बचतकर्ता ठग्ने सहकारीका सचिवको बयानः राजीनामा दिएर कतार गएको थिएँ, उतैबाट प्रहरीले पक्राउ गरेर ल्यायो



काठमाडौं । बचतकर्ताको करिब साढे ३ करोड बचत ठग्ने नमस्ते बचत तथा ऋण सहकारीका सचिव प्रमोद सिँजापति पक्राउ परेका छन् ।

सहकारीका अध्यक्ष लगायतले १२८ बचतकर्ताको ३ करोड ३८ लाख ३५ हजार ५०६ रुपैयाँ ठगी गरेका छन् । जसमा सचिव सिंजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरेको छ ।

पक्राउ गरेका सिंजापतिले बयानका क्रममा क्रममा बैंकबाट पैसा निकालेर सहकारीको सहकारीमा सेयर लगानी गरेको बताएका छन् ।

‘मलाई पनि सेयर सदस्यता दिने भन्ने सल्लाह भएपछि मैले ग्लोबल आइएमई बैंक सातदोवाटो शाखाबाट करिब २० लाख रुपैयाँ जति ऋण निकालेर सहकारी सेयर लगानी गरेको थिएँ’ उनले बयानमा भनेका छन् ।

पछि सहकारी डुबेपछि उनी रोजगारीका लागि कतार पुगेका थिए । प्रहरीले इन्टरपोलको सहयोगमा सिँजापतिलाई कतारबाट नै पक्राउ गरेको छ ।

उनले सहकारी चलाउने क्रममा संस्था घाटामा जान थालेपछि पटक पटक साथीसँग पैसा सापटी मागेर संस्था चलाएको समेत बताएका छन् ।

सहकारी संस्था चलाउनुका साथै २०७४ साल तिर सेन्चुरी बैंकबाट १८/१९ लाख र २०७८ साल तिर ग्लोबल आईएमई बैंक सातदोबाटो शाखाबाट १० लाख रुपैयाँ ऋण निकाली त्यो पैसाले सहकारी संचालन गर्दै आएको उनको दाबी छ ।

अन्तिममा संस्था चलाउन नसक्ने भएपछि अध्यक्ष रविन्द्र थापालाई टेलिफोनबाट जानकारी गराएर राजीनामा पत्र कार्यालयमा एकप्रति र एकप्रति अध्यक्ष थापालाई दिएर रोजगारको लागि कतार गएको बयानमा उल्लेख छ ।

‘पछि म समेतको नाममा ठगी गरेको भनि जाहेरी दरखास्त पर्न आएकोमा इन्टरपोल मार्फत पक्राउ पर्न आएको हुँ’ उनले बयानमा भनेका छन् ।

सहकारीको सचिव समेत रहेका नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरका प्रमोद सिंजापतीले दिएको बयान यस्तो छः

नमस्ते वचत तथा ऋण सहकारी संस्था लि. को अध्यक्ष रबिन्द्र थापा, उपाध्यक्ष अर्जुन भट्टराई, सचिब प्रमोद सिंजापती, कोषाध्यक्ष श्रवण मगर, सदस्य शनी शाक्य, सदस्य सुधन पाण्डे, सदस्य जानुका सुबेदी, लेखा समिति संयोजक श्रद्धा मगर, लेखा समिति सदस्य दिनेश राज सिग्देल, लेखा समिति सदस्य देवका पोखरेल लाई जिम्मेवारी तोकेका थियौं ।

संचालक समितिले मलाई प्रबन्धकको रुपमा जिम्मेवारी दिई सहकारी संस्था संचालन गर्दै आएका थियौ । २०७१ साल मै म प्रबन्धक भई सहकारी संचालन भई रहेकोमा मलाई पनि सेयर सदस्यता दिने भन्ने सल्लाह भए पछी मैले त्यसपछी मैले ग्लोबल आइएमई बैंक सात दोवाटो शाखाबाट करिब २० लाख रुपैयाँ जति ऋण निकालेर सहकारी सेयर लगानी गरेको थिए ।

सहकारीका अध्यक्ष रबिन्द्र थापाले मलाई मौखिक रुपमा संस्था चलाउन भनेका थिए । थापासँग सहकारीको बारेमा कुराकानी हुने गरेको थिए । सहकारी राम्रैसँग चलि रहेकोमा २०७६ साल को कोरोनाको महामारी पश्चात लगानी गरेको रकम नउठेपछी म एक्लै भएपनि ऋण सापटी गरी सहकारीको प्रबन्धक भई काम काज गर्दै आईरहेको थिए ।

मैले थापाको निर्देशन बमोजिम कार्य गर्दै आईरहेको थिए । कर्मचारीको नियुक्ति, परिचय पत्रहरु दिने काम मैले गरेको थिए भने अफिसको घर भाडा लगायतको अन्य आर्थिक कारोवारहरु मैले नै कर्मचारी मार्फत गराउने गरेको थिए ।

सहकारी घाटामा जान थालेपछी मैले पटक पटक साथी संगतीलाई सापटी रकम मागी सहकारी संस्था चलाउनुका साथै २०७४ साल तिर सेन्चुरी बैंकबाट १८÷१९ लाख र २०७८ साल तिर ग्लोबल आईएमई बैंक सातदोबाटो शाखाबाट १० लाख रुपैयाँ ऋण निकाली सहकारी संस्था संचालन गर्दै आईरहेको थिए ।

सहकारी संचालन गर्ने क्रममा मैले थापासँग समेत केही पैसा सापटी लिएको थिए । त्यो संस्थाको कारोबार मिलाउनमा नै प्रयोग गर्ने गरेको थिए । थापाले कहिले कही पैसा सापटी दिए वापत ब्याज समेत लिने गरेका थिए ।

सहकारीको बैंक खाता मेरो दस्तखतबाट चल्ल मिल्ने भनि संचालक समिति निर्णय गरी मैले नै सहकारी संस्थाको कारोवार मिलाउने क्रममा बचतकर्ताहरुलाई पछी बैंक खाताबाट बचत गरेको रकम भुक्तानी लिनु भनि नमस्ते वचत तथा ऋण सहकारी संस्थाको नाममा तत्कालिन एनसीसी बैंकको तिनकुने शाखामा रहेकोे चेकहरु समेत दिने गरेको थिए ।

बचतकर्ताहरुलाई मैले मेरो व्यक्तिगत बैंक खाताको चेकहरु दिन खोज्दा निजहरुले बिश्वास नगरेका कारण मैले नमस्ते सहकारी संस्थाको नामको चेक दिएको थिए । त्यसपछी मैले थापालाई आफुले नमस्ते बचत तथा ऋण सहाकरी संस्था लि. लाई के कसरी चलाउने, गाह्रो भयो भनि टेलिफोनबाट जानकारी गराउनुको साथै कार्यालयमा मेरो नामको राजिनामा पत्र लेखी कार्यालय मै छोड्नुका साथै थापालाई समेत एक प्रति दिई रोजगारको लागी कतार तर्फ गएको हुँ ।

पछी म समेतको नाममा ठगी गरेको भनि जाहेरी दरखास्त पर्न आएकोमा ईन्टरपोल मार्फत पक्राउ पर्न आएको हुँ । मैले मिसिल संलग्न जाहेरी दरखास्तमा उल्लेखित रकम ठगी गरेको होईन । वचतकर्ताहरुले जम्मा गरेको रकमको केही रकम ऋण लगानी गरेकोमा असुली भएको छैन। केही रकम कार्यालय प्रयोजन, कर्माचरीको तलब भत्ता, घर भाडा लगायतमा खर्च भएको होला ।

तारा मगरलाई मैले क्यासियरको रुपमा नियुक्त गरे पनि निजले एकाउण्टेण्टको समेत जिम्मेवारी सम्हालेकी थिईन् । निजले दैनिक जम्मा हुन आएको रकम बारे मलाई मेसेजमा जानकारी गराउने गरेकी थिइन ।

निजले मलाई दैनिक वचत रकम बारेमा जानकारी गराए पश्चात मैले को कसको के कति वचत रकम फिर्ता दिने भनि भने बमोजिम तारा मगरले रकम फिर्ता दिने गरेकी थिइन । रहेको रकम मैले बैंक कारोवार गर्न सजिलो हुन्छ भनि मेरो नाममा

तिनकुने काठमाण्डौमा शाखा रहेको ग्लोबल आइएमइ बैंकको खातामा जम्मा गर्न लगाउने गरेको थिए । मैले तारा मगरलाई मेरो नाममा रहेको नबिल बैंकको काँडाघारी शाखा, नबिल बैंकको बानेश्वर शाखा मार्फत पैसा जम्मा गर्न लगाउने गरेको थिए ।
सहकारीको कर्मचारी तारा देबी मगर, बलराम कुमार सिंह, अस्मिता थापा मगर, गोकर्ण बहादुर बम, बिजय रम्तेल, दुर्गा फुयाल, बसन्त कार्की, बिशाल दाहाल, पबित्रा सिंजापति के.सी. ले मेरो व्यक्तिगत रकम तथा नमस्ते बचत तथा ऋण सहकारी संस्थाकोको रकम मेरो नाममा रहेको प्राईम बैंक लि., ग्लोबल आई एम ई बैंकको खातामा जम्मा गरेका हुन् । बेलाबखतमा समय अभावको कारण राष्ट्रिय सहकारी बैंकसम्म पुग्न नसकिने भएकाले नजिकमा रहेको प्राईम बैंक, ग्लोबल आईएमई बैंकमा रहेको मेरो नामको खातामा रकम जम्मा गर्न लगाएको हुँ ।


क्लिकमान्डु