कर्णाली प्रदेशमा महिला जनशक्ति धेरै, गण्डकी प्रदेशमा उद्यमी बढी



काठमाडौं । नेपालको व्यापारिक प्रतिष्ठानमा ३५.७३ प्रतिशत महिलाले कार्यरत रहेको पाइएको छ । थोक तथा खुद्रा व्यवसाय गर्ने तथा सवारी साधान मर्मत गर्ने देशभर रहेका ४ लाख ९८ हजार ५८ व्यापारिक प्रतिष्ठानमा ११ लाख ३० हजार ६४५ जनशक्ति संलग्न छन् ।

त्यसमध्ये महिलाको संख्या ४ लाख ३ हजार ९७९ भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । देशभर रहेका प्रतिष्ठानमा ३५.७३ प्रतिशत महिला संलग्न हुँदा कर्णाली प्रदेशमा रहेका प्रतिष्ठानमा भने कुल जनशक्तिको ४५.९ प्रतिशत महिला छन् ।

तथ्यांक कार्यालयअनुसार कर्णाली प्रदेशमा कार्यरत ४६ हजार ६५२ जनशक्ति मध्ये महिलाको संख्या २१ हजार ४१३ छ ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गण्डकी प्रदेशमा रहेका कुल जनशक्ति मध्ये महिलाको संख्या ४४.०८ प्रतिशत छ ।
यस्तै, कोशी प्रदेशमा ४०.२६ प्रतिशत, बागमती प्रदेशमा ३८.१४ प्रतिशत सुदुरपश्चिम प्रदेशमा ३२.४७ प्रतिशत तथा लुम्बिनी प्रदेशमा ३१.०५ प्रतिशत महिला जनशक्ति कार्यरत छन् ।

मधेश प्रदेशमा भने कार्यरस्थलमा महिला सहभागिता न्यून छ । मधेशमा पुरुष जनशक्ति ७७ प्रतिशत हुँदा महिलाको संख्या २३ प्रतिशत छ ।

कर्णाली प्रदेशमा काम गर्ने महिला अन्य प्रदेशको तुलनामा बढी हुँदा गण्डकी प्रदेशमा महिला उद्यमीको संख्या अन्य प्रदेश भन्दा बढी पाइएको छ ।

कार्यालयका अनुसार नेपालमा रहेको कुल ४ लाख ९८ हजार ५८ व्यवसायीक प्रतिष्ठान मध्ये महिलाको नाममा रहेका व्यापारिक प्रतिष्ठान २५.८ प्रतिशत छन् । बाकीं रहेका ७४.२ प्रतिशत व्यापारिक प्रतिष्ठानको स्वामित्व पुरुषसँग छ ।

कार्यालयले गरेको अध्ययनमा गण्डकी प्रदेशमा सञ्चालनमा रहेका ५० हजार ५७५ व्यवसायीक प्रतिष्ठान मध्ये ३५.१ प्रतिशत संस्थाको स्वामित्व महिलासँग छ ।

कोशी प्रदेशका ३१.७ प्रतिशत प्रष्ठिान, बागमति प्रदेशका ३१.३ प्रतिशत प्रतिष्ठान, कर्णाली प्रदेशका २४.८ प्रतिशत प्रतिष्ठान, लुम्बिनी प्रदेशका २१.५ प्रतिशत, सुदुरपश्चिम प्रदेशका १८.५ प्रतिशत प्रतिष्ठान महिलाको नाममा छन् । तर, मधेश प्रदेशमा दर्ता रहेका १०.८ प्रतिशत प्रतिष्ठान मात्रै महिनाको नाममा रहेको कार्यालयले जनाएको छ ।


क्लिकमान्डु