जर्मनीसँग नेपालको वैदेशिक व्यापार: १२ वर्षदेखि निरन्तर घाटामा



काठमाडौं । सन् १९५८ मा कुटनीतिक सम्बन्ध कायम भएको जर्मनीसँग नेपालको वैदेशिक व्यापार विगत १२ वर्षदेखि निरन्तर घाटामा रहेको पाइएको छ ।

भन्सार विभागको तथ्यांक हेर्दा १२ वर्ष अघिसम्म नेपालले वैदेशिक व्यापारबाट नाफा कमाउँदै आएको जर्मनीसँग पछिल्लो समयमा अर्बौं रुपैयाँको घाटा व्यहोर्दै आएको देखाउँछ ।

भारत र अमेरिकापछि नेपालबाट सबैभन्दा बढी वस्तु तथा सेवा आयात गर्ने देशमा जर्मनी रहेको छ । चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालबाट निर्यात हुने देशमध्ये जर्मनी तेस्रो स्थानमा छ ।

नेपालले सो अवधिमा १ खर्ब १३ अर्ब रुपैयाँको वस्तु तथा सेवा निर्यात गर्दा जर्मनीमा ३ अर्ब ३५ करोड ३९ लाख रुपैयाँको निकासी भएको छ ।

तथ्यांकमा भारतले ७७ अर्ब ८५ करोड ५२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेर पहिलो स्थानमा छ भने १२ अर्ब ५० करोड २६ लाख रुपैयाँको वस्तु तथा सेवा पैठरी गरी दोस्रो स्थानमा छ ।

नेपालको निर्यातमा ठूलो हिस्सा ओगट्दै आएको जर्मनीसँग पछिल्लो समय निकासी घट्दै गएको पाइएको छ भने आयात बढ्दो क्रममा छ । चालु आवको ९ महिनाको अवधिमा नेपालले जर्मनीबाट ५ अर्ब ६३ करोड १२ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा ३ अर्ब २५ करोड ३९ लाख रुपैयाँको निर्यात गरेको छ। जसमा नेपालले २ अर्ब ३७ करोड ७२ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको छ ।

नेपालले आव २०६४/६५ देखि हालसम्ममा १ खर्ब ३८ अर्ब १४ करोड १७ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको पाइएको छ । जसमा नेपालले ५२ अर्ब ८० करोड ८३ लाख रुपैयाँको वस्तु तथा सेवा निरयात गरेको थियो । साथै नेपालले उक्त अवधिमा ८५ अर्ब ३३ करोड ३४ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ । नेपालले जर्मनीसँगको वैदेशिक व्यापारमा ३२ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको पाइएको छ ।

आर्थिक वर्ष २०६५/६६ देखि हालसम्मको तथ्यांक हेर्दा नेपालले पछिल्लो १२ वर्षमा उच्च व्यापारघाटा व्यहोर्दै आएको छ । नेपालले आव २०६४/६५ मा १ अर्ब ९ करोड ८३ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । जसमा नेपालले ३ अर्ब ४३ करोड ३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गर्दा २ अर्ब ३३ करोड २० लाख रुपैयाँको निर्यात गरेको थियो । त्यसयता भने आव २०६८/६९ सम्म नेपालले वैदेशिक व्यापारबाट नाफा कमाएको तथ्यांकले उल्लेख गर्दछ ।

नेपालले जर्मनीसँगको वैदेशिक व्यापारबाट आव २०६५/६६ मा ५४ करोड ६ लाख रुपैयाँ नाफा कमाएको थियो । त्यसैगरी आव २०६६/६७ मा ६ करोड ९२ लाख रुपैयाँ, आव २०६७/६८ मा ४३ करोड ८९ लाख रुपैयाँ र आव २०६८/६९ मा ३९ करोड ६६ लाख रुपैयाँ नाफा कमाएको थियो । तर त्यसयता भने नेपालले वार्षिक अर्बौ रुपैयाँको व्यापारघाटा व्यहोर्दै आएको छ ।

जर्मनीसँगको वैदेशिक व्यापारमा नेपालले आव २०६९/७० मा ४५ करोड ६४ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । त्यसैगरी आव २०७०/७१ मा २ अर्ब ८० करोड १० लाख रुपैयाँ, आव २०७१/७२ मा ६ अर्ब २७ करोड ४६ लाख रुपैयाँ, आव २०७२/७३ मा १ अर्ब १८ करोड ९९ लाख रुपैयाँ, आव २०७३/७४ मा १ अर्ब ३० करोड ३ लाख रुपैयाँ र आव २०७४/७५ मा ४ अर्ब ७३ करोड ३० लाख रुपैयाँ वैदेशिक व्यापारबाट नेपालले व्यापारघाटा व्यहोरेको छ ।

साथै नेपालले जर्मनीसँगको वैदेशिक व्यापारबाट आव २०७५/७६ मा ४ अर्ब ६ करोड २७ लाख रुपैयाँ, आव २०७६/७७ मा २ अर्ब ७१ करोड ३५ लाख रुपैयाँ, आव २०७७/७८ मा २ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ, आव २०७८/७९ मा २ अर्ब १६ करोड १६ लाख रुपैयाँ र आव २०७९/८० मा २ अर्ब ४० करोड १७ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।

के-के हुन्छ आयात तथा निर्यात ?

वार्षिक करिब १० अर्ब रुपैयाँको वैदेशिक व्यापार गर्दै आएको नेपालले जर्मनीमा विशेषगरी कार्पेट, पस्मिना, एसेन्सियल आयल, फेल्ट, नेपाली कागज, हस्तकला, जडीबुटी, तयारी पोशाक, टेक्स्टायल, टोपी, चिया, कटन ब्याग तथा स्याक र विद्युतीय ट्रान्स्फर्मर निर्यात गर्दै आएको छ ।

त्यसैगरी नेपालले जर्मनीबाट रेजर ब्लेड, विद्युतीय मेडिकल सामग्री, औषधी, तयारी खाना, वाइन तथा ह्वीस्की, मेसिनर, केमिकल कन्ट्रासेप्टिभ, सवारी साधन, गाइवस्तुको दाना र हवाइजहाज तथा हेलिकप्टरको पार्टपूर्जा आयात गर्दै आएको छ ।

नेपालले जर्मनीसँगको वैदेशिक व्यापारबाट नाफा कमाउन सक्ने ठूलो अवसर छ । तर नेपालमा निर्यातमूखी वस्तु तथा सेवाको उत्पादनको अवस्था कमजोर हुँदा व्यापारबाट नाफा कमार्उन नसकेको व्यापार तथा निकासी केन्द्रले जनाएको छ । केन्द्रकाअनुसार निर्यातमा भ्यालु चेन र निर्यात प्रोत्साहन गर्ने नीति कमजोर हुँदा निर्यात बढ्न सकेको छैन ।

साथै नेपाली वस्तु तथा सेवाले जर्मनको बजारअनुसार गुणस्तरको मापदण्डको निर्यात गर्न नसक्दा पछि परेको छ । जर्मनले सार्क देशहरुमा वैदेशिक व्यापार प्रोत्साहन गर्ने उद्देश्यसहित तालिमहरु दिँदै आएको छ ।

यस्तो छ व्यापार घाटाको अवस्था


क्लिकमान्डु