कार्यभार सम्हालेको डेढ महिनासम्म कार्यकर्ता भेटघाट र खादामालामै मख्ख पर्यटनमन्त्री



काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती मन्त्री भएको दिन एकाएक चर्चामा आएका थिए । नेकपा माओवादी केन्द्रका नेता किराँतीले मन्त्री नियुक्त भएको दिन खादा माला नलगाउने र आगन्तुकलाई त्यसवापतको पैसा दानपेटीमा खसाल्न आग्रह गर्दै व्यवस्था मिलाएका थिए ।

३ माघ २०७९ मा पर्यटनमन्त्री नियुक्त भएका किराँतीले खादा मालामा हुने खर्च जोगाएर जम्मा भएको ६ लाख ४३४ रुपैयाँ १ कात्तिक २०८० मा भोजपुरको सरस्वती माविलाई सहयोग गरे ।

उनले उक्त रकमलाई वर्षेनी एसईईमा उत्कृष्ट २ जना विद्यार्थीलाई थप अध्यनार्थ छात्रवृत्तिमा खर्चने व्यवस्था मिलाए । किराँतीले सुरु गरेको खादामालाको पैसा जोगाउने र जोगिएको पैसाको सदुपयोग गर्ने दुबै निर्णय सार्थक एवं प्रभावकारी भयो ।

किराँतीलाई हटाएर सोही मन्त्रालको जिम्मेवारी सम्हाल्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीका अर्का नेता हितबहादुर तामाङलाई पठाए । २२ फागुन २०८० मा पर्यटन मन्त्रीको जिम्मेवारी पाएका सोही पार्टीका नेता तामाङ भने कार्यकर्ता भेटघाट र खादामालामै मख्ख छन् ।

तामाङले पर्यटन मन्त्रालयको नेतृत्व सम्हालेको डेढ महिना भएको छ । यो अवधिसम्ममा उनले मातहतको निकायको जानकारी लिने, आवश्यक निर्देशन दिने तथा समस्याको सामाधान गरेर संस्थागत विकासमा साथ दिने काम हुन गर्न सकेका छैनन् । मन्त्री नियुक्त भएको डेढ महिनासम्म तामाङ सिंहदरबाट न्यूरोड गेटको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम पुगका छैनन् ।

पर्यटन मन्त्री तामाङले गरेको वेवास्ता कारण पर्यटनको ऐना मानिने वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, नेपाल नागरिक उड्डयन मन्त्रालय, पर्यटनका अन्य निकायसँगको समन्वय नै कमजोर भएको छ । मन्त्रालयले मातहतका निकायमा गर्ने समन्वय र प्रभावकारी निर्णणको लागि त्यो क्षेत्र बुझ्ने तथा चासो लिने गर्नपर्ने हुन्छ ।

पर्यटन मन्त्रालयमा जुनसुकै मन्त्री सचिव आए पनि उसले काम देखाउने र प्रभावकारी उपस्थिति हुने ठाउँ नै वायुसेवा निगम हो। वायुसेवा निगम सुधार्न सक्ने, निगमलाई जहाज खरिद गर्न सक्ने र निगमको पुनरसंरचना गराउने वा दीर्घकालीन महत्त्वको निर्णय गर्न सक्ने मन्त्रीको पालाभरी नै चर्चा हुन्छ । तर, यही निकायमा पर्यटन मन्त्री डेढ महिनासम्म पुगेका छैनन् ।

निगम व्यवस्थापनले मन्त्रालयमै गएर मन्त्रीलाई भेटेर निगमको बारेमा सामान्य जानकारी दिने बाहेकको यस अघिका मन्त्रीहरुले जस्तो चासो लिएर ब्रिफिङ निगममा भएको छैन

वायुसेवा निगमको एउटा जहाज थन्किएको ५ महिना पुग्दासमेत मन्त्रीले त्यसको कारण, सरकारी प्रयास वा कुटनीतिक पहलमा जोड दिएनन् । जसका कारण इन्जिन फेरेर फर्किहाल्ने जहाज नफर्कदा निगमको टाउको दुखाइको विषय बनेको छ । यद्यपी निगमको उक्त न्यारोबडी जहाज आगामी १० वैशाखमा नेपाल आउने भनिएको भए पनि अन्तिम टुंगो लागेको छैन । कारण यसअघि पनि जहाज निर्माता कम्पनीले पटक पटक दिन्छु भनेको समयमा जहाज मर्मत गरेर दिन सकेको छैन ।

वायुसेवा निगमले लिएको जहाजको किस्ता तिर्न सकेको छैन भने यसले अहिलेको भन्दा आम्दानीको स्रोत बढाउन २ वटा न्यारोबडी भाडा लिने, ४ वटा एटीआर भाडामै लिने, ३ वटा ट्वीनअटर खरिद गर्ने, अन्तर्राष्ट्रिय उडानको पुहँच विस्तार गर्नेसम्मका योजना निगमसँग छ । निगमको उक्त योजना पूरा गर्न र अगाडि बढाउन तालुक निकायकै मन्त्रीको साथ चाहिन्छ ।

निगम व्यवस्थापनले मन्त्रालयमै गएर मन्त्रीलाई भेटेर निगमको बारेमा सामान्य जानकारी दिने बाहेकको यस अघिका मन्त्रीहरुले जस्तो चासो लिएर ब्रिफिङ निगममा भएको छैन । निगमले अहिलेसम्म मन्त्रीको स्वागत गर्न नपाएको गुनासो गरेको छ ।

वायुसेवा निगम स्रोतका अनुसार मन्त्रीलाई कहिलेकाहीँ मन्त्रालयमै पुगेर दिइने सामान्य जानकारी बाहेककको थप काम भएको छैन । पर्यटनमन्त्रीले जति धेरै चासो लिन्छन् उति ने धेरै यसका मातहतका निकायमा काम हुने गरेको दाबी पर्यटन क्षेत्रकै जानकारको छ ।

मन्त्री तामाङ आफैं सञ्चालक समिति अध्यक्ष रहेको मातहतको निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा समेत पर्यटनमन्त्री भएको २२ दिनपछि (१३ चैतमा) पुगेका थिए । उनले प्राधिकरण पुगेर लिएको ब्रिफिङ, उड्डयनक्षेत्रप्रतिको सोच भने सान्दर्भिक भएपनि त्यसपछि थप जानकारी लिने र आवश्यक निर्देशन दिने काम भएको छैन ।

नेपाल नागरिक उड्डयन प्राधिरेकरण स्रोतका अनुसार मन्त्रीको स्वागत र परिचयात्मक कार्याक्रम भएको भए पनि त्यसपछिको गतिविधि केही भएको छैन । प्राधिकरणको काम र कर्तव्यको बारेमा जानकारी दिने बाहेक थप उपलब्धि अहिलेसम्म हासिल हुन नसकेको हो । मन्त्रीले पनि चासो राख्ने र उड्डयन गतिविधिमा बुझ्ने काम नभएको ती उच्च अधिकारीको भनाइ छ ।

‘पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि उहाँले यसक्षेत्रसँग सम्बन्धित विषयमा खासै चासो राखेको देखिएको छैन’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘नयाँ मन्त्री बन्नु भएकोले फुर्सद नभएको हुन सक्छ । उहाँले सामान्य ब्रिफिङबाहेक लिनु भएको छैन । सायद उहाँ केही अध्ययन गरिरहनु भएको होला कि?’

यद्यपी नेपालको उड्डयन क्षेत्रको नियामक निकाय भएकोले प्राधिकरणले गर्ने कामदेखि सरकारी निकायसको साथ र सहयोगका लागि मन्त्रीको उपस्थितिको महशुस प्राधिरणले गर्नुपर्छ । मन्त्री प्राधिकरणको सञ्चालक समिति अध्यक्ष भए पनि अहिलेसम्म एकपटक पनि बोर्ड बैठक बसेको छैन ।

पर्यटनमन्त्रीले अहिलेसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबारेको ब्रिफिङ लिएका छैनन् भने अनुगमनमा पनि गएका छैनन् । मन्त्री तामाङले समय नै नदिएका कारण विमानस्थल कार्यालयले स्वागत गर्ने तथा आवश्यक ब्रिफिङ गर्न नपाएको बताएको छ । विमानस्थल कार्यालयका अनुसार आगामी १/२ दिनमै मन्त्री आउने भनिए पनि मन्त्रालयमै बढेको व्यस्तताले आउन नसकिएको जानकारी प्राप्त भएको विमानस्थल कार्यालयका एक अधिकारीले क्लिकमान्डुसँग बताए ।

पर्यटनमन्त्रीका प्रमुख स्वकीय सचिव नविन पुडासैनीले भने कार्यव्यस्तताले मन्त्रालय मातहतका निकायमा जान नभ्याएको स्वीकार गरे । ‘सम्बन्धित निकायका प्रमुखलाई मन्त्रालयमै बोलाएर त्यो निकायको जानकारी लिने काम भइरहेको छ । अहिले बजेट बनाउने बेला भएको र बजेट माग्ने तथा भेटघाट गर्नेको चापका कारण मन्त्रीज्यूले बाहिरतिर हेर्ने भ्याउनुभएको छैन’ उनले भने ।

पुडासैनीका अनुसार अब बजेटको चटारो सकिएपछि सबै निकायमा जानेदेखि पर्यटका सबै क्षेत्रलाई आवश्यक निर्देशन दिएर परिणाम खोज्नेसम्मको काम हुन्छ । मन्त्रीले मातहतको निकायबाट नियमित जानकारी लिएर आवश्यक निर्देशन भने दिइरहेको दाबी पुडासैनीको छ ।


राजु बास्कोटा