यस्तो छ सुरक्षित घर बनाउने तरिका



काठमाडौं । २०७२ सालको भूकम्प र त्यसपछिका पराकम्पले साढे १० लाखभन्दा बढी घरमा क्षति गरेको थियो । साढे ७ लाखभन्दा बढी घर पूर्णरुपमा ध्वस्त भएका थिए । घरहरु भत्किँदा पुरिएर/थिचिएर ८ हजार ७९० जनाको मृत्यु भएको थियो ।

२२ हजार ३०० भन्दा बढी घाइते भएका थिए । २०७२ सालको भूकम्पले विनाश गरेको साढे ८ वर्षपछि कात्तिक(२०८०)मा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको मध्यम खालको भूकम्प गयो । जाजरकोट भूकम्पले १३ जिल्लाका ६२ हजारभन्दा बढी घरमा क्षति गर्यो । घरहरु भत्किँदा १५४ जनाको मृत्यु र ३६४ जना घाइते भए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हालै मात्र नेपालको १३ जिल्लाका करिब २९ हजार घर तथा भवनको अध्ययन गरेको थियो । अध्ययन गर्दा ९५ प्रतिशत भवन विभिन्न प्रकारका विपद्का दृष्टिले असुरक्षित रहेको पाइयो ।

अध्ययनमा प्राधिकरणले सातै प्रदेशका १४५ स्थानीय तहलाई समेटेको थियो । ती स्थानीय तहका २८ हजार ७८० वटा घर तथा भवनको अध्ययन गरिएको थियो । अध्ययनले मात्र पाँच प्रतिशत मात्र जोखिमबाट सुरक्षित रहेको देखाएको छ ।

अध्ययनमा सार्वजनिक तथा निजी भवनहरुलाई समेटिएको थियो । प्राधिकरणका अनुसार, अध्ययनमा १० हजार ८१२ वटा विद्यालय, स्वास्थ्य चौकी तथा अस्पताल र सरकारी कार्यालयका घर तथा भवनहरु समेटिएको थियो । विशेषगरी शिक्षा (सरकारी र निजी विद्यालय), स्वास्थ्य (स्वास्थ्य चौकी तथा निजी तथा सरकारी अस्पताल) र सार्वजनिक भवन (सरकारी कार्यालय) हरुको अध्ययन गरिएको थियो ।

अध्ययनले ९४.५४ प्रतिशत भवन विभिन्न किसिमका विपद्का दृष्टिले असुरक्षित देखाएको छ । ५.४६ प्रतिशत भवनहरु सुरक्षित रहेको अध्ययनबाट देखाउँछ । अध्ययन अनुसार असुरक्षित भवनमध्ये ८.८४ प्रतिशत मात्र मर्मत सम्हार गरेर बस्न मिल्ने, ९.३८ प्रतिशत घरको सामान्य प्रवलीकरण गरे हुने र ५०.२२ प्रतिशत घर मजबुत प्रवलीकरण गर्नुपर्ने अवस्थामा रहेको देखाएको छ ।

यस्तै, २३.६१ प्रतिशत भवनहरु बस्न पूर्ण रुपमा अयोग्य रहेको र तिनलाई भत्काएर पुननिर्माण गर्नुपर्ने अध्ययनमा छ । अध्ययनमा समेटिएका भवनमध्ये २.१५ प्रतिशत बनाउनै नहुने स्थानमा निर्माण गरिएको हुँदा तिनलाई अन्यत्र सार्न’पर्ने देखिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, नेपालमा ७५ लाख ५२ हजार ६६ वटा घर छन् । कुल घरमध्ये ५४ लाख १६ हजार ४१९ घर आवासीय छन् । यो भनेको कुलको ७१.७ प्रतिशत हो ।

नेपालमा रहेका कुल आवासीय घरमध्ये माटो जडित इँटा÷ढुंगाले बनेका १७ लाख ८७ हजार ४१८ वटा, सिमेन्ट जडित इँटा÷ढुंगाले बनेका १६ लाख १४ हजार ९२ वटा, ढलान र पिल्लरसहितका १२ लाख १३ हजार २७७ वटा, काठ÷बाँसको खम्बा खाडेर बनाइएका ७ लाख ६९ हजार १३१ वटा र अन्य ३२ हजार ४९८ वटा छन् ।

आवासीयमा कच्ची घरको संख्या ४२ लाख ३ हजार १४१ भन्दा बढी छ । कुल आवासीय घरमा ७७.६ प्रतिशत कच्ची छन् । अर्थात् भूकम्पको दृष्टिले यी घरहरु बढी असुरक्षित छन् । जीवनमा एकपटक बनाइने । एक पटक खरिद गरिने घर सुरक्षित हुनुपर्छ ।

‘अध्ययनले ९४.५४ प्रतिशत भवन विभिन्न विपद्का दृष्टिले असुरक्षित देखाएको छ । अध्ययनले असुरक्षित भवनमध्ये ८.८४ प्रतिशत मर्मतसम्भार गरेर बस्न मिल्ने, ९.३८ प्रतिशत घरको सामान्य प्रवलीकरण गरे हुने अवस्थामा रहेको देखाएको छ । २३.६१ प्रतिशत भवनहरु बस्न पूर्ण रुपमा अयोग्य रहेका छन् ।’

सुरक्षित घर बनाउने तरिका
लम्बाइ, चौडाइ उचाइको अनुपात
घरको नक्सा बनाउँदा लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउनुपर्छ । थोरै जग्गामा आकाश छुने घर बनायो भने भुइँचालोको सानो झट्काले पनि घर ढल्न सक्छ । काठमाडौं उपत्यकाका भित्री शहरमा आधा/ एक आना जग्गामा ७/८ तले घर बनेको देखिन्छन् । त्यो शतप्रतिशत असुरक्षित तासको घर हो । मापदण्डअनुसार घरको चौडाइको साढे दुई गुणाभन्दा ठूलो घर बनाउन पाइन्न । यो नियमअनुसार जतिसुकै बलियो संरचना बनाए पनि १२ फिट चौडाइ जग्गा छ भने तीन तलेभन्दा ठूलो बनाउनु धराप हुन्छ ।

निकास

भुइँचालोमात्र हैन, आगलागि वा अरू विपत्ति आइलाग्दा जोगिन घरबाट बाहिर निस्कने उचित निकास चाहिन्छ । घरमा कम्तीमा दुईवटा मूलढोका हुनुपर्छ । त्यहाँसम्म पुग्ने बाटो फराकिलो र सुरक्षित हुनुपर्छ । भयाङ फराकिलो र बलियो बनाउनुपर्छ । ठूला व्यापारिक भवन, अपार्टमेन्ट, स्कुल, कलेज, अस्पतालजस्ता सार्वजनिक भवनमा एउटा भयङले मात्र पुग्दैन । भवनको बाहिरबाट सिरानपुछार एउटा भयङ राख्नु पर्छ । अभर परेको बेला भाग्न मात्र हैन, उद्धार कार्यमा समेत सजिलो होस् भनेर बाहिरबाट भर्‍याङ राख्नुपर्छ ।

जग

जग खन्दा भेटिने माटोको प्रकार, घरको तल्ला, पिलरको आकार, लम्बाइ, चौडाइको आधारमा गहिराइ निर्धारण हुन्छ । घरको प्रयोजन के हो त्यसलाई पनि ध्यान जग माटोको प्रकारअनुसार ३ देखि ५ फिटसम्म भए पुग्छ । दिनुपर्छ । आवासीय प्रयोजनका लागि बनाइने दुईतले घरको पिलर सिस्टमको घरको जग हात्तीपाइले हो । डन्डीको जाली बुनेर ढलाइ गरेर हात्तीपाइले बनाइन्छ । हात्तीपाइलेको लेभल जहिले पनि १८० डिग्रीमै हुनु आवश्यक छ ।

पिलर र बिम

पिलर गाउँका घरको थामजस्तै हो । थाम सबैभन्दा बलियो हुन्छ । आधुनिक घरमा पनि यही नियम लाग्छ । घरको मजबुतीको आधार पिलर हो । सामान्य घरमा पनि कम्तीमा ९ इन्च चौडाइ र १४ इन्च लम्बाइको पिलर चाहिन्छ । ती पिलरमा पाँच लाइन र चार लाइनको गरेर ८ वटा डन्डी राख्नुपर्छ ।

पिलरको डन्डी बाँधेर आकार दिन चुरी (रिंग) चाहिन्छ । चुरीमा दुई लाइनको डन्डी प्रयोग गर्ने चलन छ । चुरीले घरलाई धक्का परेको बेला पिलरलाई जोगाएर राख्छ। चुरीको दुरी ४ देखि ६ इन्चभन्दा बढी हुनु हुँदैन ।

पिलरको उचाइ ८ देखि ९ फिट हुन्छ । पिलरलाई आधा गरेर दुईपटक ढलान गर्नुपर्छ । बिमले पुराना घरमा निदालको काम गर्छ । पिलरमाथि बसेर ढलान थाम्छ बिमको आकार पिलरभन्दा केही कम हुँदा पनि फरक पर्दैन ।

ढलान अढाइ लाइनको डन्डी

सिमेन्टको घर बनाउँदा ढलानलाई सर्वाधिक महत्व दिने चलन छ । आजभोलिका घरमा दलिनको काम डन्डीले गर्छ । सिमेन्ट, रोडा र बालुवा मिसाएको कँक्रिटले तला छापिन्छ । ढलान बलियो बनाउन डन्डीको जाली बाँधेको मिल्नुपर्छ । डन्डीको जाली ६ इन्चमा बाँध्नु राम्रो हुन्छ । बिमको नजिक र टपमा ‘डबल’ जाली बुन्नुपर्छ ।

सामान्य घरमा अढाइ लाइनको डन्डी भए पुग्छ । यसको ज्ञान नभएर चार लाइनसम्मको डन्डी हाल्ने गरेको देखिन्छ । यस्तो गल्तीले घर बोझिलो त हुन्छ नै, खर्च पनि दोब्बर हुन्छ । आवासीय भवनमा ढलानको मोटाइ सामान्यतया ५ इन्च भए पुग्छ ।

कंक्रिट बनाउने विधि

सिमेन्ट, बालुवा, गिट्टी र पानीको सम्मिश्रण कंक्रिट हो । सामान्य घरमा एम १५ कंक्रिट तयार गरे हुन्छ । त्यसमा १ बोरा सिमेन्ट बराबर २ बोरा बालुवा र ४ बोरा गिट्टी हालिन्छ । योभन्दा ठूलो निर्माणमा एम २० प्रयोग गरिन्छ । एम २० मा १ बोरा सिमेन्ट बराबर २ बालुवा र ३ गिट्टी हुन्छ । धेरै बोझ थाम्नुपर्ने निर्माणमा १ सिमेन्ट बराबर डेढ बालुवा र ३ गिट्टी मिसाइन्छ ।

सिमेन्टमा गुणस्तर चिह्न र सिल ख्याल गर्नुपर्छ । बालुवामा माटो वा अभ्रख मिसिएको हुनु हुँदैन, दानेदार चाहिन्छ । गिट्टी साह्रो ढुंगाको हुनुपर्छ । नरम, बलौटे वा रातो ठिक हुँदैन । गिट्टी सानोठूलो चाहिन्छ, जुन ४ देखि ६ लाइनको हुनुपर्छ । सानो गिट्टीले ठूलोले बनाउने खाली ठाउँ भरिन्छ ।

गारो र प्लास्टरको मसला

गारो बलियो बनाउन मसला (सिमेन्ट र बालुवा) मुछेको तरिका मिल्नुपर्छ । गारोका लागि १ बोरा सिमेन्ट बराबर ५ बोरा बालुवा हाले हुन्छ। जबकी प्लास्टरमा बालुवा घटाउनुपर्छ । सिलिङमा तीन बोरा र दायाँबायाँ ४ बोरा बालुवाको मसला बनाउनु उपयुक्त हुन्छ ।

यी सबै तालमेल मिलाउन घर बनाउँदा इन्जिनियरको आकारको कंक्रिटको घरको वजन पनि सयौं टन हुन्छ । यति परामर्श अपरिहार्य छ । पिलर सिस्टममा बनेको सामान्य बोझिलो घर ढंग मिलाएर बनाइएन भने जोखिमपूर्ण हुन्छ । उपयुक्त प्रविधि र प्राविधिकको सल्लाह बेगर बनाएको घरमा सानो त्रुटि भयो भने ठूलो नोक्सानी हुन्छ ।

(नेपाल जग्गा तथा आवास विकास संघको आवास स्मारिका-२०८०मा प्रकाशित लेख)


क्लिकमान्डु