लगानीमा लचिलो बन्यो प्राधिकरण, बीमा कम्पनी उत्साहित



काठमाडौं । बीमा कम्पनीको लगानीका विषयमा नेपाल बीमा प्राधिकरण लचिलो बनेको छ । प्राधिकरणले लगानीसम्बन्धी निर्देशन संशोधन गर्दै जीवन बीमा, निर्जीवन बीमा र लघुबीमा कम्पनीहरुको लगानीको दायरालाई फराकिलो बनाएको हो ।

प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन) २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन २०८०, लघु जीवन बीमकको लगानी (पहिलो संशोधन) २०८०, लघु निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) २०८० र पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन २०८० जारी गर्दै लगानीलाई सहज बनाएको हो ।

प्राधिकरणले बीमा कम्पनीहरुले बीमा कोषको १५ प्रतिशतसम्म रकम लगानी गर्न सकिने व्यवस्था गरेको छ । यसअघि कोषको ५ प्रतिशत रकममात्रै लगानी गर्न पाउने व्यवस्था थियो । त्यस्तै बीमा कम्पनीहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त तथा धितोपत्र विनिमय बजारमा सूचीकृत कम्पनीको सेयरमा लगानी विस्तार गर्ने बाटो खुला गरेको छ ।

त्यसैगरी, सबै बीमा कम्पनीहरुले विशिष्टीकृत लगानी कोष नियमावलीबमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डमा समेत कुल लगानीको बढीमा १.५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था गरेको छ ।

तर, एकै फण्डमा एक प्रतिशतभन्दा धेरै लगानी गर्न भने पाइने छैन । यससहित बीमा कम्पनीहरुले प्राधिकरणले तोकेको ११ क्षेत्रमा लगानी गर्न पाउने भएका छन् ।

पर्याप्त लगानी हुँदाहुँदै पनि खुम्चेर बस्नुपर्ने बाध्यता हटाउन प्राधिकरणले दायरा बढाएपछि बीमा व्यवसायी खुसी देखिएका छन् । हाल जीवन बीमा कम्पनीसँग मात्रै करिब ६ खर्ब रुपैयाँको बीमा कोष छ, जुन उनीहरुले प्राधिकरणले तोकेको क्षेत्रमा लगानी गर्दै आए पनि पर्याप्त भने थिएन । प्राधिकरण लगानीमा उदार देखिएपछि बीमा कम्पनीले अब धितोपत्रको दोस्रो बजारमा समेत लगानी बढाउन पाउने भएका छन् ।

नेशनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीले लगानीको दायरा र सीमा बढाएर प्राधिकरणले बीमा व्यवसायलाई प्रोत्साहन गरेको बताए । ‘धितोपत्रमा सूचीकृत जुनसुकै कम्पनीको प्रमोटर सेयर, इक्विटी फण्ड तथा भेन्चर क्यापिटलमा १५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्थाले बीमा व्यवसायलाई प्रोत्साहन गरेको छ,’ उनले भने ।

त्यस्तै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका वरिष्ठ डेपुटी सीईओ सन्तोष प्रसाईंले प्राधिकरणको निर्देशनले निक्षेपमा गर्ने लगानी उल्लेख्य घट्ने बताए । ‘नयाँ व्यवस्थाले निक्षेपमा ठूलो लगानी गर्नुपर्ने बाध्यता हटेको छ, अब विविधीकरण गरेर लगानी गर्न थप सहज भएको छ,’ उनले भने । प्राधिकरणले धितोपत्रको दोस्रो बजारमा लगानीका लागि लिएको सहज नीतिले पनि व्यवसायलाई थप उचाइमा पुर्‍याउने उनको तर्क छ ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा व्यवसायीसँग रहेको बीमा कोषको उचित प्रयोग होस् भन्ने हेतुले लगानीको दायरा र सीमा बढाइएको बताए । ‘हामीले बीमा कम्पनीको लगानी बढाउन सीमा विस्तार गरेका हौं,’ उनले भने, ‘प्राधिकरणको स्वीकृति लिएर सीमाभन्दा बढि लगानी गर्न सक्ने व्यवस्थासमेत गरिएको छ ।’

प्राधिकरणले जारी गरेको निर्देशनमा तोकिएको क्षेत्रमा बीमा कम्पनीले सीमाभन्दा धेरै लगानी गर्न चाहेमा प्राधिकरणको स्वीकृति लिएर लगानी गर्न सक्ने व्यवस्था गरेको हो । यसले बीमा व्यवसायीले सीमाभन्दा धेरै रकम पनि लगानी गर्न सक्ने बाटो पनि खोलिदिएको छ ।


क्लिकमान्डु