सहकारी संस्थामा समस्या देखिनुका कारणहरु



सहकारीको शाब्दिक अर्थ भनेको सहकार्य, सहअस्तित्व र समानकार्य या सँगसँगै गरिने कामलाई बुझाउँछ । आफ्ना आर्थिक सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउनको लागि गरिने कार्यलाई सहकारी भन्ने गरिन्छ ।

सहकारीले स–सानो पुँजीलाई चलायमान बनाउने, साना कृषक, ब्यापारलाई सघाउ पुर्‍याउने र रोजगारीको अवसर दिने कार्यको लागि तल्लिन होस् भन्ने उद्देश्य रहेको पाइन्छ ।

सहकारी ऐन २०४८ को प्रस्तावना ‘देशका कृषक, कालीगढ, कम पुँजीवाल र निम्न आयवर्ग, श्रमिक, भूमिहीन तथा वेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकासको लागि पारस्परिक सहयोग र सहकारीताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा संघहरुको गठन र संचालन सम्वन्धी ब्यवस्था गर्न बाञ्छनीय भएकोले’ भन्ने रहेको छ ।

नेपालको वर्तमान संविधानको धारा ५१ मा राज्यले लिने नीति अन्तर्गत घ (१) मा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने र यसैको (३) मा सहकारी क्षेत्रलाई प्रवर्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने नीति लिएको छ । संविधानको सोही नीतिअनुसार सहकारीका नियमावली र ऐन बनेका छन् ।

ऐन बन्नु मात्र ठूलो कुरा भएन, ऐनले आफैंले काम गर्ने होइन । ऐनअनुसार संस्था चलाउनु पर्ने हुन्छ । पछिल्लो अवस्थामा सहकारीहरु नामअनुसार काम गर्न नसकेको र ऐन नियमको ख्याल नगरिएकोले आज समस्या देखिएको छ । सहकारीको ऐन २०४८ को प्रस्तावनाअनुसार सहकारी निम्नदेखि मध्येम वर्गलाई आर्थिक सामाजिक र सांस्कृतिक रुपमा सवल बनाउन आएको एक सुन्दर योजना हो । तर जसरी चल्नु पर्ने हो, जुन नियम कानुनअनुसार चन्नु पर्ने हो, लगानीको क्षेत्र विस्तार गर्नु पर्ने हो त्यो हुन नसक्नु नै आजको दुर्भाग्य हो ।

सहकारीमा समस्या आउनुका कारणहरु:

१) घर जग्गाको कारोबार सुस्त हुनु

सहकारीको लगानी प्रायजसो घर जग्गामा रहेको छ । सहकारीहरु कसरी छिटो पैसा कमाउने, छिटो धनी हुने भन्ने कुरामा बढी कुदेको पाइन्छ । सहकारीहरुले ठूला व्यवसायिक प्लटिङ्ग गर्ने, घर जग्गामा लगानी गर्ने गरेको पाइन्छ । अहिले देशको अर्थतन्त्रमा आएको सुस्ताले चाहेको बेलामा जग्गा बिक्री हुँदैन । जग्गा बिक्री नगर्दा बचतकर्ताले रकम फिर्ता गर्न सकिँदैन ।

आज जमिन बिक्न छोड्यो, घर जग्गा लिलाम हुन सक्दैन, पहिला तिरेको रकमभन्दा धेरै कममा पनि जग्गा बिक्री हुँदैन, ब्याज भने बढेको बढ्यैछ । यस कारणले अहिले धेरै सहकारीको टाउँको दुखाइ भएको छ । घर जग्गा चलायमान नहुनजेलसम्म सहकारीको लगानी उठ्न सक्ने अवस्था छैन र झन समस्या उत्पन्न नहोला भन्न सकिँदैन ।

२) नियामक निकायको अनुगमनमा उदासिनता

नियामक निकायले गर्नु पर्ने कामकारबाहीमा उदासिनता देखाउँदा पछिल्लो समय सहकारीहरुमा समस्या चुलिएको हो । नियामक निकायले सहकारीको सामान्य विवरणहरु दिन सक्दैनन् । बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने संस्था नेपाल राष्ट्र बैंक जस्तो नियामक निकाय सहकारी संस्थाहरुको पनि हुन पर्छ । सहकारीले के गर्दैछन्, कसरी काम गरेका छन् भन्ने कुराको हेक्का नराख्ने नियामक निकाय भएपछि मियो बिनाको दाइँ हुनु स्वभाविक हो ।

३) सहकारी संचालकहरुको दक्षता र दीर्घकालीन सोचमा कमी

सहकारी संस्थामा प्राय जसो संचालकहरु दक्ष नहुनु, सहकारीको बारेमा बुझ्न नसक्नु, बुझ्न सक्नेले बुझ्न नखोज्नुको कारण आजको अवस्था आएको हो । कुनै पनि संस्था चलाउन दीर्घकालीन सोचको विकास हुनु पर्छ । हामी क्षणीक सोचमा तल्लिन भएका छौं । लोन स्वीकृत गर्दा कुन स्थानमा कसरी र कुनै दैविक प्रकोप हुँदा पनि त्यसमा सकारात्मक अवस्थामा ल्याउने भिजन पहिला नै हुन पर्छ । संस्थामा रहेको रकम साना किसान एवं ब्यापारीको रकम हो, जो रकम केही भए त्यो परिवार कसरी बाच्न सक्छ भन्ने मानवीयता रहनु पर्छ ।

४) सञ्चालक समिति एवं ब्यवस्थापनका ब्यक्तिहरुमा स्वार्थ हावी

समस्यामा परेका संस्थाहरुको अध्ययनमा संचालक समिति एवं ब्यवस्थापनका मानिसहरुको स्वार्थ हावी भएको देखिन्छ । संचालकले भनेको स्थानमा सहकारीको रकम लगानी गर्ने, नातागोताको लागि मरिमेटी ऋण प्रबाह गर्ने, आफ्नो अनुकुलअनुसार नियामक कानुनभन्दा बाहिर लगानी गर्ने, दीर्घकालीन सोचलाई बन्धक राख्ने जस्ता कार्य गरेकाले आजको अवस्था सृजना भएको पाइन्छ ।

५) सहकारीको वित्तीय स्थिति नियमित रुपमा परीक्षण नहुनु

सहकारीको लगानी क्षेत्र पहिनान नहुनु, ब्यवस्थित रुपमा चलायमान हुनका लागि कार्यविधि नहुनु, हिजोको अवस्था र आजको अवस्था बारे समीक्षा नहुनु, हिजो निक्षेप बढेको थियो आज घट्नुको कारण पहिचान नगर्नु, पहिलाको वर्षभन्दा अहिले संस्थाको अवस्था चुस्तदुरुस्त बनाउनको लागि के गर्नु पर्छ भनी त्यसको विस्तृत अध्ययन गरी वित्तीय स्थिति नियमित रुपमा परीक्षण नहुनु अहिले सहकारीमा देखिएको समस्याको अर्को कारण हो ।

६) सहकारीको सुशासन र आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुनु

कुनै पनि संस्थामा सुशासन भन्ने कुरा अति नै आवश्यक छ । जहाँ सुशासन हुँदैन त्यहाँ कुनै पनि संस्था तन्दुरुस्त हुँदैन । सुशासन कमजोर भएको स्थानमा आन्तरिक नियन्त्रण पनि कमजोर हुन्छ । यसले भनेको उसले किन मान्नु भन्नेदेखि अन्य विभिन्न समस्या हुन्छ । सुशासन भएको संस्था आफ्नो भोलिको बाटो र सुधारका लागि तल्लिन हुन्छ ।

७) दक्ष कर्मचारी अभाव

प्राय सहकारी संस्थामा कर्मचारी दक्ष छैनन् । दक्ष नहुनुको दोष कर्मचारीको होइन । सहकारीले कस्तो कर्मचारी लिने र कस्तोलाई निस्कृय गर्ने भन्ने ब्यवस्था अवलम्बन गरेको छैन । कर्मचारीलाई तालिमको व्यवस्था सहकारीहरुले गर्न सकेका छैनन् । नातावादले चलेका संस्था पनि धेरै छन् । यहि नाता र कृपावादको बीचमा रहेको संस्था जहिले पनि कुपोषणको शिकार हुनेछन्।

८) तालिमको ब्यवस्थापनमा ध्यान नदिनु

कुनै पनि संस्था चलाउनको लागि दक्ष कर्मचारीको आवश्यकता पर्छ । दक्ष हुनको लागि समयानुकुल कर्मचारीला फरम्याट गर्नु पर्छ भन्नुको अर्थ तालिम दिनु पर्छ भन्ने कुरा हो । तालिम छैन, विषयपरक ज्ञान छैन, संस्थाको बारेमा बुझेको छैन भने त्यही अनुसार संस्था हिँड्ने र चल्ने हो । त्यसैले समयअनुसार कर्मचारीलाई तालिमको ब्यवस्था गर्नु उपयुक्त हुन्छ ।

९) बिनाधितो कर्जा प्रबाह गर्नु

बैंक तथा वित्तीय संस्थामा पहुँच नहुनेले सहकारी संस्थालाई अंगालेका हुन्छन् । यहाँ धितोबिना पनि ऋण पाउन सकिन्छ । धितो राखेर दिएको ऋण त उठ्न गारो हुन्छ भने धितोबिनाको ऋण उठ्न सजिलो छैन । यसो भन्दै गर्दा सबै ऋणी नराम्रा छन् भनेको होइन । यहाँ इमान्दारीताको खडेरी परेको छैन तर पनि सबै इमान्दार छन् भन्ने पनि होइन ।

नेपालमा ३५ हजार सहकारी रहेका छन् भन्ने सुनिन्छ । आजको अवस्थामा सरकारले सहकारीको बारेमा गम्भीर भएर सोच्न पर्ने अवस्था छ । सरकारले यसलाई बेलैमा गम्भीर रुपमा नलिए भोलिको दिन समस्या थपिने छ । सबै सहकारी संस्था नराम्रा छैनन् । नराम्राले बदमासी गरेकाले आज राम्रा सहकारी पनि समस्यामा परिरहेका छन् । पछिल्लो समय केही सहकारीमा देखिएको समस्या, बचतकर्तामाथि ति सहकारीले गरेको ठगी र भाग्ने क्रमले राम्रोसँग सञ्चालनमा रहेका सहकारीबाट पनि बचतकर्ताहरुले भटाभट बचत निकाल्न थालेका छन् ।

बचतकर्ताले यसरी विश्वासिलो संस्थामा पनि रकम झिक्न थालेपछि राम्रो अवस्थामा सञ्चालनमा रहेकाहरु पनि समस्यामा आउनु स्वभाविक हो । ति संस्थाले विभिन्न ऋणीहरुमाथि गरेको लगानीको रकम उठेको हुँदैन तर बचतकर्ताहरु सहकारीमा जानसाथ बचत फिर्ता नभएको अवस्थामा यो सहकारी पनि डुब्न लाग्यो भनि हल्लामा लाग्छन् । जसले गर्दा एकै पटक बचतकर्ताहरु सहकारीमा रकम फिर्ता लिन जाँदा समस्या उत्पन्न हुनेछ ।

समस्यामा नरहेको सहकारीले पनि यो कुरालाई मत्थर बनाउन र हामी डुब्न लागेको छैन भनि विश्वास दिलाउन ठूलो प्रयास गर्नुपर्छ । होइन भने स्थिति विकराल नबन्ला भन्न सकिँदैन ।

निष्कर्षमा भन्नु पर्दा सरकारले समयमा नै यसको निराकरण गर्न जरुरी छ । आजको यो अवस्थालाई गम्भीर भएर नसोचे, सरकारले कदम नचाले भयानक दुघर्टना हुन सक्ने छ । यहाँ गरीब दु:खिका रकम डुब्ने छन् । भोलि सहकारी प्रति जनताको विश्वास मर्ने छ । अहिले राम्रा सहकारीले आफ्नो ब्यवस्था जोगाउनको लागि जनतालाई बेलैमा विश्वास दिलाउनु पर्ने छ । ताकि भोलि अरुको देखेर सहकारी ठग रहेछन् भनी लाइन लाग्ने वातावरणलाई रोक्नु पर्छ । अहिले सहकारी सम्वन्धी नियामक निकायहरु सक्रिय हुनु पर्छ । आफ्नो क्षेत्रको अवस्थालाई हेर्न बुझ्न रात दिन काम गर्नु पर्छ । समयमा सबैले आ-आफ्नो क्षेत्रबाट सकारात्मक अवस्थालाई अगाडि बढाउन उपयुक्त हुन्छ ।


क्लिकमान्डु