चीनको बाटो हुँदै पहिलोपटक तेस्रो मुलुकमा निर्यात, १५ लाख रुपैयाँको वाइवाइ जापान पुग्यो



काठमाडौं । नेपालले पहिलो पटक उत्तरी छिमेकी चीनको भूमि प्रयोग गरी नेपाली उत्पादन तेस्रो मुलुकमा निर्यात गरेको छ ।

भन्सार दिवसको अवसर पारेर तातोपानी नाकामार्फत गत शुक्रबार नेपालले चीनको बाटो प्रयोग गरी तेस्रो मुलुक जापानमा नेपाली उत्पादन निर्यात गरेको हो ।

भन्सार कार्यालय तातोपानीका प्रमुख दयानन्द केसीकाअनुसार पहिलो पटक परीक्षणको रुपमा भन्सार दिवसको अवसर पारेर सिजी फुड्स प्राइभेट लिमिटेडले उत्पादन गरेको वाईवाई जिङ्ग चाउचाउ जापान पठाइएको हो ।

‘नेपाल र चीनबीच पारवहन प्रोटोकलमा द्विपक्षीय सम्झौता भएपछि पहिलो पटक चीनको बाटो प्रयोग गरी तेस्रो मुलुकमा नेपाली उत्पादन निर्यात गर्न सफल भएका छौं,’ क्लिकमाण्डुसँग केसीले भने,‘उक्त प्रोटोकलको सम्झौताअनुसार अहिलेसम्म नेपाली उत्पादन चीनको बाटो प्रयोग गरी तेस्रो मुलुकमा निर्यात भएको थिएन । हामीले तातोपानी नाकामार्फत यो नीतिलाई कार्यान्वयनमा ल्याउन सफल भयौं ।’

उनका अनुसार ११ हजार ७ सय ९१ अमेरिकन डलरबराबर (१५ लाख ६८ हजार १ सय १८ नेपाली रुपैयाँ) को २ हजार ४ सय वाईवाईको कार्टुन (७२ हजार चाउचाउको प्याकेट) जापान निर्यात गरिएको हो ।

पहिलो पटक चीनको बाटोमार्फत तेस्रो मुलुकमा भएको यो निर्यात प्रक्रिया सफल भएकाले अब उत्तरी छिमेकी मुलुकमार्फत तेस्रो मुलुकमा नेपाली उत्पादनको निर्यात गर्ने बाटोसमेत खुलेको केसीले जानकारी दिए ।

जापानको थापा इन कर्पोरेशनले उत्तरी सीमा तातोपानी नाकाबाट पहिलो पटक चीनको बाटो हुँदै सामान आयात गरेको हो । चीनको सेन्जेन पोर्ट ट्रान्जिट भएर पहिलोपटक निर्यात सुरु भएको हो ।

नेपाल-चीनबीच २०७६ वैशाख १६ गते पारवहन प्रोटोकलमा हस्ताक्षर भएको थियो । प्रोटोकल सम्झौतामा तत्कालीन समयमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट उनका समकक्षी लि छियाङपेङले हस्ताक्षर गरेका थिए ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्मेलनमा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी चीन पुगेका बेला चिनियाँ राष्ट्रपति सी जिनपिङको उपस्थितमा उक्त प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

यो प्रोटोकल हस्ताक्षरसँगै नेपालले चीनको चारवटा समुन्द्री र तीनवटा सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने सुविधा प्राप्त गरेको थियो । यसपछि तेस्रो मुलुकबाट हुने आयातका लागि भारतीय बन्दरगाहमाथि परनिर्भरता अन्त्यसमेत भएको थियो ।

यो हस्ताक्षरअनुसार नेपालले चीनको भूमि हुँदै जापान, कोरिया लगायतका तेस्रो मुलुकबाट वस्तु आयात गर्न र तेस्रो मुलुकमा बस्तु निर्यात गर्न पारवहन मार्ग खुला भएको थियो ।

प्रोटोकल हस्ताक्षरपछि नेपालले चीनको समुन्द्र मार्गमासमेत पहुँच प्राप्त गरेको थियो । प्रोटोकलअनुसार नेपालले चीनको सबै खुला समुन्द्रिक र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने व्यवस्था भएको छ ।

प्रोटोकलमा नेपालले तियान्जेन, सेनजेन, लियानयुगाङ र झाङजियाङ गरी चार वटा सामुन्द्रिक बन्दरगाह प्रयोग गर्न सक्ने उल्लेख छ । सुख्खा बन्दरगाहतर्फ आन्जाओ, ल्हासा र सिगात्से पनि प्रयोग गर्न सकिनेछ ।

पारवहन ढुवानीका लागि नेपालतर्फ रसुवा, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङचुङगोला प्रयोग सकिनेछ । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म ढुवानीका लागि आउजाउ गर्न सक्ने गरी प्रोटोकलमा हस्ताक्षर भएको थियो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ब्यापार तथा पारवहन सम्झौता भएको थियो । त्यसलाई कार्यान्वयन गर्न प्रोटोकलमा सहमति जुट्न तत्कालीन समयमा दुई वर्षभन्दा बढी समय लागेको थियो ।


क्लिकमान्डु