१ हजार ६३ मेगावाटको अपर अरुण हाइड्रोको ईआइए तयार, ६३हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्ने



काठमाडौं । संखुवासभा जिल्लाको भोटखोला गाउँपालिकामा निर्माणका लागि प्रस्तावित अपर अरुण जलविद्युतको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) तयार भएको छ । वन तथा वातवरण मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार उक्त जलविद्युत आयोजनाबाट १ हजार ६३.३६ मेगावाट बिजुली उत्पादन हुने छ ।

आयोजनाको जलाशयको पानीको सतहको क्षेत्रफल २०.१ हेक्टर हुनेछ । आयोजनाको ड्यामको उचाइ १०० मिटर र ड्याम क्रेस्ट लम्बाई १८३ मिटरको निर्माण गरिनेछ र माथिल्लो भागको चौडाइ १५ मिटर हुनेछ ।

आयोजनाबाट वार्षिक ४५४९.५७ गिगावाट प्रतिघण्टा उर्जा उत्पादन हुनेछ । आयोजनाका मुख्य संरचनाहरुमा जलाशय, बाँध, रिपलबे, इन्टेक, हेडरेस, टनेल, सर्ज टैंक, ड्रप साफ्ट, विद्युतगृह, टेलरेस टनेल आदि पर्दछन् ।

प्रस्तावित आयोजना निर्माणका लागि १३६.५२ हेक्टर जग्गा आवश्यक पर्दछ । यसमध्ये वन क्षेत्र ७३.३१ हेक्टर र ६३.५१ हेक्टर निजी क्षेत्र जग्गा आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोजना कार्यान्वयनको समयमा १४ हजार ४३६ पोल साइज र ३ हजार ४२८ रुख गरी १७ हजार ८३४ रुख काटिनेछ ।

त्यस्तै, आयोजनाका लागि ३१.०३ हेक्टर खेतीयोग्य जमिन ३१.९७ हेक्टर खरबारी र ०.५१ हेक्टर बाँझो रहेको गरी ६३.५१ हेक्टर निजी जग्गा अधिग्रहन गर्नेछ ।

उक्त आयोजना संखुवासभाको भोटखोला गाउँपालिकाको वडा २,३ र ४ मा पानी बहाब कम हुने क्षेत्र पर्ने जनाएको छ ।
आयोजना बनाउँदा बाँध, सुरुङ, अडिट र विद्युतगृह क्षेत्रमा विभिन्न सहायक संचरनाहरु बनाउनुपर्नेछ ।

उक्त सहायक संरचनाहरुमा २ वटा प्रवद्र्धकको क्याम्प, ४ वटा निर्माण व्यवसायीको लागि क्याम्प, ३ वटा विद्युतका लागि आवश्यक पर्ने संयन्त्र/जेनेरेटर, २ वटा पानीको आपूर्ति तथा वितरण केन्द्र, ४ वटा फोहोर पानी प्रशोधन केन्द्र, चेपुवा खानी, ५ वटा अन्य साना खानीहरु, पहुँच सडकहरु, माटो ल्याउने क्षेत्र, क्रसर प्लान्टहरु, २ वटा व्याचिङ प्लान्ट, २ वटा मर्मत कार्यशाला, २ वटा फ्याब्रिकेशन सप, ४ वटा बिग्रन बिसर्जन क्षेत्र, इन्धन डिपो र बंकर भवन खादि रहेका छन् ।

नदीको जल प्रवाह आयोजनाको लागि आवश्यक हाइड्रोलिक क्षमताभन्दा कम भएको अवस्थामा पिकिङ रन अफर रिभर मोडलमा सञ्चालन हुनेछ ।


क्लिकमान्डु