जीवन बीमा कम्पनीले तीन महिनामै सेयर र डिबेन्चरमा गरे ८८ अर्ब लगानी, अन्य क्षेत्रमा कति ?



काठमाडौं । नेपाल बीमा प्राधिकरणले लगानी विविधीकरणको नीति लिएपछि जीवन बीमा कम्पनीले सेयर र डिबेन्चरमा लगानी बढाएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरुले सेयर र डिबेन्चरमा ८८ अर्ब रुपैयाँ लगानी गरेका हुन् ।

प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीहरुले कुल ६ खर्ब १२ अर्ब रकममध्ये ८८ अर्ब ४१ करोड रुपैयाँ सो क्षेत्रमा लगानी गरेका हुन् ।

बीमा कम्पनीहरुले (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाको सेयर र डिबेन्चरमा ४२ अर्ब रुपैयाँ लगानी गर्दा त्यसबाहेकका सूचीकृत कम्पनीका ऋणपत्रमा २१ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

यस्तै जीवन बीमा कम्पनीहरुले पब्लिक कम्पनीको साधारण सेयरमा १० अर्ब रुपैयाँ लगानी गर्दा अन्य कम्पनीको संस्थापक सेयरमा ९ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र तथा ऋणपत्रमा भने जीवन बीमा कम्पनीको ४ अर्ब रुपैयाँ लगानी भएको छ । यसबाहेक जीवन बीमा कम्पनीहरुले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभएका कम्पनीको सेयरमा ३४ करोड रुपैयाँ लगानी गरेका छन् ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुले ७८ अर्ब लगानी गरेका थिए ।

वाणिज्य बैंकको निक्षेपमा ६८ प्रतिशत

प्राधिकरणले लगानीलाई १३ क्षेत्रमा विविधीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । तर, जीवन बीमा कम्पनीहरुले कुल लगानीको ६८ प्रतिशत रकम मुद्दति निक्षेपमा राखेका छन् ।

जीवन बीमा कम्पनीले (क) वर्गका बैंक तथा पूर्वाधार बैंकको मुद्दति निक्षेपमा ३० प्रतिशतमात्रै लगानी गर्न पाउने व्यवस्था छ । तर, जीवन बीमा कम्पनीले ‘क’ वर्गका बैंकको मुद्दति निक्षेपमा ४ खर्ब १८ करोड रुपैयाँ र पूर्वाधार विकास बैंकमा ७ करोड गरी ४ खर्ब १९ करोड रुपैयाँ लगानी गरेका छन् ।

यसबाहेक (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थामा भने ४६ अर्ब २१ करोड रुपैयाँ लगानी गरेका छन् । अन्य लगानी समूहतर्फ भने जीवन बीमा कम्पनीले ३७ अर्ब २५ करोड रुपैयाँ लगानी गरेका छन् ।

कम्पनीहरुले कृषि उत्पादन तथा वितरण, शीतभण्डार, पर्यटनलगायतका क्षेत्रमा ७ अर्ब लगानी गरेका छन् । यस्तै नागरिक लगानी कोष र म्युचुअल फन्डमा १ अर्ब ७० करोड रुपैयाँ लगानी गरेका छन् । यसबाहेक इन्भेस्टमेन्ट कम्पनीको सेयरमा ३१ करोड रुपैयाँ लगानी गरेको प्राधिकरणले जनाएको छ ।

घरजग्गामा छैन लगानी

लगानी निर्देशिकाअनुसार जीवन बीमा कम्पनीले कुल लगानीको १० प्रतिशतसम्म रकम घरजग्गामा लगानी गर्न सक्छन् । कार्यालय प्रयोजनका लागि घरजग्गा किन्न थालेका जीवन बीमा कम्पनीले पहिलो त्रैमासमा घरजग्गा भने खरिद गरेका छैनन् ।

कुन क्षेत्रमा कति लगानी गर्न पाउँछन् ?

बीमा प्राधिकरणले जारी गरेको लगानीसम्बन्धी निर्देशिकाअनुसार बीमा कम्पनीहरुले सरकारी बचतपत्र वा ऋणपत्रमा अधिकतम २५ प्रतिशतसम्म, राष्ट्र बैंकबाट इजाजत प्राप्त (क) वर्गका बैंक तथा पूर्वाधार विकास बैंकको मुद्दति निक्षेपमा ३० प्रतिशतसम्म, (ख) वर्गका वित्तीय संस्थामा १० प्रतिशतसम्म र ग वर्गका संस्थामा ५ प्रतिशत रकम लगानी गर्न पाउँछन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको डिबेन्चरमा कुल लगानीको ३० प्रतिशतसम्म, धितोपत्र बोर्डबाट इजाजत प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको डिबेन्चरमा लगानीको ३० प्रतिशतसम्म, धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा १० प्रतिशतसम्म र नागरिक लगानी कोष तथा म्युचुअल फन्डका लगानी योजनाहरुमा ५ प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

यसबाहेक प्राधिकरणले घरजग्गा व्यवसायमा पनि कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ । त्यस्तै कृषि उत्पादन तथा वितरण, शीतभण्डार गृह, पर्यटन, उद्योग, जलविद्युत्, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जा परियोजना, केवलकार, सडक, विद्युत् प्रसारणलाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा १० प्रतिशतसम्म र इन्भेस्टमेन्ट कम्पनीको सेयरमा ५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।


क्लिकमान्डु