सांसद्सँग अध्यक्षको गुनासो: बैंकिङ क्षेत्रमा बढ्दो आक्रमणले ८६ हजार कर्मचारीले कसरी काम गर्ने ?



काठमाडौंं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले बैंकहरु राष्ट्र बैंकको सुक्ष्म निगरानीमा रहेका काम गर्ने र गरिरहेको बताएका छन् ।

बैंकले गर्ने हरेक काम राष्ट्र बैंंकलाई दैनिक रुपमा जानकारी गराउने गरेको र त्यही अनुसार नै राष्ट्र बैंकले नियमन गर्ने गरेको केसीले अर्थ समितिले आइतबार आयोजना गरेको छलफलमा बताए ।

‘हाम्रो नियामक निकाय नेपाल राष्ट्र बैंक हो’ उनले भने, ‘तर, पछिल्लो समय राष्ट्र बैंकलाई जानकारी नदिइ कर्मचारी पक्राउ हुँदा सबै त्रसित भएका छन्, काम गर्न डराएका छन् ।’

पछिल्लो समय बैंकिङ क्षेत्रमा नियामक निकायभन्दा पनि बाहिर विभिन्न क्षेत्रबाट हुने आक्रमणका कारण काम गर्न समस्या हुँदै गएको उनले बताए ।

यसकासाथै, अहिले केही समूहले सडकबाट कर्जा तिर्नु पर्दैन भन्दा पनि बैंकलाई समस्या परेको बताए ।

‘बैंकसँग ५ करोड २५ लाख खाता रहेको छ । पैसा तिर्नु पर्दैन भन्दा खातामा रकम जम्मा गर्ने निक्षेपकर्तालाई सबैलाई समस्या पर्छ ।’ उनले भने, ‘लगानीकर्तादेखि निक्षेपकर्तासम्मलाई यसबाट असर पर्दा प्रतिफल घट्छ ।’

बैंकहरुले निक्षेपकर्तालाई लगातार ब्याज दिइरहेका कारण ऋणीले बैंकलाई तिर्दिन भन्न नमिल्ने पनि उनले बताए ।
बैंकिङ क्षेत्रलाई यसरी निरन्तर प्रहार गर्ने हो भने अर्थतन्त्रमा समेत असर पर्ने पनि केसीले भनाइ थियो ।

‘बैंकिङ सिस्टममा नै आक्रमण हुने हो भने लगानी सम्मेलनबाट अपेक्षाअनुसार लगानी भित्रन सक्दैन,’ उनले भने, ‘यस्ता आक्रमण रोक्न सबैले पहल गर्नुपर्छ ।’

आर्थिक उन्नतीका लागि यस्ता आक्रमणले ठूलो असर गर्ने भन्दै उनले लगानी भित्र्याउने हो भने पहिलो ढोका नै बैंक भएका कारण बैंकमा समस्या भयो भने त्यसको असर ठूलै हुने बताए ।

अहिले बैंकहरुले विदेशबाट पैसा ल्याएर लगानी गरेको स्मरण गराउँदै केसीले लगानी भित्र्ने वातावरण बनाउने हो भने अहिलेको आक्रमण रोक्नुपर्ने तर्क गरे ।

पछिल्लो समय विभिन्न समूहबाट बैंकिङ क्षेत्रमा आक्रमण हुने गरेको र त्यसको असरले अहिले कर्जा उठाउन समस्या भएको पनि उनले बताए ।

‘बैंकका कर्मचारीमाथि विभिन्न बाहनामा आक्रमण भइरहेको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथी कुटपिट भएको छ,’ उनले भने, ‘यस्ता घटना बढे नेपालमा काम गर्न सकिँदैन भन्दै काम गर्नेको मनोबल गिर्दै जान्छ । विदेशबाट आउने लगानी पनि कम हुन्छ ।’

छलफलमा केसीले विगत ५ दिनदेखि एक बैंकका पूर्व सीईओ र अहिलेका कर्मचारीसहित १० जना बिना कारण प्रहरीको थुनामा रहेको उनको गुनासो छ । ‘गलत काम गरेको छ भने कारबाही हुनुपर्छ,’ उनले भने, ‘तर, बिना कारण कोही पनि सजायको भागीदार हुनुहुँदैन ।’

पछिल्लो घटनाले बैंकिङ क्षेत्रमा भएका ८६ हजार कर्मचारी आतंकित भएको उनले बताए ।

‘अहिले बैंकका कर्मचारीहरु ऋणको फाइलमा हस्ताक्षर गर्न डराउन थालेका छन्,’ उनले भने, ‘चार वर्षअघि ऋण दिँदा सबै राम्रो भएको कुनै कम्पनीको वित्तीय अवस्था अहिले बिग्रेको पनि हुनसक्छ । त्यो बेला जग्गाको भाउ जे थियो, आज धेरै घटेको छ। जग्गाको मूल्य कम भयो भनेर आरोप लगाएर थुन्ने काम भएको छ ।’

‘यदि यस्तो हो भने कसले काम गर्छ,’ उनले प्रश्न गरे, ‘कर्मचारीमा यसले निकै त्रास सृजना गरेको छ ।’

पछिल्ला घटनाक्रमले बैंकमा कर्मचारीले काम गर्ने अवस्था नरहेको केसीले बुझाइ छ ।

यसरी जाने हो भने बैंकिङ क्षेत्र अघि बढ्न नसक्ने भन्दै उनले अहिले बैंकरमाथी ठूलो अन्याय भएको र यो समस्या तत्काल समाधान गर्न सबैलाई आग्रह गरे ।

बैकिङ क्षेत्रमा आक्रमण हुँदा अर्थतन्त्रमा यो क्षेत्रले दिएको योगदानको अवमुल्यन भएको तथा यस्ता घटनाले कर्मचारीको मनोबल पनि कमजोर हुँदै गएको केसीको दाबी छ ।

‘बैंकले ठूलो आयोजनामा गरेको लगानीका कारण आयात घटाउन सहयोग गरेको छ,’ उनले भने, ‘नेपाल सिमेन्टमा आत्मनिर्भर बनेको छ । त्यसमा पनि बैंकहरुको नै लगानी रहेको छ । लगानी बढेर उत्पादन बढ्दा आयात रोकिएको छ र निर्यात हुन थालेको छ ।’

बैंकर्स संघका अध्यक्ष केसीले बैंकहरुले धेरै नाफा कमाए भन्ने भाष्यको पनि प्रतिवाद गरे । ‘बैंकहरुले धेरै नाफा कमाए भनेर आरोप लाग्ने गरेको भएपनि अहिले बैंकहरुको औषत प्रतिफाल ९ प्रतिशतको हाराहारीमा रहेको छ,’ केसीले भने ।

केसीले बैंकिङ क्षेत्रबाट अहिले उर्जा क्षेत्रमा ३२२ अर्ब भन्दा बढी लगानी गरेको स्मरण गर्दै यसले नै निजी क्षेत्रले उर्जा उत्पादन बढाउन सहयोग पुगेको उदाहरण पनि दिए ।

छलफलमा केसीले बैंकहरुलाई जग्गाको हदबन्दी २५ रोपनी कायम गर्दा समस्या परेको बताए ।

पछिल्लो समय जग्गाको भाउ घटेका कारण हाल धितो लिलाम हु्न नसकेर बैंकहरुसँग गैर बैंकिंग सम्पत्ति थुप्रिएका कारण जग्गाको हदबन्दी बढाउनु पर्ने बैंकरहरुको माग छ ।


क्लिकमान्डु