पुष्प एक्सपोमा शनिबार ३५ लाख रुपैयाँको कारोबार



काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तीनदेखि जारी २५औँ पुष्प मेलामा शनिबार मात्रै ३५ लाख रुपैयाँबराबरको पुष्प विरुवा र पुष्पजन्य सामग्री बिक्री भएको छ ।

शनिबार १७ हजार सर्वसाधारणले उक्त मेलाको अवलोकन गरेका थिए ।

आइतवारसम्म चल्ने उक्त पुष्प मेलाको ५० हजारले अवलोकन गर्ने र एक करोड रुपैयाँभन्दा बढिको कारोवार हुने लक्ष्य राखिएको आयोजक फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले जनाएको छ ।

हालसम्म ४० हजारले मेलको अवलोकन गरेका छन् भने यो अवधीमा ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
शनिबार मेलाको अबलोकन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले पुष्प क्षेत्रको सम्भावना निक्कै रहेको जानकारी दिइन् ।

पुष्पले नेपालको अर्थतन्त्रमा ठूलै सहयोग पुर्याउँदै आएको बताउँदै उनले फूलमा आत्मनिर्भर हुनका लागि उत्पादनमा जोड दिनुपर्ने बताइन ।

पुष्प व्यवसायी तथा किसानसँग भएको समस्याको बारेमा पनि आफू अवगत भएको र केही दिनमै सम्बन्धित पक्षलाई बोलाएर छलफल गरी त्यसलाई समाधान गर्ने उनले बताइन ।

पुष्प व्यवसायीलाई आधुनिकीकरण गर्दै आत्मनिर्भर बनाउनुपर्ने कुरामा जोड दिदै उनले पुष्प क्षेत्रमा नेपाललाई आत्मनिर्भर बनाउन सकिने जानकारी दिइन् ।

मेलामा व्यावसायिक ६०, ल्याण्डस्केपिङ तीन, अफिसियल आठ, प्रतियोगितात्मक प्रदर्शनी एक र फूड एक वटा फूडसहित जम्मा ७३ वटा स्टल रहेको एसोसिएसनका अध्यक्ष मीनबहादुर तामाङले जानकारी दिए ।

मेला अवलोकनका लागि सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि एक सय शुल्क तोकिएको आयोजकले जनाएको छ ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये केही मात्रा सयपत्रीका मालामात्रै भारतबाट ल्याउने गरिएको भन्दै अन्य समयमा प्रयोग हुने फूलमा मुलुक आत्मनिर्भर भइसकेको एसोसिएसनले जनाएको छ ।

फूलको मागमा आएको वृद्धिसँगै विशेष गरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४३ जिल्लामा पुष्पखेती विस्तार भइसकेको छ ।

नेपालमा हाल व्यावसायिक रूपमा चार सय ५० प्रजातिका फूल उत्पादन हुँदै आएका छन् । विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ ।

कात्तिकदेखि फागुनसम्म विभिन्न चार्डपर्व र विवाहको मौसम पर्ने हुँदा फूल बढी प्रयोग हुने गर्दछ । नेपालमा लगभग एक सय ५७ हेक्टर क्षेत्रफलमा सात सय व्यवसायीले फूल खेती गर्दै आएका एसोसिएसनका अध्यक्ष तामाङले जानकारी दिए ।

विशेषगरी रमाइलो र उत्सवमा बढी प्रयोग हुने फूल कोरोना महामारीका कारण विगतका वर्षमा लक्ष्यमा पुग्न निकै कठिन परेको भए पनि अहिलेकै अवस्थामा कारोबार गर्न सके यो बर्ष लक्ष्यमा पुग्न सहज हुने विश्वास एसोसिएसनले लिएको छ । नेपालमा वार्षिक तीन अर्ब सात करोड रुपैयाँको फूलको कारोबार हुने गरेको छ ।


क्लिकमान्डु