काठमाडौं महानगरमा सडक बत्ती काटिरहेको प्राधिकरणले हर्क साम्पाङको कार्यालयकै बिजुली काट्दै



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता ७ अर्ब रुपैयाँ पुग्न लागेपछि धमाधम सडक बत्ती काट्न थालेको छ ।

प्राधिकरणका अनुसार असार मसान्तसम्म ३ सय ३२ वटा स्थानीय तहकको सडक बत्तीको बक्यौता ६ अर्ब ८ करोड रुपैयाँ पुगेको छ ।बक्यौता बढ्ने तर उठाउन नसक्ने भएपछि प्राधिकरणले लाइन काट्न थालेको हो ।

प्राधिकरणले केहि दिन पहिले धरान उपहानगरपालिकाले बक्यौता नतिरेपछि सडक बत्तीको लाइन काटेको थियो । लाइन काटिएको भोलिपल्ट नगरपालिकाका मेयर हर्कराज साम्पाङले प्राविधिक पठाएर लाइन जोडेको प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।

‘हामीले सडक बत्तीको लाइन काटेको उनीहरु आफैले जोडेछन् । अब पैसा नतिरे हर्क साम्पाङको कार्यालयकै  लाइन काटिदिन्छौं,’ प्राधिकरणका एक इन्जिनियरले भने, ‘हामीले बक्यौता उठाउन ताकेता गरे पनि नउठेपछि काट्न अभियान चलाएका छौं ।’ धरान उपमहानगरपालिकाको करिब २ करोड ५९ लाख रुपैयाँ बक्यौता रहेको छ ।

प्राधिकरणका अनुसार सबैभन्दा धेरै बक्यौता काठमाडौं महानगरपालिकाको छ । महानगरले सडक बत्ती प्रयोग गरेर १ अर्ब ७९ करोड रुपैयाँ बक्यौता रहेको छ ।

महानगरपालिकालाई पटक पटक ताकेता गरे पनि बक्यौता नतिरेपछि लाइन काट्न थालिएको छ । मंगलबार लाजिम्पाट एरियाको लाइन काटिएको छ । चरणबद्ध रुपमा अन्य स्थानमा समेत लाइन काट्दै जाने योजना रहेको प्राधिकरणका ती इन्जिनियरले बताए ।

काठमाडौं महानगरपालिकाले बालाजु वितरण केन्द्रमा ३९ लाख २० हजार रुपैयाँ, बानेश्वर वितरण केन्द्र ४६ करोड ४२ लाख रुपैयाँ, रत्नपार्क वितरण केन्द्रको ८५ करोड ८१ लाख रुपैयाँ, कीर्तिपूर वितरण केन्द्र २६ लाख रुपैयाँ, कुलेश्वर वितरण केन्द्र २८ करोड ९ लाख रुपैयाँ, महाराजगञ्ज वितरण केन्द्रको १७ करोड १८ लाख रुपैयाँ बक्यौता बाँकी छ ।

प्राधिकरणले चैत १६ गते सार्वजनिक सूचना निकालेर सडक बत्ती प्रयोग गरेबापत बक्यौता तिर्न आग्रह गरेको थियो ।

प्राधिकरणले सार्वजनिक सूचना जारी गरेर आग्रह गर्दा पनि बक्यौता तिर्न नआएपछि लाइन काट्न थालेको हो । चैत २३ गते सूचना निकालेर जुनसुकै बखत लाइन काट्ने जानकारी प्राधिकरणले दिएको थियो ।

स्थानीय तहहरुले भने बक्यौता तिर्न अटेर गर्दै आएका छन । उनीहरुले सडक बत्तीको बक्यौता तिर्नुपर्न भए पोल गाडेको भाडा माग्दै आएका छन् ।

नेपाल विद्युत प्राधिकरणको पनि कमजोरी भेटिएको छ । प्राधिकरणले व्यवस्थित लेखांकन राख्न सकेको छैन । अधिकांश स्थानीय तहहरुले मिटर नै नराखी सडक बत्ती जोडेका छन । जसका कारण कुन स्थानीय तहले कति सडक बत्ती प्रयोग गरेको छ भनेर व्यवस्थित लेखांकन राख्न सकिएको छैन । प्राधिकरणले सडक बत्तीका लागि उपयोगी हुने मिटर निशुल्क दिदै आएको छ ।

प्राधिकरणले कति क्षमताको बत्ती (वाट) का आधारमा कति समय बल्छ त्यस आधारमा बिल पठाउदै आएको थियो  । केहि समय यता भने स्थानीय तहहरुले मिटर राख्न थालेपछि व्यवस्थित हुन थालेको छ ।

बुटवल उपमहानगरपालिका ८ करोड १७ लाख रुपैयाँ बक्यौता बाँकी छ । नेपालगञ्ज उपमहानगरपालिका १९ करोड ९१ लाख रुपैयाँ रहेको छ । विराटनगर महानगरपालिकाको ८ करोड रुपैयाँ छ ।

कुन स्थानीय तहको बक्यौता कति छ ?


क्लिकमान्डु