५९ जिल्लामा एमाले अधिवेशन सकियो, यी जिल्लामा बाँकी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अहिलेसम्म ५९ जिल्लाको अधिवेशन सकिएको छ ।
एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकाले अधिवेशन गर्न बाँकी जिल्लामा यही महिनाभित्र सक्न निर्देशन दिइएको छ ।
‘जेठभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएकाले धमाधम भइरहेको छ,’ उनले भने, ‘अधिवेशन गर्न बाँकी जिल्लाहरुको यही महिनाभित्र सकाउँछौँ ।’
उनका अनुसार अब १८ जिल्लाको अधिवेशन गर्न बाँकी छ । तीमध्ये सात जिल्लाको अधिवेशनको मिति तोकिएको र अन्य ११ जिल्लाको मिति तोक्न बाँकी छ ।
प्रचार विभाग प्रमुख गौतमका अनुसार प्यूठान, अर्घाखाँची, रुपन्देही, गुल्मी, नुवाकोट, काठमाडौँ र काभ्रे जिल्लाको अधिवेशन मिति तोकिएको छ ।
आजदेखि प्यूठान जिल्लाको अधिवेशन हुँदै छ । कोशी प्रदेशको इलाम, मोरङ, तेह्रथुम र मधेस प्रदेशको सिराहा, सप्तरी, धनुषाको मिति तोक्न बाँकी छ । गण्डकी प्रदेशको मनाङ, कर्णाली प्रदेशको डोल्पा तथा सुदूरपश्चिम प्रदेशको अछाम, बझाङ र डोटी जिल्लाको पनि अधिवेशनको मिति तोक्न बाँकी छ ।