अर्थमन्त्रीसँग अमेरिकी कम्पनीका अधिकारीको गुनासो: नेपालमा स्थिर व्यावसायिक वातावरण भएन



वासिङ्टन डिसी, अमेरिका । अर्थमन्त्री वर्षमान पुनले व्यवासायिक वातावरण सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको स्पिरिङ बैठकमा सहभागी हुन अमेरिकाको राजधानी वासिङटन डिसी पुगेका अर्थमन्त्री पुनले मंगलबार युएस चेम्बर अफ कमर्सका पदाधिकारीलाई बैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनमा सहभागी हुन आग्रह गर्दै व्यवसायिक वातावरणमा सुधार गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

संयुक्त राज्य अमेरिकाको राजधानी बासिङ्टनमा युएस चेम्बर अफ कमर्सका कार्यालयमा भएको भेटमा अमेरिकी कम्पनीका प्रतिनिधिहरुले नेपालमा अनुमान योग्य व्यवसायिक वातावरण नभएको विषय उठाएपछी अर्थमन्त्री पुनले व्यवसायिक वातावरणमा निरन्तर सुधार गर्दै जाने विषय सरकारको प्राथमिकता भएको बताए।

चेम्बर उपाध्यक्ष अतुल केशप सहितको अमेरिकी ‍टोलिले विदेशी लगानी आकर्षित गर्न स्थिर व्यवसायिक वातावरण बन्नु पर्ने धारणा राखेका थिए ।

श्रीलंका र माल्दिभसका पूर्वराजदूत समेत रहेका केशपले पर्यटन र जलविद्युतमा नेपालसँग प्रतिस्पर्धा गर्ने क्षमता कुनै पनि देशसँग नभएको बताएका थिए।

‘नेपालसँग भएको स्रोत संसारका कुनै पनि देशसँग छैन,’ केशपले भने, ‘यदी सरकारले स्थिर व्यवसायिक वातावरण बनाउन सक्यो भने हामीहरु नेपालको आर्थिक विकासमा सहकार्य गर्न तयार छौँ । ’

अमेरिकी चेम्बरका उपाध्यक्षले केशप लगानी सम्मेलनमा सहभागी हुन नेपाल समेत आउने लागेका छन् ।

अर्थमन्त्रीसँगको भेटमा चेम्बरका साथैं अमेरिकी स्टेट डिपार्टमेन्टमा प्रतिनिधि, युएसएडका प्रशासक, मेटा, टाटा ग्रुप, द कोकोकोला , वाल्ट डिजनी, मेटलाइफ कम्पनीका प्रतिनिधि सहभागी थिए ।

भेटमा नेपालका तर्फबाट अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, अर्थ मन्त्रालयका सहसचिव श्री कृष्ण नेपाल, अमेरिका स्थित नेपाली राजदूतावासका आर्थिक कन्सुलर युगराज पाण्डे, अर्थ मन्त्रालयका उपसचिव कञ्चन बस्नेत तथा भुपाल शाक्यको सहभागिता थियो ।

भेटका क्रममा अर्थमन्त्री पुनले नेपालको आइटी सेवा निर्यात निरन्तर बढ्ने क्रममा रहेको र हाल अमेरिकामा मात्रै करिब १ बिलियन डलर बराबरको आइटी सेवा निर्यात भइरहेको बताए ।

‘आईटी उद्योगमा विदेशी लगानी आकर्षित गर्न सरकारले न्युनतम लगानीको सीमा हटाएको हो । नेपालका दक्ष जनशक्तिले निर्माण गर्ने सफ्टवेयरको अमेरिकामा राम्रो बजार छ,’ पुनले भने, ‘विदेशी लगानीलाई प्रतिकुल हुने सबै व्यवस्था क्रमश हटाउँदै जाने सरकारको तयारी छ । दुई सातापछी आयोजना हुने लगानी सम्मेलनलाई लक्षित गर्दै सरकारले नीतिगत सुधारका काम गरिरहेको छ । हामी निरन्तर सुधारका काम गर्न तयार छौँ ।’

भेटमा क्रममा युएसएडकी उपसहायक प्रशासक अञ्जली कौरले आगामी दिनमा अमेरिकी सरकारले थप सहयोग बढाउने बताइन् ।

‘युएसएडले नेपालमा व्यवसायिक वातावरण सुधार गर्न सहयोग गरिरहेको छ’ कौरले भनिन्, ‘आगामी दिनमा हामीहरु व्यवसायीक वातावरण सुधार गर्ने, आर्थिक गतिविधि बढाउने, भ्यालु एड गर्दै निर्यात बढाउने तथा कृषि क्षेत्रमा सुधारका लागी सहयोग गर्न तयार छौं।’

उच्च गुणस्तरीय लगानी आकर्षित गर्न नेपालले व्यवसायिक वातावरण सुधार गर्नु पर्नेमा कौरले जोड दिइन्।

यस्तै भेटका क्रममा केशप तथा कौरले कन्ट्री रेटिङका विषयमा चासो राखेका थिए ।

विदेशी लगानी आकर्षित गर्न कन्ट्रि रेटिङ हुनु पर्ने र नेपाल सरकारले सुरु गरेको प्रकृया यथाशक्य छिटो सम्पन्न हुनु पर्नेमा केशपले जोड दिए ।

यस्तै भेटको क्रममा मेटलाइफका तर्फबाट एमान्दा जेन होरनले नेपाली कम्पनीमा रिइन्स्योरेन्स गर्नै पर्ने बाध्यात्मक विषयमा प्रश्न उठाएकी थिइन् । यस्तै बैंक इन्स्योरेन्सलाई रोक्नु उचित नभएक होरनक धारणा थियो।

अर्थमन्त्री पुनले बीमा सम्बन्धी विषयमा तथा बैंकिङ सम्बन्धी विषयमा नेपालका नियामक निकायले निर्णय गरेकाले त्यसविषयमा थप बुझ्ने बताए ।

‘तपाईंहरुलाई थाहा छ बैंक तथा बीमा विषयमा नियामक निकायले निर्णय गरेका हुन् । नियामक निकाय सरकारको प्रत्यक्ष नियन्त्रणमा छैनन्,’ पुनले भने, ’नियामक निकायले गरेका निर्णयहरु अन्तर्राष्ट्रिय अभ्यासअनुसार भए नभएको विषयमा सरकारले अध्ययन गर्ने तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु । यदी कहीँ हामीले सहजीकरण गर्ने अवस्था आयो भने सुधारका लागी तयार छौं ।’

जेनले व्यवसायिक वातावरण स्थिर नहुँदा मेटलाइफलाई काम गर्न केही असहज भएको धारणा राखेकी थिइन्।

भेटका क्रममा वाल्ट डिजनीका प्रतिनिधि जो वेल्चले पनि नेपालमा लगानी गर्ने राम्रो अवसर तथा सम्भावना हुँदा हुँदै व्यवसायिक वातावरण स्थिर नभएको विषयमा प्रश्न उठाएका थिए ।

वेल्चले नियामक निकायले केही सहजीकरण गरेको अवस्थामा डिजनीले नेपालमा लगानी गर्ने योजना बनाएको बताएका थिए ।

अर्थमन्त्रीसँगको भेटमा कोकोकोला प्रतिनिधिले स्थिर व्यवसायिक वातावरण भएको अवस्थामा आफूहरुले ५० मिलियन डलर नयाँ लगानी गर्ने योजना बनाएको बताए ।

‘स्टेबल रेगुलेरी वातावरण वनाउनु पर्छ भन्ने हाम्रो माग हो । कोकोकोला नेपालमा लगानी गर्ने पहिलो अमेरिकन कम्पनी हो,’ कम्पनीका प्रतिनिधिले भने, ’हामीहरुले नेपालमा व्यवसाय गरेको ५० वर्ष पुगेको छ । हामीहरु थप १५० वा त्यो भन्दा बढी समय नेपाल बस्न चाहँन्छौँ । त्यसका लागि सरकारले स्थिर वातावरण बनाउनु पर्छ ।’

यस्तै मेटाकी प्रतिनिधि मोली मोन्ट्गोमेरीले पनि सरकारले स्टेबल र अनुमान योग्य वातावरण बनाउन बताए नेपालसँग थप सहकार्य गर्न तयार रहेको बताइन् ।

समाजिक सञ्जाल सम्बन्धी कानुन बन्दा वाक स्वतन्त्रतालाई सहज बनाउने व्यवस्था हुनु पर्नेमा फेसबुकको प्यारेन्ट कम्पनी मेटाका प्रतिनिधिको जोड थियो ।

जवाफमा अर्थमन्त्री पुनले समाजिक सञ्जाल केही अराजक भएकाले नियमन आवश्यक भए पनि उदार समाज बनाउने तथा वाक स्वतन्त्रतामा रोक लगाउने गरि कानुन बनाउने सरकारको कुनै सोच नभएको बताए ।

‘हामीहरु दक्षिण एसियामा निकै उदार देश हौं । त्यसमा कुनै पनि सम्झौता गर्ने पक्षमा छैनौं । तर समाजिक सञ्चालमा केही विकृति पनि भएकाले कानुन बनाउन आवश्यक भएको हो,’ पुनले भने, ’समाजिक सञ्जाल सम्बन्धी कानुन बनाउँदै उदारीकरणका हाम्रा प्रतिवद्धतामा कुनै सम्झौता गर्नु हुँदैन भन्नेमा हामीहरु सचेत छौँ ।’

भेटमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले नेपालमा डेटा सेन्टर स्थापना गर्न अमेरिकी कम्पनीलाई आग्रह गरे ।

‘हामीहरु दीगो विकासको कुरा गर्छौं । डाटा सेन्टरले धेरै उर्जा खपत गर्छ । यदी नेपालमा डाटा सेन्टर खुल्ने हो भने हरित उर्जाको प्रयोग बढाउन सकिने थियो । किनभने नेपालमा पर्याप्त हरित उर्जा छ ,’ खत्रीले भने,’ हामीहरु हरित उर्जा उपलब्ध गराउन तयार छौँ । तपाईंहरु लगानी बढाउँनुहोस् । त्यसले वातावरणमा समेत योगदान दिनेछ । ’

सरकार र लगानीकर्ता सँगै बस्दै निरन्तर संवाद गर्दै गयो भने क्रममा समाधान हुँदै जाने खत्रीको भनाई थियो ।

‘हामी सबै राम्रो गरिरहेका छौँ भन्ने होइन्, सरकारले सुनिरहेको छ, काम गरिरहेको छ भन्ने मेरो भनाई हो,’खत्रीले भने,’जस्तो पहिला आईटी कम्पनी खोल्न ५ मिलियन आवश्यक हुन्थ्यो । लगानीकर्ताको सुझावको आधारमा त्यसलाई घटाएर २ मिलियन बनायौं । अहिले १ सय रुपैयाँमै विदेशी लगानीको आईटी कम्पनी खोल्न मिल्ने व्यवस्था सरकारले बनाएको छ । हामीले नियमित गरेको संवादले आईटीमा सुधार गरेको हो । ’

सरकार र व्यवसायीले नियमित संवाद गर्दा व्यवसायीक वातावरणमा सुधार हुने खत्रीले बताए ।


शरद ओझा