गाडी व्यापारीलाई चुनाव लाग्यो, नाडा अध्यक्षमा चौधरी-गोल्छा आमनेसामने



काठमाडौं । तपाईंहामीले दिनानुदिन जाडो बढिरहेको महशुस गर्दा गाडी व्यपारीहरु भने तातिइरहेका छन् । चुनावी सारगर्मीले देशैभरका गाडी व्यापारीहरु दौडधुपमा व्यस्त छन् ।

नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको चुनाव आगामी पुस २० र २१ गते हुने भएको छ । नाडाको अध्यक्षमा हालसम्ममा तीन जनाको आकांक्षी देखिएका छन् । भावी अध्यक्षका लागि फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशकसमेत रहेका नाडाको विद्यमान कार्यसमितिका उपाध्यक्ष आकाश गोल्छा, सीजी होल्डिङ्स सञ्चालकसमेत रहेका अघिल्लो कार्यसमितिका उपाध्यक्ष करण चौधरी र हाल नाडाको कार्यसमिति सदस्य रहेका प्रकाश कपुरी आकांक्षी देखिएका छन् ।

भावी अध्यक्षका लागि आकांक्षी देखिएका तीनजनामध्ये गोल्छा र चौधरीबीच प्रतिस्पर्धा हुने व्यवसायीहरु बताउँछन् । चौधरीले यसअघिको निर्वाचनमा ध्रुव थापासँग जम्मा ६६ मतको झिनो अन्तरले अध्यक्षमा पराजित भएका थिए ।

टाटा ब्राण्डको गाडी बेच्ने सिप्रदि ट्रेडिंगका सीइओ राजेशबाबु श्रेष्ठ अध्यक्षमा उठ्ने चर्चा थियो । तर, श्रेष्ठ आफू पछि हटेर चौधरीलाई अघि बढाएका छन् ।

अध्यक्ष प्रत्यासी गोल्छालाई नाडाका पूर्वअध्यक्षहरु शेखर गोल्छा, अञ्जन श्रेष्ठ, कृष्ण दुलाल लगायतको साथ छ । नाडामा करिब ३३ सय मतदाता छन् । सर्वसहमतिको प्रयास भइरहेको अध्यक्ष धु्रब थापा बताउँछन् ।


क्लिकमान्डु