कैलाश सिरोहिया हिरासतबाट छुटे



काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हाजीर जमानीमा रिहा भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई मंगलबार थप उपचारका लागि भन्दै ललितपुरको मेडिसिटीमा ल्याइएको थियो ।

धनुषा जिल्ला अदालतको अनुमति लिएर प्रहरीले ९ दिन म्याद थपेर सिरोहियामाथि अनुसन्धान गरिरहेको छ । सिरोहियालाई अनुसन्धान गर्न हिरासतमा राखिरहनु नपर्ने भन्दै जिल्ला अदालतले प्रहरीलाई पत्र पठाएपछि सिरोहियालाई हाजिरीमा रिहा गरिएको हो ।

सिरोहियालाई गत साता काठमाडौंको थापाथलीस्थित कान्तिपुरको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकता कीर्ते प्रकरणमा अनुसन्धान गर्न धनुषा लिएर गएको थियो । धनुषा गएको केही दिनमा सिरोहिया अस्वस्थ भएर काभ्या अस्पताल भर्ना गरिएका थिए । अस्पतालबाट उनलाई सिधै जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।

कान्तिपुरले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएकाले उनीमाथि छानबिन हुनुपर्ने भन्दै समाचार लेख्दा गृहमन्त्री लामिछानेले प्रतिशोध साँधेको दाबी गर्दै आएको छ ।


क्लिकमान्डु