रघुवीर महासेठ र डीपी अर्यालमध्ये को धनी ?

अर्यालसँग २ करोड १८ लाख र महासेठसँग २ करोड २५ लाख रुपैयाँ नगद



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मंगलबार प्रधानमन्त्रीसहित सबै मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएको छ । जसमध्ये सबैभन्दा धेरै सम्पत्ति हुनेमा उपप्रधानमन्त्री समेत रहेका भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ र श्रम मन्त्री डीपी अर्याल देखिएका छन् ।

श्रम मन्त्री अर्यालको सम्पत्ति विवरणअनुसार उनको ३ करोड रुपैयाँ बराबरको काठमाडौं महानगर १६ मा २८७.१४ वर्ग मिटरमा बनेको घर रहेको छ । यस्तै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको जनकपुर र काठमाडौंमा घर छन् ।

सुनचाँदी

डीपी अर्यालको १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । यसको खरिद मूल्य ८८ लाख ३४ हजार ५ सय रहेको र यसको स्रोत व्यापार रहेको उल्लेख गरिएको छ । यस्तै रघुवीर महासेठसँग ४३ तोला सुन र १.५० केजी चाँदी रहेको छ।

जमिन

मन्त्री अर्यालको विभिन्न १२ स्थानमा जग्गा जमिन रहेको पाइएको छ । अर्यालकी श्रीमति अम्बिका केसीको नाममा काठमाडौं र धादिङमा गरी ६ स्थानमा र अर्यालको नाममा लमजुङ र भक्तपुरमा गरी ६ स्थानमा जग्गा रहेको छ । ५ करोड २८ लाखमा उक्त जमिन खरिद गरेको विवरणमा उल्लेख छ । सम्पत्ति प्राप्तिको स्रोत निजी कमाइ र व्यापार भएको विवरणमा उल्लेख गरिएको छ ।

यस्तै मन्त्री रघुवीर महासेठको अचल सम्पत्तिको रुपमा १० विगाहाभन्दा बढी जमिन देखिएको छ । महासेठले २०५५ सालमा खरिद गरेको जनकपुरको घर जुलिकुमारी महतोको नाममा रहेको छ । महतोकै नाममा ललितपुरमा २ रोपनी १३ अना जमिन २०५६ सालमा खरिद गरर बनाएको साढे २ तले अर्को घर पनि सम्पत्तिको रुपमा देखाइएको छ । जुलीको नाममा धनुषमा ७ बिघा ३ कठ्ठा, सिन्धुलीमा ४ कठ्ठा, ललितपुरमा १ रोपनी ७ आना, धनुषामै ३ कठ्ठा जग्गा रहेको छ । महासेठको नाममा भने १ बिघा १५ कठ्ठा जग्गा पनि छ ।

नगद रुपैयाँ
मन्त्री अर्यालको ग्लोबल आईएमई, हिमालयन, प्राइम, राष्ट्रिय वाणिज्य, मेगा बैंक र जनसागर सहकारीमा गरी २ करोड १८ लाख रुपैयाँ बचत रहेको देखिएको छ । यस्तै मन्त्री महासेठको माछापुच्छ्रे, सानिमा, एभरेस्ट, नबिल बैंक लगायत बैंक तथा वित्तीय संस्थामा २ करोड २५ लाख रुपैयाँ नगद बचत रहेको छ ।

सेयर
विभिन्न ६ वटा कम्पनीहरुमा मन्त्री डीपी अर्यालको ६७ हजार कित्ता बराबरको ६७ लाख मूल्य बराबरको सेयर रहेको छ । मेगा बैंकमा १० हजार, विग इन्भेस्टमेन्टमा ३५ हजार, पिपुल इन्भेस्टमेन्टमा ९ हजार, जनसागर सहकारीमा १० हजार, सुवर्णभूमि सहकारीमा १ हजार र संयम सहकारीमा २ हजार गरी कुल ६७ लाख मूल्यको ६७ हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसको स्रोत पनि व्यापार नै उल्लेख छ ।

यसैगरी मन्त्री महासेठको सेयर लगानीको रुपमा ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर छ । उनकी श्रीमती जुलीकुमारी महतोको नाममा विभिन्न बैंकमा ३ करोड ५५ लाख रुपैयाँ सेयर रहेको पनि सम्पत्ति विवरणमा उल्लेख छ ।

यसवाहेक मन्त्री अर्यालले मुख्य आम्दानीको स्रोतको रुपमा व्यापार देखाएका छन् । साथै अन्य आम्दानीको रुपमा पनि व्यापारलाई देखाएका छन् । जसमध्ये ब्यांक्वेट, ट्राभल, रेमिट र ह्यान्डीक्राफ्टका गरी चार कम्पनी उनले सार्वजनिक गरेका छन् । महासेठले भने अधिकांश सम्पत्तिको स्रोतको रुपमा पैतृक, जग्गा विक्री र श्रीमतिको माइतीलाई देखाएका छन् ।

सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्रीसहित अन्य मन्त्रीहरुको तुलनामा उपप्रधानमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी देखिएका छन् । उनीपछि श्रम मन्त्री अर्याल छन् ।


क्लिकमान्डु