‘सरकारको खेलाँचीले इन्टरनेट काटियो, तत्काल ४ अर्ब नतिरेसम्म इन्टरनेट नखुल्ने’




काठमाडौं । सरकारको खेलाँचीले इन्टरनेट काटिएको इन्टरनेट सेवाप्रदायकहरुको संस्था नेपाल (आइस्पान)ले बताएको छ । सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा र २ पटक पत्रकार सम्मेलन गरेर जानकारी गराउँदासमेत सरकारले नसुनेका कारण इन्टरनेट काटिएको आइस्पानले बताएकाे छ ।

सरकारले नेपालमा इन्टरनेटको ब्याण्डविथ आयात गर्न विदेशी मुद्रा सटहीको सिफारिश नगरेका कारण इन्टरनेट काटिएको र अब तत्काल करिब ४ अर्ब रुपैयाँ भुक्तानी नगरेसम्म नखुल्ने आइस्पानका अध्यक्ष सुधीर पराजुलीले क्लिकमाण्डुँग बताए ।

पराजुलीले भने ‘यही वैशाख १२ गते नेपालमा व्याण्डविथ उपलब्ध गराउने भारतीय कम्पनी एयरटेलले ३० मिलियन डलर (करिब ४ अर्ब रुपैयाँ) भुक्तानी गर्न बाँकी रहेकोले उक्त पैसा नतिरेका कारण जतिबेला पनि इन्टरनेट काटिने पत्र पठाएको थियो ।’ उनले भने उक्त पत्र पठाएको भोलिपल्टै आइस्पानले पत्रकार सम्मेलन गरेर भुक्तानी रोकिएका कारण जतिबेला पनि इन्टरनेट काटिन सक्ने भनेको थियो ।

पराजुलीले भने ‘सेवाप्रदायकले समस्या देखाउँदा र भारतीय कम्पनीले इन्टरनेट काटिन सक्ने चेतावनी पटक पटक दिँदासमेत सरकारले वेवस्था गरेर बस्यो । अहिले सरकारकै खेलाँचीका कारण इन्टरनेट काटियो । अब जबससम्म सरकारले हामीले व्यण्डविथ खरिद गर्न भुक्तानी गर्नुपर्ने पैसाको सहमति दिँदैन तबसम्म इन्टरनेट चल्दैन,’ पराजुलीले भने ।

नेपालमा एयरटेबाट ८० प्रतिशत र टाटाबाट २० प्रतिशत इन्टरनेट आउँछ । आज एयरटेलबाट आएको इन्टरनेट काटिएको छ । मुख्य आधार एयरटेलकै भएका कारण २० प्रतिशतले अहिलेको बजारलाई नधानेका कारण सबैजसो प्रमुख सेवाप्रदायकको इन्टरनेट डाउन भएको छ ।

एयरटेलको इन्टरनेट काटिएको कारण भोलिबाट टाटाको पनि काटिन सक्छ । टाटालाई पनि इन्टरनेट सेवाप्रदायकले करिब एक अर्ब रुपैयाँ तिर्न बाँकी छ । यी दुबै इन्टरनेटलाई नेपालका सेवाप्रदायकले करिब एक वर्षको पैसा तिर्न बाँकी छ । पछिल्लो ९ महिनाको पैसा सरकारले अनुमति नदिँदा रोकिएको छ भने बाँकी ३ महिना प्रकृया मिलाउँदैमा गएको पनि पराजुलीले बताए ।

नेपालमा हाल दैनिक १.५ टेराबिट प्रति सेकेण्ड इन्टरनेट खपत हुन्छ । नेपालका प्रमुख सेवाप्रदायक सुविसु, भायनेट, डिसहोम, वल्र्ड लिंकसहितको सेवा काटिएको छ ।

अत्यावश्यक सेवाभित्रको इन्टरनेट काटिएपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिरकरले सरकार, निजी क्षेत्र र भारतीय सेवाप्रदायकसँग छलफल थालेको नेपाल दूरसञ्चा प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले बताए । उनका अनुसार सरकारसँगको समन्वयमा सेवाप्रदायकसँग छलफल भएकोले आजै केही निर्णय आउने र इन्टरनेट खुलाउने प्रयास हुने भएको छ ।


क्लिकमान्डु