यस्ता छन् बजेटको मुख्य १८ हाइलाइट्स



काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । दोस्रो पटक अर्थमन्त्री भएका पुनले पहिलो बजेट संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका हुन् । पुनले प्रस्तुत गरेको बजेटका यस्ता छन् मुख्य हाइलाइट्स-

१) पोडवे यातायातको सम्भाव्यता

सरकारले पहिलोपटक बजेट मा नै कार्यक्रम राखेर सार्वजनिक यातायातका रुपमा पोडवेको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट-भच्चेक–बारपाक–बुङकोट–गोरखाबजार–मनकामना–बेनीघाटसम्म पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाउने घोषणा गरेको हो। नेपालको लागि पोडवे यातायात प्रविधि नौलो हो ।

२) ईभीमा कर

सरकारले विद्युतीय सवारीसाधन (ईभी) मा कर बढाएको छ । कुनैमा अन्तशुल्क र कुनैमा भन्सार बढाउदै समग्रमा १० प्रतिशत कर बढाएको छ । ईभीमा कर बढाउने विषयमा समाजिक सञ्जालमा ठूलो बहस थियो ।

५० किलोवाटसम्मको ईभीमा सरकारले भन्सार दर १० प्रतिशतमा ५ प्रतिशत थपेर १५ प्रतिशत पुर्‍याएको छ। अन्तशुल्क छुट थियो । ५ प्रतिशले बढाइएको छ । समग्रमा १० प्रतिशत कर बढाइएको छ । ५१ देखपि १०० किलोवाटमा ५/५ प्रतिशत प्रतिशत भन्सार र अन्तशुल्क बढाएको छ । यसअघि १५ प्रतिशत भन्सार र १० प्रतिशत अन्त शुल्क थियो ।

१०१ देखि २०० किलोवाटसम्म ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तशुल्क पुर्‍याएको छ । यस अघि भन्सार २० प्रतिशत र अन्तशुल्क २० प्रतिशत थियो । २०१ देखि ३०० किलोवाटको २० प्रतिशत भन्सार बढाएको छ ।१० प्रतिशत अन्त शुल्क घटेको छ।

३०० भन्दा बढीमा २० प्रतिशत भन्सार बढेको छ । १० प्रतिशत अन्त शुल्क घटेको छ । समग्रमा १० प्रतिशत कर बढेको छ ।

३) सूचना प्रविधिलाई प्राथमिकता

बजेटले सूचना प्रविधिक दशक घोषणा गरेको छ । आगामी १० वर्षमा सूचना प्रविधि क्षेत्रबाट ३० खर्ब रुपैयाँको निर्यात गर्ने महत्वाकाँक्षी लक्ष्य अघि सारिएको छ । यो योजना अन्तर्गत ५ वर्षमा १० लाख १० वर्षमा ५ लाख प्रत्यक्ष र १० अप्रत्यक्ष रोजगारीको लक्ष्य लिएको छ ।

४) १६ लाख पर्यटक ल्याउने योजना

सरकारले आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ । हाल १० लाख हाराहारीमापर्यटक आइरहेका छन् । ६ लाखले बढाएका १६ लाख वार्षिक पूर्‍याउन महत्वाकांक्षी लक्ष्य लिएको छ ।

५) ९०० मेगावाट उत्पादन गर्नेदेखि बुढीगण्डकी निर्माण सुरु गर्नेसम्म

सरकारले आगामी वर्ष ९०० मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएको छ । ९०० मेगावाट बिजुली उत्पादन गरेर मुलुकको जडित क्षमता ४५०० मेगावाट पूर्‍याउने लक्ष्य छ । १२०० मेगावाटको बुढीगण्डकी, १०६१ मेगावाटको माथिल्लो अरुण,१०६ मेगावाटको जगदुल्लालगायतका आयोनाहरु निर्माण थाल्ने लक्ष्य छ। अहिले ३०६० मेगावाट जडित क्षमता पूर्‍याएको छ । ४५० किलोवाट प्रतिव्यक्ति खपत पूर्‍याउने लक्ष्य लिएको छ ।

६) फ्लाइओभर र सुरुङमार्ग र कोटेश्वरमा इन्टरसेक्सनका ५ अर्ब ६३ करोड

फ्लाइओभर,इन्टर सेक्सन र सुरुङमार्ग निर्माणका५ अर्ब ६३ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै नागढुँगा- नौविसे सुरुङमार्ग निर्माण सम्पन्न गरेर यातायात सञ्चालन गर्ने घोषणा गरे । सिद्धबाबा सुरुङमार्ग मुख्य सुरुङ निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

ग्वार्को चोकमा फ्लाईओभर निर्माण गरेर यातायात सञ्चालन हुनेछ । यो निर्माणाधीन छ । कोटेरश्वरमा इन्टरेक्सन निर्माण थाल्ने योजना छ । जापान सरकारको सहयोगमा इन्टरसेक्सन निर्माण गर्न लागिएको हो ।

रेलमार्ग विकास लागि ३ अर्ब ८८ करोड रुपैयाँ विनियोजन भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ विनियोजन भएको छ ।

७) सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब

सरकारले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । सरकारले ६८ वर्ष नाघेका नागरिकहरुलाई मासिक ४ हजार रुपैयाँका दरले समाजिक सुरक्षा भत्ता दिदै आएको छ । सरकारले समाजिक सुरक्षा भत्ता व्यवस्थित बनाउने लक्ष्य राखेको छ ।

८) आलु प्याजमा लागेको भ्याट खारेज

सरकारले आलु प्याजमा लागेको भ्याट खारेज गरेको छ । स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्ने भन्दै सरकारले भ्याट खारेज गरेको हो ।

९) गाँजा खेतीलाई वैधानिकता दिने

सरकारले गाँजा खेतीलाई वैधानिकता दिदै औषधीय प्रयोजनका लागि खुला गर्ने तयारी गरेको छ । आगामी बजेटमार्फत कानुनी वैधता दिएर खुला गर्ने घोषणा गरिएको छ । केहि वर्षदेखि गाँजा खुला गर्ने विषयमा सार्वजनिक बहसहरु हुने गरेका छन् ।

१०) बाह्य तथा आन्तरिक विमानस्थलमा सीत भण्डार

तेस्रो मुलुकबाट आयात हुनेतरकारी फलफुल पुष्प मासु,दुग्धजन्य पदार्थलगायतको तापक्रम व्यवस्थापन गर्ने बाह्य तथा आन्तरिक विमानस्थलमा सीत भण्डारण व्यवस्था गर्न लागिएको हो ।

११) पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड

सरकारले पूर्व पश्चिम राजमार्ग विस्तारका लागि २९ अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको बजेट प्रस्तुत गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवल- नारायणगढ र कमला-कन्चपुर ४ लेनमा विस्तार कार्य आगामीवर्ष पुरा गर्ने सरकारको लक्ष्य बताए । काकडभिट्टा लौकही, बुटवल गोरसिंगे विस्तारको काम सुरु हुने छ ।

१२) सहकारी नियामक स्थापना

कानूनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्‍चालन हुने व्यवस्था गर्न लागिएको छ। बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गर्ने योजना छ । बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन सहजीकरण गर्ने सरकारको नीति छ ।

बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्‍चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा र५ लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था मिलाइने बजेटमा उल्लेख छ ।

१३) मदिरामा कर बढ्यो

सरकारले मदिरामा कर बढाएको छ । आर्थिक ऐनअनुसार ४८.५ प्रतिशत अल्कोहल भएको ह्विस्की, भोड्का, जिन तथा रकममा ६० रुपैयाँसम्म कर बढेको हो । अर्थमन्त्री वर्षमान पुनले ४८.५ प्रतिशत अल्कोहल भएको मदिरामा प्रतिलिटर १८६० रुपैयाँ अन्तःशुल्क लगाएका हुन् जुन साबिकको दर १८०० भन्दा ६० रुपैयाँ बढी हो ।

आर्थिक ऐनअनुसार ४२.८ प्रतिशत अल्कोहल भएको मदिरामा ४५ रुपैयाँ बढेर १३९० रुपैयाँ, ३९.९४ प्रतिशत अल्कोहल भएकामा ४० रुपैयाँ बढेर १२९०, ३४.२३ प्रतिशत अल्कोहल भएकामा २० रुपैयाँ बढेर ६५०, २८.५३ प्रतिशत भएकामा ५ रुपैयाँ बढेर ४९० र १७.१२ प्रतिशत भएकामा १० रुपैयाँ बढेर ६० रुपैयाँ कायम भएको छ ।यता बियरमा प्रतिलिटर ५ रुपैयाँ अन्तशुल्क बढेको छ ।यसैगरी १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा प्रतिलिटर १६ रुपैयाँ बढेर अन्तःशुल्क दर ४६० र त्योभन्दा बढीमा १९ रुपैयाँ बढेर ५१६ रुपैयाँ कायम भएको छ ।

१४) प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमलाई १० करोड बजेट

सरकारले आगामी वर्ष प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने भएको छ । यो कार्यक्रलाई १० करोड रुपैयाँको बजेट विनियोजन भएको छ । सरकारले अगामी वर्षलाई महिला लगानी वर्ष घोषणा गरेको छ भने राष्ट्रिय युवा महिला सम्मेलन आयोजना समेत गर्ने भएको छ ।

१५) आर्थिक वृद्धि ६ प्रतिशत, मुल्यवृद्धि ५.५ प्रतिशत

सरकारले आगामी वर्ष ६ प्रतिशत आर्थिक वृद्धिको महत्वाकांक्षी लक्ष्य राखेको छ । मुल्यवृद्धि ५.५ प्रतिशतमा कायम राख्ने लक्ष्य छ ।

१६) नेपालको इतिहासमै पहिलो पटक हरित कर

सरकारले कोइला, पेट्रोलियम पदार्थ पत्थर कोइलालगायतमा हरित कर लगाएको छ । यो कर भन्सार विन्दुमै लगाइएको छ ।

अर्थमन्त्री बर्षमान पुनले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक बर्षको बजेटमार्फत कोइलातर्फ चूर्ण पारिएको वा नपारिएको तर असंगठित कोइला शीर्षक अन्तर्गत आन्थ्रसाइट, विटुमिनयुक्त कोइला, अन्य कोइला र कोइलाबाट तयार भएको ब्रिकेट, अण्डाकारका वस्तु र त्यस्तै प्रकारको ठोस इन्धनहरुको आयातमा प्रतिकिलो ५० पैसा हरित कर लाग्ने व्यवस्था गरेको छ। यस्तै पत्थर कोइला, लिग्नाइट वा पिटको संगठित वा असंगठित कोक र अर्ध कोक, रिटोर्ट कार्वनमा पनि प्रतिकिलो ५० पैसा हरित कर लाग्ने व्यवस्था गरिएको छ ।

सरकारले पेट्रोलियम तेल र बिटुमिनयुक्त खनिजतर्फ पेट्रोल(मोटर स्पिरिट), हाई स्पीड डिजेल, हेक्जेन(फूड ग्रेड), अन्य, लुव्रिकेटिङ आयल, पोलिक्लोरिननेटेड बाइफेनल, पीसीबीएस, पोलिक्लोरिनेटेड टरफेनल, पोलिब्रोमिनेटेडलगायतमा कूल मूल्यको १ प्रतिशत हरित कर लाग्ने व्यवस्था गरिएको छ ।

त्यस्तै स्पाइण्डल तेल, ट्रान्सफर्मर आयल, मिनरल टर्पेन्टाइन आयल, रबरकको प्रशोधनमा प्रयोग हुने तेल, लिक्विड प्याराफिन आयल, ह्वाइट आयल, अभस्मित र भस्मितमा कूल मूल्यमा ०.५ प्रतिशत हरित कर लगाउने सरकारले आगामी आर्थिक बर्षको बजेटमार्फत व्यवस्था गरेको छ ।

१७) निजगढदेखि ढल्केवरसम्मको करिडोरलाई नेपाली गलैचा करिडोरको रुपमा विकास

सरकारले अगामी आर्थिक वर्षदेखि सार्वजनिक निकायले नेपालमै बनेको गलैचा खरिद गर्नुपर्ने व्यवस्था मिलाउने भएको छ ।सरकारले निजगढदेखि ढल्केवरसम्मको करिडोरलाई नेपाली गलैचा करिडोरको रुपमा विकास गर्ने भएको छ ।

प्रदेश तथा स्थानीयको सहकार्यमा सल्यान जुल्लाको हिमादेखि तिला नदी आसपालसलाई मार्सी करिडोर बनाउने घोषणा पनि अर्थमन्त्री वर्षमान पुनले बजेटमा गरेका छन् ।

१८) लगानी दशक घोषणा

सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ । कृषिमा लगानी दशक घोषणा गरेको भए पनि सो अनुसारको बजेट भने बढाउन सकेको छैन । बजेट घटाएर गरेको लगानी दशकको प्रभावकारिता कस्तो हुन्छ भन्ने प्रश्न पनि उब्जिएको छ । यस्तो कार्यक्रमका लागि विरुवा उत्पादन र फलफूल खेतीदेखि वन्यजन्तु पालनसम्म नयाँ कार्यक्रम अगाडि सारेको छ ।


क्लिकमान्डु