खाद्य पदार्थ बेच्ने साल्ट टेड्रिङले घर निर्माण गरी सर्वसाधारणलाई बिक्री गर्दै



फ्युचर वर्क्स विल्डिङ्ग सोल्युसन प्राइभेट कम्पनी लिमिटेडले तयार पारेको भवन

काठमाडौं । सर्वसाधारणलाई बजार मूल्यभन्दा केही सस्तोमा दैनिक उपभोग्य बस्तु उपलब्ध गराएर बजार हस्तक्षेप गर्दैआएको साल्ट टेड्रिङ कर्पोरेशनले भवन निर्माण व्यवसायमा पनि हात हालेको छ ।

कर्पोरेशनले नुन, तेल, चामल, चिनी, खाना पकाउने ग्यासलगायतको कारोबारसमेत गर्दैआएको छ ।

उपभोक्ताले उपलब्ध गराउने जग्गामा कर्पोरेशनले भुकम्प प्रतिरोधक घर बनाइदिने योजना सुरु गरेको हो । यो योजना भुकम्पपछि सुरु भएपनि औपचारिक रुपमा भने हालै सुरु गरेको कर्पोरेशनका सहायक कार्यकारी प्रमुख संकेत भट्टराईले जानकारी दिए ।

उनका अनुसार अमेरिकास्थित निर्माणसम्बद्ध कम्पनी पिनाकल एलएलसी र नेपालका नीजि क्षेत्रका उद्यमीहरुसँग व्यवसायिक सहकार्य गरी कर्पोरेशनले फ्युचर वर्क्स विल्डिङ्ग सोल्युसन प्राइभेट कम्पनी लिमिटेड खडा गरेको छ । यहि कम्पनीमार्फत नयाँ प्रविधिमा आधारित भुकम्प प्रतिरोधी घर बनाउने काम सुरु भएको हो । फ्युचर वक्र्स विल्डिङ्ग सोल्युसन प्राइभेटमा कर्पोरेशनको २० प्रतिशत शेयर छ ।

तयार भएका घर कर्पोरेशन अन्तरगतको कम्पनी उपहार हाउजिङ्ग प्राइभेट लिमिटेडले बिक्री र व्यवस्थापन पक्ष हेर्दै आएको छ ।

‘अहिले हामी उपभोक्ताले उपलब्ध गराउने जग्गामा तयार भएको निर्माण सामाग्रीहरु लगेर जोडजाड गरेर घर बनाइदिने काम सुरु गरेका छौं,’ कोइरालाले भने । घर निर्माण गर्न कर्पोरेशनले आवश्यक पर्ने कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्छ ।


यस्तो कच्चा पदार्थको सहयोगमा हेटौडास्थित कारखानामा घरको संरचना तयार गर्ने काम हुन्छ । तयार भएको संरचनालाई गाडीमा राखेर उपलब्ध गराइएको जग्गामा लगेर जडान गरी फिनिसिङ्ग गरी घर तयार गरिन्छ । उनका अनुसार इट्टा, बालुवा, कंक्रिट प्रयोग नगरी यस्तो घर तयार पारिन्छ ।

‘तयार हुने यो घर निक्कै हलुको र भुकम्प प्रतिरोधी छन,’ कोइरालाले भने,‘अहिले केही स्थानमा यस्तो घर बनाइदिन माग आएको छ । माग आएको स्थानमा घर निर्माण गर्ने काम सुरु गरेका छौं ।’

यस्तो घरमा डिपीसीभन्दा पानीको प्रयोग हुँदैन । फाउन्डेसन तयार भएपछि त्यसमा रडको पिलर, लाइट गेज स्टिलको फ्रेम, स्टिल स्ट्रक्चर, प्लाइउड, बोर्ड, प्रि फ्रेव्रीकेटेर, इन्टरलक कंक्रिट टाइल्स, जिप्सम बोर्ड, फाइवर सिमेन्ट बोर्ड प्यानल, सेल्युलर लाइट वेट कंक्रिटलगायतका सामग्रीलाई एक आपसमा जडान गरेर घरको संरचना तयार हुने कोइरालाले भने ।

घरको छत ढलान र नयाँ प्रविधि दुवै उपभोक्ताको रोजाईमा भर पर्ने जानकारी दिदैं उनले रोजाई अनुसार झयाल ढोकाको खापा र फ्रेम पनि काठ वा युपिभिसी राख्न मिल्ने बताए ।

तयार भएको यो घरको अर्को विशेषता एक स्थानबाट अर्को स्थानमा सार्न पनि मिल्छ । कर्पोरेशनका विभागीय प्रमुख ब्रजेश झाका अनुसार अहिले यो कम्पनीमार्फत काठमाडौंको दहचोकमा उक्त प्रविधिको प्रयोग गरेर १० वटा आवाशीय घर निर्माण भएको छ ।

‘केही थप स्थानमा पनि यस्ता आवशीय भवन निर्माण गर्न माग आएको छ,’ झाले भने,‘यो प्रविधिबाट घर बनाउँदा चाँँडै बन्ने भएकाले समयको निक्कै बचत हुन्छ । त्यस्तै आरसीसीको घरको तुलनामा खर्च पनि कम लाग्छ ।’

उनका अनुसार यो प्रविधिमार्फत साढे २ तले घर ४५ दिनभित्रमा नै निर्माण हुन्छ । सामान्यतया यो प्रविधिमार्फत तीन आनामा तयार हुने घरको निर्माण लागत दुई करोड ३० लाख रुपैयाँ पर्ने बताइएको छ ।


क्लिकमान्डु