका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

समितिका सभापति सूर्य थापाले यसो भने

बैठकमा सहकारी क्षेत्रका दुई जना विख्यात व्यक्तित्वहरु जसले २०४६ सालपछि सहकारीको विकास, कानूनी प्रवन्ध, संरचनागत प्रवन्ध र समग्र विकासमा योगदान गर्नुभएको छ ।

पूर्वमन्त्री, सहकारी विकास बोर्डका तत्कालीन अध्यक्ष दीपकप्रकाश बाँस्कोटा र पूर्वमन्त्री सहकारी महासंघका पूर्वअध्यक्ष केशवप्रसाद बडालज्युलाई हामीले आमन्त्रित गरेका थियौँ ।

उहाँहरुले अन्तर्राष्ट्रिय रुपमा र समग्रतामा यसमा सहकारीको उद्भव, विकास र समग्र स्थितिको परिचर्चा गर्दै सहकारीमा देखापरेका समस्याको समाधानका बारेमा गहन छलफल भयो । उहाँहरुले सल्लाह, सुझाव दिनुभयो । उहाँहरुले सहकारी भित्र आज देखापरेको समस्या ३० हजार हाराहारी सहकारीहरुमध्ये करिव ५ सय सहकारीको समस्या हो । यो जम्माजम्मी एक प्रतिशत भन्दा कमको समस्या हो भन्नेकुरामा आफ्ना धारणा राख्नुभयो ।

सहकारी क्षेत्रमा सहकारीको सिद्धान्त, मूल्य मान्यता र पद्धतिअनुसार सञ्चालन भएका सहकारीहरुमा समस्या छैन । सहकारीको ब्यानरमा, सहकारीको नाममा, सहकारीको कानूनबाट वचत र ऋण सहकारीको जुन सञ्चालन गर्नेगरी आउनु भयो । कानूनको कतिपय सन्दर्भमा उल्लंघन गरेर अनुगमन, नियमन नहुँदा त्यसको फाइदा उठाएर जे जसरी काम भएका छन्, त्यस सन्दर्भमा महत्वपूर्ण स्थिति अवगत गराउनु भयो ।

ओरियन्टल सहकारीदेखि पछि देखापरेका तमाम समस्यका सन्दर्भमा र अहिले हामीले छानबिन गरेका अनुसूचि १ र २ का जम्मा २९ सहकारी लगायतका बारेमा पनि उहाँहरुले चर्चा गर्नुभयो । उहाँहरुका सुझाव महत्वपूर्ण र फलदायी भएका छन् ।

बैठकबाट हामीले अनुसूचि २ मा रहेका ९ वटा सहकारी संस्थाहरुका सन्दर्भमा हामीले सम्बन्धित निकायहरुबाट कागजात माग गर्ने निर्णय गरेका छौं । ति सहकारीहरुको पछिल्लो साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदन, अन्य आवश्यक वित्तीय विवरणहरु र विभिन्न सहकारीमार्फत गोर्खा मिडिया नेटवर्कमा रकम प्रवाह भएको रकमको स्थिति समेत हामीले ६ वटा बुँदासहित ९ वटा सहकारीहरुको कागजात माग गर्ने निर्णय गरेका छौँ ।

गोर्खा मिडिया नेटवक प्रा.लि.मा विभिन्न सहकारीबाट प्रवाह भएको रकमका सन्दर्भमा हाम्रो चासो केन्द्रित भएको छ । हामीलाई टिओआरमा कार्यादेशमा पनि त्यही कुरा उल्लेख छ । हामी त्यसमा अगाडि बढेका छौँ । यसअघिका छानबिन समिति, आयोगहरुका प्रतिवेदनहरु प्राप्त भएका छन् ।


क्लिकमान्डु