३ अर्बमा बन्दै बबई सिँचाइ आयोजनाको पश्चिम मूल नहर



काठमाडौं । लुम्बिनी प्रदेशको बर्दियामा रहेको बबई सिँचाइ आयोजनाको पश्चिम मूल नहर ३ अर्ब रुपैयाँको लागतमा निर्माण हुने भएको छ ।

उर्जा तथा सिँचाइ मन्त्रालयको जलस्रोत तथा सिँचाइ विभागको बबई सिँचाइ आयोजनाले यो नहरको निर्माणका लागि प्रस्ताव गरेको हो । नहर निर्माणका लागि स्वीकृति लिन आयोजनाको वतावरणीय मूल्यांकन प्रतिवेदन राय सुझावका लागि सार्वजनिक भएको छ ।

प्रतिवेदनकाअनुसार यो आयोजना बर्दियाको गुलरिया नगरपालिकाको वडा नम्बर १ देखि १० सम्म पर्छ । आयोजनाको पानीको स्रोत बबई नदी रहेको र कमान्ड क्षेत्र ६.१०७ हेक्टर तथा मूल नहरको डिस्चार्ज क्षमता ६.६५४ घन मिटर प्रति सेकेन्ड रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गुलरिया मूलनहर (पश्चिम मूलनहर) को लम्बाई १३.२ किमि हुने बताइएको छ भने यसको बेडको चौडाई १.२ मिटरदेखि ४ मिटरसम्म हुनेछ ।

पश्चिम मूल नहरले हेड रेगुलेटरबाट नदीमा सिधै पानी पुर्याउने र शाखा नहरहरुलाई पानी आपूर्ति गर्न फिडर नहरका रुपमा काम गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पश्चिम मूल नहरलाई समग्र रुपमा बबई सिँचाइ प्रणालीका लागि प्राथमिक नहर मानिएको छ । शाखा नहर भने पश्चिम मुल नहरबाट निस्किने र यसले उपशाखा नहर वा प्रशाखा नहरहरुको लागि फिडर नहरका रुपमा काम गर्नेछ ।

पहिलो चरणको नहर प्रणालीले ३ वटा शाखा नहरुहरु र तीन वटा प्रत्यक्ष प्रशाखा नहरहरु समेट्नेछ, जसको कमान्ड क्षेत्र २०६१ हेक्टर रहेको छ । त्यस्तै, दोस्रो चरणको नहर प्रणालीले भने ५ वटा शाखा नहरहरु समेटने र दुई पटा प्रत्यक्ष प्रशाखा नहरहरु र फिल्ड अफटेकहरु समेटनेछ । यसको कमान्ड क्षेत्र भने ३ हजार १ हेक्टर रहेको छ ।

तेस्रो चरणको नहर प्रणालीले २ वछा शाखा नहरहरु र ६ वटा प्रत्यक्ष प्रशाखा नहर र फिल्ड अफटेकहरु समेट्ने तथा यसको कमान्ड क्षेत्र १ हजार ४५ हेक्टर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजनाको मुख्य नहरको लम्बाइृ १३.२ किमि रहेकोमा शाखा नहरहरुमा बलेपुर्वा शाखा नहर १.५ किमि, चौबुर्जि शाखा नहर ३.१ किमि, पदमपुर शाखा नहर ४.९ किमि, तुलापुर शाखा नहर १ किमि, धुम्नाहा शाखा नहर ४.४५ किमि, हसनपुर शाखा नहर २.५ किमि, कालाबन्जारा शाखा नहर ०.७५ किमि, सोनापुर शाखा नहर ३.५ किमि, सुहेलवा शाखा नहर ४.१ किमि र थपुवा शाखा नहर ५.७५ किमि लम्बाईका रहेका छन् । योसँगै १४९ वटा प्रशाखा नहर रहने र फिल्ड आउटलेट ५४९ वटा रहने छन् ।

आयोजनाअन्तर्गत बक्स कल्भर्ट १९३ वटा, भिलेज रोड ब्रिज २४ वटा र ड्रेन अन्डरपास ३ वटा रहनेछन् ।

आयोजनाबाट १२ हजार ४३८ घरपरिवार र ५७ हजार ३१४ जनाको जनसंख्या लाभान्वित हुने ईआईए प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनकाअनुसार प्रस्तावित आयोजनाको कमान्ड क्षेत्रमा रहेका कृषकहरु अहिले आकाशे पानीको भरमा खेती गर्दै आइरहेको र केहीले भूमिगत पानीको प्रयोग गरिरहेकाले आयोजनाबाट किसानलाई फाइदा पुग्ने र जीविकोपार्जनका लागि नयाा बाटो खुल्ने ओचित्यका साथ आयोजना निर्माण गर्न लागिएको हो ।

प्रस्तावित आयोजनाका लागि कुल ३८०.३९ हेक्टर जग्गा आवश्यक पर्नेमा ३७४.४८ हेक्टर जग्गा स्थायी र ५.९१ अस्थायी रुपमा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आवश्यक स्थायी जग्गामध्ये ०.२१ हेक्टर सामुदायिक वन, ३६९.७५ हेक्टर खेतीयोग्य निजी जग्गा, १.७५ निजी वनको जग्गा र २.७५ हेक्टर बस्ती भएको जग्गामा रहेको छ । निजी जग्गामध्ये १४.३ हेक्टर कृष्णसार संरक्षण क्षेत्रभित्रको निजी खेतीयोग्य जग्गा रहेको छ ।


क्लिकमान्डु