‘२ मिनेट ४४ सेकेण्डमा पाइन्छ श्रम स्वीकृति’



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले श्रम स्वीकृति २ मिनेट ४४ सेकेण्डमा दिइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री अर्यालले वैदेशिक रोजगारीमा जान चाहानेहरुका लागि २ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृति दिइरहेको बताएका हुन् ।

उनले बैठकमा म स्वीकृति प्रदान गर्ने कार्य १ घण्टाभित्र हुने गरेको बताएपछि सांसदहरुले एकघण्टामा दिदाँ प्रक्रिया नपुर्‍याइ दिइने गरेको हो कि भनि प्रश्न उठाएका थिए ।

सांसदहरुले एक घण्टामा श्रम स्वीकृति दिन निकै कम समय भएको भन्दै आवश्यक कागजातहरु अध्ययन गरेर समय लगाएर दिँदा भविष्यमा श्रमिकहरुले दुःख नपाउने धारणा राखेका थिए । त्यसपछि बोल्दै मन्त्री अर्यालले श्रम स्वीकृति दिने अधिकारीले कागजात पुगे, नपुगेको मात्रै हेरेर स्वीकृत दिने व्यवस्था रहेको भन्दै एक घण्टा पनि नलाग्ने जिकिर गरे ।

एकघण्टा अधिकतम समय राखिएको भन्दै श्रम स्वीकृति भने २ मिनेछ ४४ सेकेण्डमै दिने गरिएको उनले बताए । सातै प्रदेशबाट श्रम स्वीकृति दिइरहिएको अर्यालले बताए ।

श्रममन्त्री अर्यालले यसो भने

मन्त्री अर्यालले वैदेशिक रोजगारीमा फ्रि भिसा, फ्रि टिकटको कुरा गरिने भएपनि ९६ प्रतिशत श्रमिकले पैसा तिरेर विदेशिने गरेको बताए ।

हामीले कर्मचारीतन्त्रलाई विश्वास गर्न सकेनौँ भने देश समृद्ध हुँदैन भन्ने मेरो निचोड हो । त्यसकारणले राजनीतिक नेताहरुले देश बनाउने होइन भन्ने पनि मेरो निचोड हो । नेतृत्वमा जाने, नीति बनाउन सहयोग गर्ने, हामी सांसदहरुले नीतिमा काम गर्ने हो । तर कर्मचारीतन्त्रले नै इमान्दारितापूर्वक यो देशलाई सेवा गर्नुभएको छ र उहाँहरुले इमान्दारितापूर्वक सेवा गरेको कुरालाई नेतृत्वले विश्वास गर्न सकेन भने मेरो बुझाइ हो ।

राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रविचको द्वन्द्वले गर्दाखेरी मार देश र जनतालाई प¥यो । हामीले विश्वास गरेर काम गर्नुपर्छ । उहाँहरुलाई हामीले प्रोत्साहित गर्नुपर्छ । यो कार्यान्वयका प्रति मलाई विश्वास छ ।

म विश्वास गर्न चाहन्छु, कार्यान्वयन हुन्छ भनेर । श्रम स्वीकृति एकघण्टामा हुँदाखेरी कतै मान्छे एकदम धेरै गएर झन उता गएर दुर्घटना हुने हो कि भन्ने कुराहरु यहाँहरुले राख्नुभयो । सबै प्रक्रियाहरु उहाँहरुले छुट्टै गर्नुहुन्छ बाहिरै । मेडिकल सहि छ कि गलत छ, श्रम स्वीकृति दिने मान्छेले चेक गर्ने अधिकार पनि छैन र त्यो क्षमतापनि हुँदैन । मेडिकल व्यवसायीले, अस्पतालले यो मान्छे निरोगी छ भनेर पठाए पछाडी हामीले मेडिकल गरेको छ कि छैन हेर्नु बाहेक श्रम स्वीकृति दिने ठाउँबाट अन्य अधिकार छैन ।

आवश्यक कागजपत्र पुगेको छ कि छैन भनेर हेर्ने भन्दा बाहेक श्रम स्वीकृति दिने अधिकारीसँग अरु अधिकार छैन । स्वास्थ्य व्यवसायीले सही काम गरेको छ कि छैन अनुगमन गर्ने कुरा, मेनपावर व्यवसायीले सही काम गरेका छन् कि छैनन् अनुगमन गर्ने कुरा, अभिमुखिकरण तालिम दिनेहरुले सही काम गरेको छन् कि छैनन् अनुगमन गर्ने कुरा त्यो हामी गर्न सक्छौँ । तर श्रम स्वीकृति भनेको सम्पूर्ण डकुमेन्ट पुरा छ र ओरिजिनल छ । डुप्लीकेट छैन । त्यसकारण यो मान्छेलाई श्रम स्वीकृति दिन उचित छ । भनेर त्यहाँबाट दिने भएको कारणले यसलाई छिटो र छरितो गरेको हो ।

सातै प्रदेशबाट श्रम स्वीकृति दिइराखेका छौँ । खासै भन्नुपर्दा एक घण्टा पनि होइन । २ मिनेट ४४ सेकेण्डमा दिइराखेका छौँ हामीले । उहाँहरुलाई एकघण्टा समय दिएर नबिग्रियोस् भनेर हो । २ मिनेट ४४ सेकेण्डमै भइराखेको छ ।


क्लिकमान्डु