सुन तस्करी प्रकरण: गुरुङको सिडिआर अध्ययनमा प्रहरीको लापरवाही, अर्थमन्त्री पुनमाथि आशंका



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीका आरोपी जीवन गुरुङको कल डिटेल रिपोर्ट (सीडीआर) अध्ययनमा प्रहरीले लापरवाही गरेको खुलेको छ ।

उपराष्ट्रपति कार्यालयले गुरुङले प्रयोग गर्ने नम्बर भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयलाई पत्राचार गरेको मोबाइल नम्बर र गुरुङले प्रयोग गर्ने अन्य नम्बरको कल डिटेल अनुसन्धानमा प्रहरीले लापरवाही गरेको स्रोतको दाबी छ ।

सुन तस्करीमा संलग्न रहेको भन्दै हाल थुनामा रहेका मिन घलेसँग संवाद गर्न गुरुङले प्रयोग गरेका विभिन्न नम्बरको सुक्ष्म अनुसन्धान नहुँदा विमानस्थलबाट हुने गरेको सुन तस्करीको राजनीतिक कनेक्सन पत्ता लगाउन कठिन भएको स्रोतले जानकारी दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा गुरुङले विमानस्थल कार्यालयले आफ्नो भन्दै दाबी गरेको नम्बर आफूले प्रयोग नगर्ने बयान दिएपछि जिल्ला अदालत काठमाडौंका न्यायाधीश जीवनप्रसाद उपाध्यायको इजलासले गुरुङलाई १५ लाख धरौटीमा रिहा गर्ने आदेश छन् ।

गुरुङले प्रयोग गरेको फोन नम्बर महर्जनको नाम गरेका व्यक्तिको नाममा दर्ता भएको भन्दै आफूले उक्त फोन प्रयोग नै नगरेको गुरुङले दाबी गर्दै आएका छन् ।

तर, भन्सार कार्यालयका अधिकारीहरु उपराष्ट्रपति कार्यालयको पत्र र गुरुङ अध्यक्ष भएको कलेजले उक्त नम्बर गुरुङकै भएको पुष्टी गरेको दाबी गर्छन् ।

गुरुङ सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले चैत २ गते मुद्दा दायर गरेको थियो ।

भन्सारले गुरुङ १३८ किलो सुन तस्करीमा संलग्न भएको आरोपमा १ अर्ब ४० करोड ५५ लाख ३० बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको थियो भने भन्सार चोरी पैठारी गरेको कसुरमा ५ वर्ष कैद सजाय हुनु पर्ने माग गरिएको छ ।

सुन तस्करीको आरोपमा पक्राउ परेको निवर्तमान उपराष्ट्रपति नन्द बहादुर पुनका सल्लाहकार गुरुङलाई पक्राउ पुर्जी जारी भएको ६८ दिनपछि प्रहरीले पक्राउ गरेको थियो ।

भन्सार कार्यालयले पटक पटक आग्रह गर्दा समेत गुरुङलाई प्रकाउ गर्न प्रहरीले आनाकानी गरेको थियो ।

भन्सार कार्यालयले गत पुस ६ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएर गुरुङलाई पक्राउ गर्न आग्रह गर्दै प्रहरीलाई पत्राचार गरे पनि २ महिनासम्म गुरुङलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । नेपाल प्रहरीका तत्कालीन महानिरीक्षक हेमबहादुर गुरुङसँगको निकटताले प्रहरीले गुरुङलाई नियन्त्रणमा लिन समय लगाएको स्रोतको दाबी थियो ।

उपराष्ट्रपतिका छोरा दिपेश पुन र बर्तमान अर्थमन्त्री वर्षमान पुनले गुरुङसँग नियमित संवाद गरेको पुष्टी हुने भएपछी प्रहरीले सीडीआर अनुसन्धानमा लापरवाही गरेको स्रोतको दाबी छ ।

‘कल डिलेट अनुसन्धान गर्दा उच्च राजनीतिक नेतृत्वसँग नियमित संवाद हुने गरेको देखिएको थियो,’ प्रहरीका एक अधिकारीले भने- ‘जसले गर्दा कल डिलेटको अनुसन्धानमा मिन घले र चन्द्र घलेसँग भएको संवाद मात्रै अनुसन्धान गरिएको हो ।’

भन्सार विभागका अधिकारीहरु गुरुङलाई ब्रेक सु बाट भएको सुन तस्करीमा प्रहरीले प्रक्राउ गरेपछी राजनीतिक पहुँचको आधारमा छोडेको बताउँदै गुरुङ नेपालबाट हुने सुन तस्करीको मुख्य व्यक्ति भएको बताउँदै आएको थिए ।

भीमकान्त‚ दायाँ वर्षमान र बायाँ प्रचण्डसँग। तस्बीरः खोज पत्रकारिता केन्द्र

सुन तस्करीका विषयमा अनुसन्धान गर्न सरकारले गठन गरेको डिल्लीराज आचार्यले नेतृत्वको आयोगले समेत गुरुङका विषयमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले विस्तृत अनुसन्धान नगरेको भन्दै थप अनुसन्धान गर्नु पर्नु सुझाव दिएको छ ।

उक्त आयोगले पुन मन्त्री हुँदा निजी सचिवालयमा काम गरेका र पुनका अन्यन्तै निकट मानिने भिमकान्त भण्डारीमाथि समेत अनुसन्धान गर्न सिफारिस गरेको छ । सीआईबीले भिमकान्तलाई सामान्य बयान लिएर छोडेको थियो । सुन तस्करीका प्रमुख भनिएका दावा छिरिङसँग पनि वर्षमानको उठबस भएका समाचारहरु सार्वजनिक भएका थिए ।

दावा छिरिङसँग श्रीमति ओनसरीसहित वर्षमानको डिनर ।

प्लाटिनम कलेजका कार्यकारी अध्यक्षसमेत रहेका गुरुङको मुख्य योजनामा सुन तस्करी हुने गरेको दाबी गर्दै भन्सार विभागले पुनरावेदनका लागि उच्च अदालत जाने तयारीमा छ ।

मुख्य योजनाकारले प्रयोग गरेका सबै फोनको सीडीआर बाहिर आए उच्च राजनीतिक नेतृत्वको कनेक्सन भेटीने प्रहरीका उच्च अधिकारी दाबी गर्छन् ।

तस्करी गरि ल्याइएको सुनसहित रंगेहात पक्राउ परेका चन्द्र घले र मिन गुरुङ तथा मिन गुरुङ र जीवन गुरुङबीच सुन तस्करीका विषयमा कुरा भएको प्रमाण भेटिएपछि अदालतमा मुद्दा दर्ता गरिएको थियो ।

गुरुङले घलेसँग कुराकानी गर्न प्रयोग गरेका मोबाइलहरू फालेकाले सुन तस्करीका संलग्न अन्य व्यक्तिको विषय जानकारीमा नआएको भन्सारका अधिकारीहरूले बताए ।

प्रहरीले विभिन्न नम्बरको कल डिटेल अनुसन्धान गरिरहेकाले सुन तस्करीमा संलग्न अन्य ब्यक्तिको जानकारी क्रमश खुल्दै जाने स्रोतको भनाइ छ ।

गत मंसिर २१ गते फ्लाइ दुबईबाट काठमाडौं आएका चन्द्र घलेबाट बरामद भएको १४ किलो सुन तस्करीमा गुरुङ संलग्न रहेको भन्दै भन्सार कार्यालयले थप अनुसन्धानका लागि गुरुङलाई नियन्त्रणमा लिन खोजेको थियो ।

१४ केजी सुनसहित रंगेहात पक्राउ परेको चन्द्र घलेको बयानका आधारमा भन्सार कार्यालयले मीन घलेलाई पक्राउ गरेको थियो । मीन घलेले गुरुङको आदेशमा आफूले काम गरेको बयान दिएका थिए । गुरुङ घले पक्राउ परे लगत्तै फरार भएका थिए ।

मीन घलेले बयानमा क्रममा जीवन गुरुङ पूर्वउपराष्ट्रपति पुनको सल्लाहकार भइसकेको र गुरुङले नै काठमाडौंमा जम्मा हुने सुन सीमावर्ती क्षेत्रमा पुर्‍याउने गरेको बताएका थिए ।


क्लिकमान्डु