सबैभन्दा धेरै स्टिल उत्पादन गर्नेमा चीन र भारत, भारतको प्रमुख आयातकर्ता नेपाल



काठमाडौं । विश्वमा स्टिल उत्पादनमा छिमेकी मुलुक भारत र चीन शीर्ष स्थानमा छन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको चीन र पाँचौं ठूलो अर्थतन्त्र भएको भारतले उच्चमात्रामा स्टिल उत्पादन गर्दै आएका छन् ।

वर्ल्ड स्टिल एशोसिएसनको तथ्यांकअनुसार विश्वमा रहेका ७१ वटा देशले कच्चा स्टिल उत्पादन गर्दै आएका छन् । त्यसमध्ये सबैभन्दा बढी उत्पादन गर्नेमा पहिलो चीन रहेको छ भने दोस्रो भारत रहेको छ । सन् २०२३ मा विश्वभर १४ करोड ५५ लाख मेट्रिक टन स्टिल उत्पादन गरेको थियो । सन् २०२२ को तुलनामा ३.३ प्रतिशतले उत्पादन वृद्धि भएको जनाइएको छ ।

एशोसिएसनको तथ्यांकमा सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्ममा विश्वभर १ अर्ब ७१ करोड ५१ लाख मेट्रिक टन कच्चा स्टिल उत्पादन भएको उल्लेख छ । जसमा सन् २०२२ को तुलनामा ०.५ प्रतिशतले उत्पादन वृद्धि भएको छ । विश्वका ७१ वटा देशले कच्चा स्टिल उत्पादनको ९८ प्रतिशत हिस्सा ओगटेको छन् ।

विश्वमा सबैभन्दा बढी स्टिल उत्पादन गरी शीर्ष स्थानमा रहेको चीनले सन् २०२३ को ११ महिनामा ९५ करोड २१ लाख मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन गरेको छ ।

दोस्रो स्थानमा रहेको भारतले सोही अवधिमा १२ करोड ८२ लाख लाख मेट्रिक टन स्टिल उत्पादन गरेको छ । त्यसपछि जापानले सोही अवधिमा ८ करोड मेट्रिक टन, अमेरिकाले ७ करोड ३९ लाख मेट्रिक टन, रसियाले ७ करोड २ लाख मेट्रिक टन, दक्षिण कोरियाले ६ करोड १३ लाख मेट्रिक टन, जर्मनीले ३ करोड २८ लाख मेट्रिक टन, टर्कीले ३ करोड ५ लाख मेट्रिक टन, ब्राजिलले २ करोड ९३ लाख मेट्रिक टन र इरानले २ करोड ८१ लाख मेट्रिक टन स्टिल उत्पादन गरेका छन् ।

त्यसैगरी, स्टिल उत्पादनमा शीर्ष स्थानमा रहेका चीनले नोभेम्बरमा मात्रै ७ करोड ६१ लाख मेट्रिक टन कच्चा स्टिल उत्पादन गरेको छ । जसमा चीनले विश्वको कच्चा स्टिल उत्पादनमा ५६.७ प्रतिशत हिस्सा ओगटेको छ । त्यसपछि जापानले ७१ लाख मेट्रिक टा, अमेरिकाले ६६ लाख मेट्रिक टन, रसियाले ६४ लाख मेट्रिक टन, दक्षिण कोरियाले ५४ लाख मेट्रिक टन, जर्मनीले २७ लाख मेट्रिक टन, टर्कीले ३० लाख मेट्रिक टन, ब्राजिलले २७ मेट्रिक टन, र इरानले ३० लाख मेट्रिक टन कच्चा स्टिल उत्पादन गरेका छन् ।

त्यसैगरी, विश्वमा सबैभन्दा बढी कच्चा स्टिल उत्पादन गर्ने देशहरुले थप लगानी गरेर क्षमता विस्तार गरिरहेका छन् । अधिकांश देशमा कच्चा स्टिलमा लगानी बढाई कच्चा स्टिल उत्पादनमा जोड दिएका छन् ।

सन् २०२३ को जनवरीदेखि अगस्टसम्ममा एसियन मुलुकबाट ९४ करोड मेट्रिक टन कच्चा स्टिल उत्पादन गरेको छ । जसमा सन् २०२३ मा उत्पादन २ प्रतिशत वृद्धि भएको तथ्यांकले देखाउँछ । चीन र भारतले उच्च कच्चा स्टिल उत्पादन गर्दै आएकाले एसियाली मुलुकले विश्वको ७६ प्रतिशत हिस्सा ओगटेको छ ।

स्टिल क्षेत्रमा गरेको अध्ययनअनुसार सन् २०२२ मा विश्वमा ३.१ प्रतिशतले माग घटेको छ । तर, सन् २०२३ र २०२४ मा १.७ प्रतिशतले माग बढ्ने अनुमान गरिएको अध्ययनमा जनाइएको छ ।

त्यस्तै, कच्चा स्टिल उत्पादन गर्नेमा दोस्रो ठूलो भारतले मासिक ८/८ करोड मेट्रिक टन हाराहारीमा कच्चा स्टिल र फिनिस्ड स्टिल उत्पादन गर्दै आएको छ । विश्वभर स्टिलको माग घट्दा भारतमा भने ९.३ प्रतिशतले बढेको उल्लेख छ । त्यस्तै, सन् २०२३ मा ८.६ प्रतिशत र सन् २०२४ मा ७.७ प्रतिशतले माग बढ्ने जनाएको छ ।

अध्ययनकाअनुसार भारतमा गत वर्षदेखि स्टिलको माग उच्च बढ्दै गएको छ । भारतीय सरकारले पूर्वाधार विकासमा जोड दिँदै बजेट विनियोजन गरेको छ । जसले गर्दा स्टिलको माग बढ्दो क्रममा रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

भारतले आयातसँगै उच्च स्टिलजन्य वस्तु निर्यात पनि गर्दै आएको छ । भारतले सन् २०२३ को अप्रिलदेखि नोभेम्बरसम्ममा ४२ लाख ५३ मेट्रिक टन स्टिल आयात गर्दा ४० लाख ३२ करोड मेट्रिक टन निर्यात गरेको छ ।

भारतले सो अवधिमा २ लाख २१ हजार मेट्रिक टन व्यापारघाटा व्यहोरेको छ । सन् २०२३ मा भारतबाट स्टिलजन्य वस्तुको निर्यात ६.२ प्रतिशतले कम भएको छ । तर, माग भने उच्च हुँदा आयात भने बढ्दै गएको छ ।

भारतले विशेषगरी चीन, दक्षिण कोरिया, भियतना, जापान, इन्डोनेसिया, ताइवान, अष्ट्रिया र अन्य देशबाट स्टिल आयात गर्दै आएको छ ।

भारतको प्रमुख स्टिल आयातकर्ता नेपाल

भारतले विश्वका विभिन्न मुलुकमा स्टिलजन्य वस्तु निर्यात गर्दै आएको छ । त्यसमध्ये सबैभन्दा बढी आयात गर्नेमा नेपाल रहेको छ । भारतमा उत्पादन भएको स्टिलजन्य वस्तु नेपालले सबैभन्दा बढी आयात गर्ने गरेको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार सन् २०२२ मा भारतले निर्यात गर्ने स्टिलमा नेपालको मात्रै १४.६ प्रतिशत हिस्सा थियो ।

नेपालपछि युएईले सबैभन्दा बढी आयात गर्ने गरेको पाइएको छ । भारतको स्टिल आयातकर्तामा युएईको ५ प्रतिशत हिस्सा थियो । त्यसैगरी स्पेनले ४.५ प्रतिशत, बेल्जियमले ५.३ प्रतिशत, इटलीलले ४.८ प्रतिशत, डेनमार्कले ३.४ प्रतिशत, अमेरिकाले ०.२ प्रतिशत र अन्य देशले ६२.३ प्रतिशत आयात हिस्सा ओगटेका थिए ।

तर, सन् २०२३ को नोभेम्बरमा भने भारतको स्टिल आयात गर्नेमा नेपाल तेस्रो स्थानमा छ । सन् २०२३ मा भारतमा उत्पादन भएको स्टिल सबैभन्दा बढी अमेरिकामा निर्यात भएको छ ।

भारतले सन् २०२३ को नोभेम्बरमा निर्यात गर्ने स्टिलमा अमेरिकाले ११.१ प्रतिशत हिस्सा ओगटेको छ । अमेरिकापछि इटलीलले १०.३ प्रतिशत, नेपालले ६.८ प्रतिशत, युएईले ६.२ प्रतिशत, स्पेनले ५.७ प्रतिशत, बेल्जियमले ५.७ प्रतिशत र अन्य देशले ४९.८ प्रतिशत हिस्सा ओगटेको छ ।

सन् २०२३ मा भारतबाट बेलायत, इटली, युएई, स्पेन, बेल्जियम, डेनमार्क र रसियामा निर्यात बढ्दो क्रममा छ भने नेपाल र अमेरिकामा घट्दो क्रममा छ ।


क्लिकमान्डु