चैतसम्ममा लगानी प्रतिबद्धता १ खर्ब ६५ अर्ब मात्रै



काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ८.३३ प्रतिशतले लगानी प्रतिबद्धता घटेको छ । चालु आवको चैत मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा ८.३३ प्रतिशतले घटेको हो ।

गत आवको चैत मसान्तसम्ममा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले १ खर्ब ८० अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । चालु आवको सोही अवधिमा स्वदेशी तथा विदेशी लगानीकर्ताहरुले १ खर्ब ६५ अर्ब रुपैयाँमात्रै लगानी प्रतिबद्धता जनाएका हुन् । जसमा यो वर्ष १५ अर्ब रुपैयाँ कम लगानी प्रतिबद्धता जनाएका छन् ।

चैतसम्ममा स्वदेशी तथा विदेशी लगानीको २८६ नयाँ उद्योग दर्ता गरेका छन् । जसमा ठूलो लगानीका ३६ वटा, मझौला २७ वटा र २३३ वटा साना उद्योग दर्ता गरेका छन्। उक्त उद्योगबाट २० हजार १३७ जनाले रोजगारी पाउने जनाएको छ । उद्योग विभागले चालु आवको चैतसम्ममा ८० वटा ठूला, ८५ वटा मझौला र २०० वटा उद्योग दर्ता गर्ने लक्ष्य लिएको थियो ।

तर सो अवधिमा लक्ष्य लिएको आधा पनि पूरा हुन नसकेको विभागको तथ्याङ्क देखाउँछ । त्यस्तै चैतमा मात्रै स्वदेशी तथा विदेशी लगानीको २८ वटा नयाँ उद्योग दर्ता गरेका छन् । उक्त उद्योगहरुमा १० अर्ब ५९ करोड रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन्।

सोही उद्योगबाट १९ सय ८४ जनाले रोजगारी पाउने विभागले जनाएको छ । त्यसैगरी चैतसम्ममा ३० अर्ब १० करोड़ रूपैयाँको विदेशी लगानी प्रतिबद्धता जनाएका छन् ।

विभागले सो अवधिमा ३८ अर्ब रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आउने अपेक्षा गरेको थियो । साथै चैतसम्ममा २ वटा प्याटेन्ट, ७ वटा डिज़ाइन र ४ हज़ार २०९ वटा ट्रेडमार्क दर्ता गरेका छन् ।


क्लिकमान्डु