कृषि उद्यम केन्द्रको छैठौं बैठक: नियम संशोधन गर्न सुझाव



काठमाडौं । कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरण गर्नका लागि सरकारले आवश्यक नीति नियम संशोधन गर्नुपर्ने सुझाव दिएका छन् ।

उद्योग बाणिज्य महासंघमातहत रहेको केन्द्रको सोमबार सम्पनन भएको सञ्चालक समितिको छैठौं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

बस्नेतले कृषिसम्बन्धी विद्यमान नीति संशोधन र समय सुहाउँदो नीति नबनाउँदासम्म कृषि क्षेत्रको व्यवसायिकरण र आधुनिकीकरण नहुने बताए । उनले दाताहरुको सहकार्यमा आयात दर प्रतिस्थापन गर्न केन्द्र इच्छुक रहेको बताउदै विदेशबाट आयातितभन्दा स्थानीय उत्पादनलाई ब्रान्डिग गर्नुपर्ने जानकारी दिए ।

बस्नेतले स्थानीय उत्पादनलाई प्रोत्साहन हुने उद्देश्यले निर्माण भएका कोल्ड स्टोरहरुलाई पूर्ण रुपमा सञ्चालन गर्नका लागि कृषिजन्य बस्तुहरु पर्याप्त परिमाणमा भण्डारण गर्नुपर्ने आवश्यकता औल्याए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधी डा प्रधुम्नराज पाण्डेले कृषि उद्यम केन्द्र नीजि क्षेत्रको सशक्त निकाय भएकाले कृषि क्षेत्रको विकासको लागी प्रभावकारी भूमिका खेलीरहेको बताए । उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालयका प्रतिनिधी चित्राकुमारी कठायतले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको जानकारी दिएकी थिइन । उनले मन्त्रालयले हाल स्टार्टअप उद्यम कर्जाका लागी आव्हान गरिएको प्रस्तावको बारेमा सरोकारवालाहरुलाई जानकारी गराउन सकेको खण्डमा सही प्रस्ताव प्राप्त गर्न सहयोग पुग्ने सुझाव दिएकी थिइन।

बैठकले कृषि व्यवसायसँग सरोकार रहेका बिभिन्न नीतिगत विषयहरु बिधुत महशुलमा अनुदान, भन्सार छुट, कर, बैकिङ्ग, विमा, कोल्ड स्टोर आदिको विषयमा गहन रुपमा छलफल गरेको थियो । कृषि उद्यम केन्द्रका सहसभापति राज कुमार कार्कीले अन्तरमन्त्रालय बीच समन्वय र सहकार्य नभएका कारण व्यवसायीहरुले अनावश्यक झन्झट खेप्नु परेका कारण उद्योग लगाउने उद्योगी निरास भएर बिदेश पलायन हुने जोखिम बढेको जानकारी दिए ।

कृषि उद्यम केन्द्रले गठन गरेको विभिन्न ६ वटा उपसमितिका संयोजकहरुले आ–आफ्नो प्रगति विवरण सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रका संचालक समितिका सदस्यहरु प्रल्हाद दाहाल, डा. रत्न कार्की, सुनिता न्हेम्हाफूकि, मनोज चापागाई, अर्जुन श्रेष्ठ, झलक श्रेष्ठ, आशिष शर्मा, कृष्णभक्त श्रेष्ठ, खिमबहादुर हमाललगायतको उपस्थिति थियो ।


क्लिकमान्डु