४ अर्बको ब्यापार गर्ने श्री एयरलाइन्स बन्यो पब्लिक लिमिटेड, कहिले ल्याउला आईपीओ ?



काठमाडौं । आन्तरिक वायुसेवा कम्पनी श्री एयरलाइन्स पब्लिक कम्पनी बनेको छ । यो वायुसेवा सन् २०२३ को जुलाईमा पब्लिक कम्पनीमा परिणत भएको हो । सर्वसाधारण सेयर जारी गर्ने उदेश्यले कम्पनी पब्लिकमा परिणत भएको हो ।

सन् १९९९ मा एयर अनन्यामा दर्ता गरेको कम्पनी पछि नाम परिवर्तन गरी श्री एयरलाइन्स भएको थियो । कम्पनीमा सुधिर मित्तलको एकल स्वामित्व छ ।

कोभिडपछि आन्तरिक तथा बाह्य पर्यटक बढ्दा कम्पनीको व्यापार ह्वात्तै बढेको छ । कम्पनीको व्यापार गत वर्षको तुलनामा करिब ६८ करोड २० लाख रुपैयाँले बढेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ४५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले सन् २०२३ मा ४ अर्ब १४ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । जुन २० प्रतिशतले बढी हो । कम्पनीले सन् २०२१ मा १ अर्ब ३८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

यो वायुसेवाले २०२३ मा कोभिड अघिको भन्दा पनि बढी आम्दानी गरेको छ । कम्पनीले छोटो दूरीमा बम्बार्डियर जहाजबाट सेवा दिँदा आम्दानी बढेको जनाएको छ । त्यस्तै, कम्पनीले पछिल्लो पाँच वर्षमा २० प्रतिशतदेखि २४ प्रतिशतसम्म नाफा कमाएको छ ।

त्यसैगरी, सन् २०२३ मा जहाजको सेवा लिने यात्रुको संख्या ५४ प्रतिशतले बढेको छ । त्यसमा दुई रुटको हिस्सा बढी छ । साथै, दुई रुटमध्ये पनि ६५ प्रतिशत काठमाडौंदेखि नेपालगञ्जको छ भने ५९ प्रतिशत काठमाडौंदेखि धनगढीको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को ४ महिनाको अवधिमा ९० प्रतिशत यात्रु बहन क्षमता पुगेको छ । यसको उडानको माग बढ्दा यात्रु बहन क्षमता पनि बढेको पाइएको छ । तर, चालु आर्थिक वर्षको ४ महिनामा भने अघिल्लो वर्षको तुलनामा ५ प्रतिशतले आम्दानी घटेको छ । कम्पनीले चार महिनाको अवधिमा १ अर्ब १४ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीअनुसार हवाई उडानमा उच्च प्रतिस्पर्धा भई फिक्स्ड विङ सेग्मेन्टको सेवा कमी आउँदा वार्षिक कारोबारको ५ प्रतिशतले कम व्यापार गरेको हो ।

श्रीले १८ वटा (शहरी क्षेत्रका विमानस्थल) ट्रक रुटमा हवाईसहित हेलिकप्टर च्याटर्ड सेवा दिँदै आएको छ । यो वायुसेवासँग हाल ८ वटा बम्बाडियर जहाज छ । जसमध्ये चार वटा जेट र अर्कोे चार वटा टर्बोप्रोप्स सञ्चालन गरिरहेको छन् । चार वटा टर्बोप्रोप्समध्ये दुई वटा भाडामा लिएर सञ्चालन भइरहेको यो वायुसेवा कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले भाडामा लिएको जहाजको प्रति महिना ११ लाख अमेरिकी डलर ऋण दिँदै आएको छ । उक्त ऋण तिर्ने कार्य सन् २०२३ बाट सुरु भएको छ ।

श्रीसँग एमआई १७ नामकका ६ वटा रोटर विङ्ग (हेलिकप्टर) हेलिकप्टर रहेको छ भने बाँकी दुई वटा एयरवस कम्पनीको एस३५० बीथ्री प्रकृतिको साना हेलिकप्टर छ । मित्तलको एकल स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ८५ करोड ५६ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले अल्पकालीन कर्जाका लागि २ अर्ब ५५ करोड १७ लाख रुपैयाँ अर्थात् बडल बी र अल्पकालीन कर्जाका लागि १ अर्ब ३० करोड ३८ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले सन् २०१७ देखि बम्बाडियर जहाज खरिद गरी नेपालमा सञ्चालन गर्दै हवाई सेवा दिँदै आएको छ । श्री नेपालको तेस्रो ठूलो हवाई कम्पनी हो । कम्पनीले नेपालको आन्तरिक हवाई उडानको १६ प्रतिशत ओगटेको छ । सन् २०२२ मा मुख्य सिजनमा सबैभन्दा बढी यात्रुको उडान गरेर रेकर्ड कायम गरेको थियो । जसले गर्दा सन् २०२१ को तुलनामा सन् २०२२ मा यात्रुको संख्या ३३ प्रतिशतले बढेको थियो ।

कम्पनीले विशेषगरी दुई रुटमा उच्च उडान सेवा दिँदै आएको छ । कम्पनीले काठमाडौं-नेपालगञ्ज-काठमाडौं र काठमाडौं-धनगढी काठमाडौंको रुटमा बढी सेवा केन्द्रित भएको उल्लेख छ । जसमा काठमाडौंदेखि नेपालगञ्जबाट मात्रै ५७ प्रतिशत आम्दानी गरेको छ । त्यसबाहेक ४७ प्रतिशत अन्य रुटबाट आम्दानी हुने गरेको छ । कम्पनीले चार टर्बो जहाजले पोखरा र भरतपुरमा पनि सेवा दिँदै आएको उल्लेख छ ।

कम्पनीले दिँदै आएको उडान सेवामा यात्रु गर्नेको संख्या बढ्दा कारोबारमा उछाल आएको जनाएको छ । रोटर विङ र फिक्स विङ सेग्मेन्टबाट उच्च कारोबार भएको छ । सन् २०२३ मा रोटर सेग्मेन्टबाट ११ प्रतिशत र ८९ प्रतिशत फिक्स्ड विङ सेग्मेन्टबाट आम्दानी गरेको छ । उक्त दुई उडान सेवा आम्दानी अनुपात ७ः९२ रहेको छ ।

कम्पनीको सन् २०२२ मा ९४ प्रतिशत यात्रु बहन क्षमता थियो । तर, सन् २०२३ मा भने घटेर ७२ प्रतिशत कायम भएको छ । कम्पनीका अनुसार सन् २०२३ मा टर्बाइन फ्यूलको मूल्य बढ्दा यात्रु बहन क्षमतामा असर पुगेको जनाएको छ ।


क्लिकमान्डु