ग्रिनलाइनलाई डिउटी फ्रि पसल खोल्न दिने योजना रोकियो: टेण्डर रद्द, बक्यौतामा छानबिन हुँदै



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिउटी फ्रि (कर मुक्त पसल) खोल्ने गरी आह्वान भएको टेण्डर रद्द भएको छ ।

२ पटक म्याद थप गर्दा समेत कुनै पनि कम्पनीबाट कर मुक्त पसल सञ्चालन गर्ने गरी आवेदन नपरेपछि टेण्डर रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता सुवास झाले जानकारी दिए ।

‘हामीले कर मुक्त पसल सञ्चालन गर्न आवश्यक कागजात जुटाएर आवेदन पेश गर्न सार्वजनिक सूचना निकालेका थियौं,’ झाले क्लिकमान्डुसँग भने,’ २ पटक म्याद थप गर्दा समेत कुनै पनि कम्पनीले टेण्डर पेपर नै खरिद गरेन । जसले गर्दा सधैं म्याद थप गरिरहनु भन्दा उक्त टेण्डर नै रद्द गरिएको हो ।’

गत मंसिर ४ गते विमानस्थल कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको आवागमन र प्रस्थान कक्षमा करमुक्त पसल सञ्चालन गर्न इच्छुक संस्थाबाट प्रस्ताव पेश गर्न आह्वान गरेको थियो ।

प्राधिकरणले प्रकाशित गरेको सूचनामा ५ वर्षका लागि प्रस्थानतर्फ पहिलो तल्लाको २६.११ वर्गमिटर र आवागमनतर्फ ७५.८ वर्गमिटर क्षेत्रफलमा करमुक्त पसल सञ्चालन गर्न चाहने संस्थालाई प्रस्ताव पेस गर्न भनिएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले ग्रिनलाइन इन्टरनेसनललाई करमुक्त पसल सञ्चालन गर्ने दिने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई सूचना प्रकाशित गर्न लगाएका थिए ।

नेपालमा कर मुक्त पसल सञ्चालन गर्ने अनुमति ग्रिनलाइन इन्टरनेसनलसँग मात्रै भएकाले प्राधिकरणका महानिर्देशक अधिकारी ग्रिनलाइनलाई कर मुक्त पसल सञ्चालन गर्न दिने योजनामा थिए ।

२०६५ साल असोज ३ गते तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले विमानस्थलभित्र सञ्चालनमा रहेका कर मुक्त पसल बन्द गर्नु अघि नै ग्रिनलाइनसँग विमानस्थलमा कर मुक्त पसल सञ्चालन गर्ने अनुमति थियो ।

२०६५ सालपछि विमानस्थलमा कर मुक्त पसल सञ्चालन नभएपनि ग्रिनलाइनले नियमित रुपमा कर मुक्त पसल सञ्चालन गर्ने अनुमति नवीकरण गर्दै आएको छ ।

हाल ग्रिनलाइनले कुटनीतिक नियोगलाई मदिरा बिक्री गर्ने गरी कर मुक्त पसल सञ्चालन गरिरहेको छ ।

नेपालमा ग्रिनलाइन बाहेकका अन्य कुनै कम्पनीसँग करमुक्त पसल सञ्चालनको अनुमति छैन । जसले गर्दा विमानस्थल कार्यालयले टेण्डर रद्द नगरेको भए ग्रिनलाइनले कर मुक्त पसल सञ्चालन गर्ने गरी अनुमति पाउने थियो ।

अर्थ मन्त्रालयले मदिरा र सुर्तिजन्य पदार्थहरु कर मुक्तपसलबाट बिक्री गर्न रोक लगाएकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले चकलेट, पर्फ्युमलगायतका सामान करमुक्त पसलबाट ब्रिक्रि गर्ने योजना बनाएको थियो ।

विमानस्थल कार्यालयले प्रकाशित गरेको सूचनामा ग्रिनलाइनको मात्रै आवेदन पर्ने र त्यसलाई सहजै कर मुक्त पसल सञ्चालनको अनुमति दिने अधिकारीको योजना थियो । तर, विमानस्थल कार्यालयले पुरानो बक्यौता तिर्न बाँकी रहेको भन्दै ग्रिनलाइन इन्टरनेसनललाई टेण्डर डक्युमेन्ट नै बिक्री गर्न नमान्दा अधिकारीको योजना रोकिएको हो ।

‘सुरुमा हामीले ग्रिनलाइनको १ करोड ५० लाख रुपैयाँ बक्यौता रहेको पायौं,’ प्राधिकरणका एक अधिकारीले भने,’ग्रिनलाइनले उक्त रकम तत्काल तिरेर टेण्डर कागज किन्न खोजेको थियो । तर, हाम्रो राजस्व विभागले थप अनुसन्धान गर्दा ग्रिनलाइनको थप बक्यौता फेला पर्यो । जसले गर्दा टेण्डर कागज बिक्री गर्न सकिएन ।’

बिगतदेखि ग्रिनलाइन इन्टरनेसनलले तिर्न बाँकी बक्यौता धेरै देखिएपछि विमानस्थल कार्यालयका निर्देशक सुवास झाको नेतृत्वमा ग्रिनलाइनको बक्यौताका विषयमा अध्ययन गर्ने समिति गठन भएको थियो ।

उक्त समितिमा विमानस्थलको कर्पोरेट शाखा र कानुन शाखाको सदस्य तथा राजस्व शाखाको प्रमुख सुजन भण्डारी सदस्य सचिव छन्।

विमानस्थल कार्यालयका प्रवक्ता समेत रहेका झाका अनुसार ग्रिनलाइन इन्टरनेसनलको बक्यौताका विषयमा अध्ययन गर्न गठन भएको समितको मिटिङ नै बस्न सकेको छैन ।

‘कर मुक्त पसल सञ्चालन गर्ने गरी आह्वान भएको टेण्डर रद्द भएपछि ग्रिनलाइनको बक्यौता तत्कालै निकाल्नु पर्ने दबाब भएन,’ झाले भने, ‘जसले गर्दा केही समय लागेको हो ।’

कर मुक्त पसल सञ्चालनको नयाँ लाइसेन्स दिने व्यवस्था छैन

भन्सार ऐनको दफा ११ को उपदफा २ मा करमुक्त पसल सञ्चालनको अनुमति दिने अधिकार नेपाल सरकारलाई भएको उल्लेख छ । ऐनमा भनिएको छ, ‘करमुक्त पसल सञ्चालनको लागि पैठारी हुने मालबस्तु तोकिएको सर्तबमोजिम बैंक जमानत सुविधाअन्तर्गत पैठारी गर्ने सुविधा नेपाल सरकारले तोकिएबमोजिम प्रदान गर्न सक्नेछ ।’

प्राधिकरणले विमानस्थलभित्र पसल सञ्चालनका लागि भाडामा दिन सक्ने भए पनि करमुक्त पसल सञ्चालनको अनुमति दिन सक्दैन ।

करमुक्त पसल सञ्चालन गर्नेले बन्डेड वेयर हाउससम्बन्धी सुविधा लिनुपर्छ । भन्सार नियमावलीको नियम ९ को खण्ड घ मा पनि नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेको करमुक्त पसलबाट बिक्री गर्नका लागि मालवस्तु पैठारी गर्ने व्यक्तिले मात्रै बन्डेड वेयर हाउस सुविधा पाउने उल्लेख छ ।

बन्डेड वेयर हाउस सुविधामा विभिन्न सामान आयात गर्दा राज्यलाई महसुल नतिरी बैंक ग्यारेन्टी दिनुपर्ने र त्यसरी आयात भएका समान भन्सार छुट पाउने कूटनीतिक समूह वा करमुक्त पसलबाट बिक्री भएको वा कच्चा पदार्थलाई अन्तिम उत्पादन बनाई निर्यात गरेको प्रमाण पेस गर्दा बैंक ग्यारेन्टी फुकुवा हुन्छ ।

भन्सार नियमावलीको नियम १२ मा करमुक्त पसलबाट बिक्री गर्नका लागि पैठारी गरेको मालबस्तु पैठारी गरेको मितिले १ वर्षभित्र करमुक्त पसलबाट बिक्री गरिसक्नु पर्ने उल्लेख छ ।

सामान बिक्री गरेपछि बैंक ग्यारेन्टी फुकुवाका लागि निवेदन दिनुपर्ने व्यवस्था नियमावलीले गरेको छ । तर, अहिलेसम्म भन्सार नियमावलीले करमुक्त पसल सञ्चालन गर्न कसरी दिने भन्ने व्यवस्था गरेको छैन ।

भन्सार ऐन र नियमावलीमा नेपाल सरकारले कर मुक्त पसल सञ्चालन गर्न अनुमति दिन सक्ने व्यवस्था भएकाले एउटा कम्पनीसँग मात्रै कर मुक्त पसल चलाउने लाइसेन्स भएको अवस्थाले प्राधिकरणले सुचना प्रकाशित गर्नु स्वार्थपुर्ण भएको सरोकारवालाहरु बताउँछन् ।

‘भन्सार ऐनमा तोकिएबमोजिम करमुक्त पसल सञ्चालनको लागि अनुमति दिनुपर्ने उल्लेख भएकाले भन्सार नियमावलीमा करमुक्त पसल सञ्चालन गर्न दिने व्यवस्था नगर्दासम्म विमानस्थलमा ग्रिनलाइन इन्टरनेसनल बाहेकले करमुक्त पसल सञ्चालन गर्न सक्दैनन्,’ भन्सार विभागका एक अधिकारीले भने, ‘करमुक्त पसल सञ्चालनमा कयौं व्यक्तिले चासो देखाउने र ठूलो राजनीतिक चलखेल हुने भएकाले विभागले करमुक्त पसल सञ्चालन गर्न दिनेसम्बन्धी व्यवस्था नियमावलीमा नराखेको हो । भन्सार ऐन २०६४ आउनुअघि नै ग्रिनलाईनले कर मुक्त पसल सञ्चालन गर्ने अनुमति पाएकाले उक्त कम्पनीको अनुमति के गर्ने भन्ने कुनै निर्णय भएको छैन ।’

अन्तर्राष्ट्रिय विमानस्थलमा करमुक्त पसल सञ्चालन हुनु स्वाभाविक भए पनि एउटा मात्रै कम्पनीसँग कर मुक्त पसल सञ्चालन गर्ने अनुमति भएको अवस्थामा प्राधिकरण महानिर्देशक अधिकारीले सीमित व्यक्तिलाई लाभ हुने गरी करमुक्त पसल सञ्चालन गर्न टेण्डर निकाल्न लगाउनु गलत भएको अर्थ मन्त्रालयका अधिकारीको बुझाइ छ ।


क्लिकमान्डु