धितोपत्र बोर्डमा रमेश हमालका २२ महिनाः २३ काम पूरा, ७ वटा अधुरा



काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २२ महिनामा विभिन्न २३ वटा काम गरेको र ७ काम कार्ययोजना अनुसार हुन नसकेको जनाएका छन् ।

आजदेखि कार्यकाल सकिएका हमालले २२ महिनाको अवधिमा दीर्घकालीन आर्थिक प्रभाव पार्ने, समयसीमा तोकी गरिएका सुधार कार्यहरु, लगानीकर्ता हित संरक्षणमा जोड दिई सम्पादित कार्य, बजार विकास तथा सुधारका अन्य काम, अध्ययन सम्पन्न भई प्रकृयामा रहेका, कार्ययोजना अनुरुप सम्पन्न गर्न बाँकी काम गरेको जनाएका छन् ।

उनले दीर्घकालीन आर्थिक प्रभाव पार्ने ६ वटा काम गरेको जनाएका छन् । जसमा विशिष्टीकृत लगानी कोषको शुरुवात गरेका छन् । नवीनतम ज्ञान, सीप/क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसायको प्रवद्र्धन गर्न आवश्यक पुँजी परिचालनका लागि पीईभीसी इकोसिस्टम निर्माण गरी अर्थतन्त्रमा नयाँ धारको सृजना गरेको जनाएका छन् ।

नयाँ सोच र व्यवसायमा पुँजी एवं व्यवसायिक ज्ञान प्राप्त गरी धितोबिना एसएमईज र स्टर्टअपहरुका लागि पुँजी प्राप्त हुने वातावरण सृजना भई समुन्नतिको दायरा बढ्नुका साथै थप रोजगारी सृजना भई अर्थतन्त्र थप गतिशील हुने वातावरण तयार भएको उनको दाबी छ ।

हमालले यो अवधिमा एसएमईज प्लेटफर्मका लागि नियमावली तयार गरी पेश गरेका छन् । साना तथा मझौला व्यवसायहरुलाई अर्थतन्त्रको मूलधारमा ल्याई उक्त क्षेत्रका कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याई तथा धितोपत्र बजार सूचकांकमा हुने उतारचढावमा न्यूनीकरण गर्न एसएमईज प्लेटफर्म संचालनका नियमावली तयार गरी अर्थ मन्त्रालयमा गत जेठ ७ गते स्वीकृतिका लागि पेश गरिएको छ । यसबाट एसएमईहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि भई नेपालको अर्थतन्त्रलाई बलियो गर्ने कार्यमा सघाँउ पुग्नुका साथै अर्थतन्त्रको दिगो आर्थिक विकासको लक्ष्यलाई समेत सहयोग पुग्ने उनको भनाइ छ ।

यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई आईपीओमा १० प्रतिशत आरक्षण व्यवस्था गरेका छन् । वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षण व्यवस्था गरिएको छ । जसबाट देशको शोधनान्तर स्थिति सबल बनाउँदै विदेशबाट भित्रिने विप्रेषण औपचारिक माध्यमबाट भित्र्याउनलाई प्रोत्साहन तथा सहयोग भई समग्र अर्थतन्त्रमा टेवा पुग्ने उनको दाबी छ।

वस्तु विनिमय बजार अनुमितका लागि प्रकृया अगाडि बढेको छ। देशमा लगानीकर्तामैत्री, प्रतिस्पर्धात्मक एवं अन्तर्राष्ट्रियस्तरको प्रविधि र क्षमतायुक्त वस्तु विनिमय बजार सञ्चालन अनुमति प्रकृया अन्तिम चरणमा रहेको छ ।

धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधिसहितको क्षमतायुक्त बनाई यसको सेवालाई विश्वसनीय तथा गुणस्तरीय, प्रतिष्पर्धी हुने गरी विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न नेपालको पुँजी बजारमा दोस्रो स्टक एक्सचेञ्ज प्रवेश गराई उक्त बजारलाई प्रतिस्पर्धी बनाउने उद्देश्यका नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि आवेदन माग गरेका छन् ।

तर, हमालले नयाँ स्टकलाई लाईसेन्स दिन भने सकेनन् ।

धितोपत्र बजार अनुमति प्रकृयालाई पारदर्शी बनाउनका लागि धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था संस्थापना गर्न बोर्डबाट सिफारिश प्रदान गर्ने सम्बन्धी निर्देशिका, २०७९ बनाई पहिलोपटक लागू गरिएका छन् ।

नेपालको धितोपत्र बजारमा लामो समयसम्म बैंक तथा वित्तीय क्षेत्रका कम्पनीहरुको बाहुल्यता रही अधिकांश कम्पनी उक्त क्षेत्रका मात्र सूचीकरण भैरहेको सन्र्दभमा हालैका दिनहरुमा अन्य क्षेत्रका कम्पनीहरुलाई पुँजी परिचालनका लागि सहजीकरण गरी सुचीकृत कम्पनीमा विविधिकरण ल्याइएको छ ।

धितोपत्र बजारमा ओपन इन्ट्री र एक्जिटमार्फत् धितोपत्र दलाल व्यवसायलाई अनुमति दिने कामको सुरुवात भएको छ । बोर्डबाट तोकिएको मापदण्ड पुर्याएका सबै आवेदकलाई ओपन इन्ट्री र एक्जिटमार्फत तोकिएको समयसीमा भित्र पारदर्शीरुपमा अनुमतिपत्र प्रदान गरिएको छ ।

यसले धितोपत्र दलाल सेवामा प्रतिस्पर्धी तथा पारदर्शी हुने, सेवाको स्तर बृद्धि भई लागत घटाउने प्रणालीको सृजना हुने, धितोपत्र बजारमा नयाँ सोच भएका सक्षम युवाहरुलाई अवसर सृजना भई रोजगारीको दायरामा बृद्धि हुने र धितोपत्र कारोबारमा बृद्धि भइ सरकारी राजस्व बृद्धिमा सघाउ पुग्ने देखिन्छ ।

धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मकरुपमा गरी वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेश प्रोत्साहित गर्न अन्तर्राष्ट्रियरुपमा प्रचलनमा रहेको बुक बिल्डिङ्ग विधि प्रारम्भिक सार्वजनिक निष्काशनमा लागू गर्न बोर्डले बुक बिल्डिङ्ग निर्देशिका, २०७७ बमोजि एक कम्पनीलाई निष्काशन अनुमति प्रदान गरिएको छ ।

मर्जर तथा एक्विजिशन जाने कम्पनीलाई तीन दिनमा नै स्वीकृति प्रदान गर्ने एवं त्यस्ता कम्पनीको साधारण सेयरमा लगानी गर्ने लगानीकर्ताको सेयर कारोबार बढीमा १५ दिनसम्म मात्र रोक्का हुने व्यवस्था गरिएको छ । यसअघि त्यस्ता कम्पनीको सेयर कारोबार वर्षौ सम्म रोक्का हुने अवस्थाको अन्त्य गरिएको छ ।

धितोपत्र बजार सेवालाई देशव्यापी बनाउने क्रममा धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका, २०७९ बनाई बोर्डमा निवेदन पेश गरेको १५ दिनभित्र स्वीकृति दिने व्यवस्था गरिएको छ ।

हमाल बोर्डमा आएपछि आस्वा शुल्कमा कटौती भएको छ । लगानीकर्ताको हकहितलाई ध्यान दिँदै बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद सम्बन्धी सुविधा उपलब्ध गराए बढीमा ५ रुपैयाँ सेवा शुल्क लिन सक्ने व्यवस्था गरिएको छ । यसले आईपीओमा लगानी गर्ने लगानीकर्ताहरुको लागत कम भएको छ ।

हमालले बोर्डमा बसेर धेरै सुधारका कामहरु गरे पनि उनी विवादमुक्त भने रहेनन् । उनलाई नयाँ लाइसेन्स दिएर नीतिगत भ्रष्टाचार गरेको आरोप लागेको छ ।

‘यो देशमा काम गर्नेहरुलाई अनावश्यक आरोप लगाएर हतोत्साहित गरिँदो रहेछ,’ हमालले भने, ‘विदेशमा काम गरेर आएको र निजी क्षेत्रमा काम गरेको मैले धितोपत्र बोर्डमा बसेर काम गरेर आफूलाई प्रमाणित गरेको छु ।’


क्लिकमान्डु