विश्व दुध दिवस शनिबार



काठमाडौं । सरकारले यो वर्ष ‘दुध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ भन्ने नाराका साथ २४ औं विश्व दूध दिवस मनाउने तयारी गरेको छ ।

आगामी शनिबार राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल डेरी एसोसिएशन, नेपाल डेरी उद्योग संघ, केन्द्रिय दुग्ध सहकारी संघ, दुग्ध विकास संस्थान(डिडिसी), पशु सेवा विभागलगायतकाले संयुक्त रुपमा यो दिवस मनाउने तयारी गरेका हुन् ।

यसै क्रममा नेपाल डेरी एसोसिएशनले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरि झापाको मेचीनगरमा छुट्टै मूल कार्यक्रम गर्ने जनाएको छ ।

एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले दैनिक गुणस्तरीय दुध सेवनका लागि जनचेतना जगाउने र पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोगमा वृद्धि गर्न सातै प्रदेशमा सबै सरोकारवाला निकायले विभिन्न कार्यक्रम गरेर दूध दिवस मनाउन लागिएको जानकारी दिए ।

एसोसिएशनले दूध दिवसको पूर्वसन्ध्यामा विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । पशु सेवा बिभागका पशु विकास अधिकृत सिताराम वलीले नेपालमा उत्पादन रहेको दूध गुणस्तरीय रहेको बताए ।

डेरी एशोसिएनका पूर्व अध्यक्ष सुमित केडियाले आगमी आर्थिक वर्षको बजेटमार्फत पनि सरकारले डेरी क्षेत्रको समस्या समाधान नगरेको जानकारी दिए । केडियाले सरकारले ठूलो आकारको बजेट ल्याएपनि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई भने ३ प्रतिशत पनि नछुट्याएको बताए ।


क्लिकमान्डु