निगमले दुईवटा न्यारोबडी भाडामा लिने, ट्विन अटर उडाउन ५ पाइलट तयार पारिँदै



काठमाडौं । नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय उडानको दायरा बढाउन २ वटा एयरबस कम्पनीको न्यारोबडी जहाज भाडामा लिने तयारी गरेको छ । निगमले हाल उडान गरिरहेकै क्षमताका दुईवटा न्यारोवडी जहाज भाडामा ल्याएर उडान गर्ने विषयमा अध्ययनसमेत गराइसकेको छ ।

निगमका सदस्य किशोर प्रधानको संयोजकत्वमा गठित उपसमितिले वेट लिज (क्याप्टेन, इन्जिनियर र एयर होस्टेजसहितको जहाज भाडामा) ल्याउन सकिने गरी अध्ययन सम्पन्न गरेको छ ।

अध्ययन समितिले तयार पारेको प्रतिवेदनअनुसार जहाज भाडामा लिनेसम्बन्धी प्रस्ताव निगमको आगामी सञ्चालक समिति बैठकमा पेस हुनेछ । अध्ययन उपसमितिका संयोजक प्रधानले क्लिकमान्डुसँग भने, ‘निगमले तत्काल दुईवटा न्यारोबडी जहाज थप गरेर नाफामूलक गन्तव्यमा उडान सकिने सुझावसहितको प्रतिवेदन तयार पारिएको छ ।’

प्रतिवेदन सञ्चालक समितिबाट स्वीकृत गराएर निगमलाई आवश्यक दुईवटा न्यारोबडी ल्याउने प्रक्रिया अगाडि बढाइने पनि उनले बताए । प्रतिवेदनले तत्काल जहाज खरिद गर्न स्रोतको जोहो नभएको र प्रक्रिया लामो हुने भएपछि छिटो तथा सहजताका लागि वेट लिजमा ल्याउन सुझाव दिइएको पनि उनले जानकारी गराए ।

सुझावअनुसार निगम सञ्चालक समितिबाट स्वीकृत भएको ४ महिनामै २ वटा न्यारोबडी जहाज भाडामा ल्याएर उडान गर्न सकिनेछ । ती जहाजलाई निगमले हालको नाफामूलक गन्तव्य, मलेसिया, दिल्ली, साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई)मा उडान थप गर्दै सेवा दिन सक्नेछ । निगमसँग भएका वाइडबडीलाई भने जापान, अस्ट्रेलिया र नयाँ थप हुन लागेको लामो दूरीका अन्य गन्तव्यमा उडान केन्द्रित गर्न सुझाव दिइएको छ ।

निगमका अनुसार वेट लिजमा जहाज लिँदा प्रतिघण्टा कम्तीमा ३ हजार डलर खर्च हुने अनुमान छ । उक्त दरमा भाडामा लिँदा निगमले नाफा कमाउन सक्ने दाबी अध्ययन समितिको छ ।

निगमका अनुसार १५८ सिट क्षमताको न्यारोबडीले हाल वार्षिक ७ अर्ब रुपैयाँ कमाउँदा खर्च ६ अर्ब रुपैयाँ भएको छ । यसबाट निगमले दुई वटा न्यारोबडी उडाउँदामात्रै वार्षिक ९५ करोड रुपैयाँ नाफा कमाएको गत आर्थिक वर्ष २०७९/८९ को वैशाखसम्मको तथ्यांकले देखाएको छ ।

निगमका अनुसार न्यारोबडी जहाज नाफामा उडान गरिरहेको छ । यसले वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी नाफा आर्जन गर्न सक्ने हुँदा हाल उडान भएकै गन्तव्यमा विस्तार गर्ने गरी न्यारोबडी उडान गर्दासमेत निगमले नाफा कमाउन सक्ने निगमले जानकारी दिएको छ ।

निगमका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ मा भने निगमले न्यारोबडी जहाजबाट ९ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने अनुमान गरिएको छ । यो आम्दानीबाट निगमले करिब ८ अर्ब रुपैयाँ जहाज उडानमै खर्च गर्नेछ ।

यस्तो खर्चपछि न्यारोबडी जहाज उडाउँदामात्रै वार्षिक नाफा १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी हुने दाबी निगमको छ । यस्तो नाफा निगमले आगामी ५ वर्षपछि न्यारोबडी उडाएरमात्रै वार्षिक १ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाउने पनि निगमले तयार पारेको व्यापारिक योजनामा उल्लेख छ ।

वायुसेवा निगमका अनुसार आन्तरिक उडान भने घाटामा छ । निगमले गत वर्ष आन्तरिक उडानबाट ५० करोड रुपैयाँ घाटा व्यहोरेको छ । यस्तो घाटा अघिल्लो वर्ष ५५ करोड रुपैयाँ थियो । निगमले अन्तर्राष्ट्रिय उडानबाट नाफा कमाएको र आन्तरिक उडानमा सेवा गर्ने गरेको छ ।

नयाँ ट्विन अटर उडाउन ५ पाइलट

वायुसेवा निगमले दुर्गम क्षेत्रको उडानका लागि ३ वटा ट्विन अटर जहाज खरिद गर्ने भएको छ । उक्त जहाज खरिद गर्न निगमले मागेको प्रस्तावमा तीनवटा विदेशी कम्पनीले आवदेन दिइसकेका छन् । वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमलाई ट्विन अटर जहाज बेच्न भारतको हिन्दुस्तान एरोनटिकल, क्यानडाको डि ह्याभिल्यान्ड र चेक गणतन्त्रको एयरक्राफ्ट इन्ड्रस्ट्रिजले आवेदन दिएका छन् ।

तीनवटै कम्पनीको मूल्यांकन करिब सकिएकाले एउटाको प्रस्तावलाई स्वीकृत गर्ने अन्तिम तयारीमा निगम छ । निगमका अनुसार यी तीनवटा कम्पनीमध्ये एउटाबाट ट्विन अटर जहाज किन्ने निर्णय सम्भवतः आगामी निगम सञ्चालक समितिको बैठकबाटै हुनेछ ।

ट्विन अटर जहाज खरिद गरिने भए पनि निगमले त्यसलाई उडान ५ जना क्याप्टेन माग गरेको छ । वायु सेवा निगमले हाल निगमसँग भएकै डीएचसी-६ ट्विन अटर प्रकृतिको जहाज खरिद गर्ने भएको छ । सोही प्रकृतिको जहाज थप हुने भएपछि ५ जना क्याप्टेनको लागि १५ दिनको समय दिएर आवेदन माग गरेको छ ।

निगमको आन्तरिक उडानको उक्त जहाज उडान चाहने क्याप्टेनको कम्तीमा ३ हजार घण्टा जहाज उडाएको हुनुपर्ने, छोटो दूरीको उडान तथा अवतरण (स्टल)को टाइप रेटिङ भएको हुनुपर्ने, उड्डयन प्राधिकरणले तोकेको स्टल उडानका पाइलटमा हुनेपर्ने सर्त पूरा भएकाले आवदेन दिन सक्नेछन् ।

मापदण्ड पूरा गरेर आवदेन दिएका पाइलट छनोट गरी निगमले १ वर्षका लागि करारमा नियुक्त गर्न सक्ने उल्लेख छ ।


क्लिकमान्डु