चौधरीको बीएलसीसँग डाटा सेन्टर स्थापनाका लागि लगानी सम्झौता गरेको हिरानन्दनी ग्रुप कस्तो ?



काठमाडौं । नेपालमा अत्याधुनिक डाटा सेन्टर स्थापना गर्न बसन्त चौधरीको बीएलसी होल्डिंग्स र भारतीय कम्पनी हिरानन्दानीबीच सम्झौता भएको छ ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनमा दुई कम्पनीबीच यस्तो सम्झौता भएको हो । लगानी सम्मेलनको क्रममा हिरानन्दानी ग्रुप अन्तर्गत योट्टा डाटा सर्भिस र चौधरी ग्रुप अन्तर्गत बीएलसीका प्रतिनिधिले संयुक्त रुपमा समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

बिएलसी ग्रुपका प्रबन्ध निर्देशक मेघा चौधरी र योट्टाका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ताले हस्ताक्षर गरेका छन् ।

नेपालमा डाटा सेन्टर स्थापनाका लागि भएको यो सम्झौता बौद्धिक सम्पत्तिमाथि लगानी भएको हालसम्मकै सबैभन्दा ठूलो र सम्भवतः पहिलो लगानी पनि हो । डाटा सेन्टर स्थापनाका लागि तीन अर्ब बढी लगानी हुने बताइएको छ ।

नेपालमा विदेशी लगानीकर्ताहरू आकर्षित नभएको भन्दै गुनासो भइरहँदा भारतीय प्रतिष्ठित कम्पनी हिरानन्दनी ग्रुप लगानीका लागि आकर्षित भएको हो ।

बसन्त चौधरी नेपालका प्रतिष्ठित व्यवसायी हुन् । उनले स्थापना गरेकाे नर्भिक अस्पताल प्रख्यात छ ।

कस्तो हो हिरानन्दनी ग्रुप ?

भारतको मुम्बइमा १९७८ मा निरन्जन हिरानन्दनी र सुरेन्द्र हिरानन्दनीले यो समूह स्थापना गरेका थिए । हाल मुम्बइ, बैंग्लुरू, चेन्नाइ, हैदराबाद लगायतका स्थानमा यस कम्पनीले थुप्रै योजनामा काम गरिरहेको छ । रियल इस्टेटको क्षेत्रमा ४० वर्ष पुरानो अनुभव भएको यो कम्पनी भारतकै विशाल रियल इस्टेट कम्पनीको रूपमा उदाएको छ ।

जसले फरक शैलीमा भवन निर्माण तथा डिजाइन गर्नुका साथै नयाँ सहर स्थापना समेत गरेको छ । वातावरमैत्री बस्ती तथा योजनाका लागि भवन निर्माण गर्दै सहरीकरणको नयाँ अवधारणका लागि यो कम्पनी चिनिएको छ । यस समूहले स्वास्थ्य, शिक्षा, उर्जा तथा हस्पिटालिटीको क्षेत्रमा विविधता ल्याइदिएको पनि भनिन्छ ।

जुलाइ २०२० मा यस समूहले मुम्बइमा सहायक कम्पनी योट्टा एनएम नामको एक सहायक कम्पनी सावर्वजनिक गरेको थियो । जुन विश्वकै दोस्रो ठूलो डेटा सेन्टरको रुपमा चिनिन्छ ।

त्यही योट्टासँग नेपालको चौधरी ग्रुपको बीएलसी होल्डिंग्सले डेटा सेन्टर स्थापनाका लागि आइतबार सम्झौता गरेको हो । हिरानन्दनी ग्रुपले प्रत्येक परिवारलाई एक विशाल र समावेशी समुदायमा एकीकृत गर्नु आफ्नो लक्ष्य रहेको बताउने गरेको छ ।

एक वर्षअघि मात्रै हिरानन्दनीका मालिक दर्शन हिरानन्दनीलाई जोडेर राजनीतिक वृत्तमा विवाद र आलोचना भएको थियो । जतिबेला त्रिणमूल कंग्रेसकी लोकसभा सांसद मौवा मोइत्राले भारतीय अर्को कम्पनी अदानी ग्रुपमाथि संसदमा गम्भीर प्रश्नहरु सोधेकी थिइन् । तर मोइत्रालाई पैसा तिरेर अदानीमाथि हिरानन्दनीका मालिक दर्शन हिरानन्दनीले प्रश्न सोध्न लगाएको उनीमाथि पनि प्रश्न उठेको थियो । जवकि मोइत्राले अदानीलाई सोधेका ३९ प्रश्नमध्ये कतिपय प्रश्न हिरानन्दनीसँग पनि सम्बन्धित भएको कानुन व्यवसायीको दावी थियो ।


क्लिकमान्डु