पर्यटन प्रवर्धकको नियुक्ति खान लावालस्कर, प्रस्ताव नमाग्दै १९ देशका लागि २३ जनाको आवेदन
काठमाडौं । पर्यटन प्रवर्धकको नियुक्ति खान पर्यटन मन्त्रालयमा आवदेन दिनेको लावालस्कर नै लागेको छ । पर्यटनमन्त्री सुदन किराँतीले गत चैतमा पुरानालाई हटाएर नयाँ नियुक्ति गर्न कार्यविधि परिवर्तन गरेका थिए ।
कार्यविधि परिवर्तन गरेपछि अहिले आवेदन नमाग्दै पर्यटन मन्त्रालयमा पर्यटन प्रवर्धकको नियुक्ति खान लाम लागेको हो । पर्यटन मन्त्रालयमा अहिलेसम्म १९ मुलुकका लागि २३ जनाले आवेदन दिइसकेका छन् ।
पर्यटन मन्त्रालयका अनुसार यसअघि पर्यटन दूतका रूपमा नियुक्ति हुने गरेका पर्यटन प्रवर्धकलाई व्यवस्थित बनाउन भन्दै मन्त्रालयले कार्यविधि जारी गरेको थियो ।
नेपाल पर्यटन बोर्डले आवश्यकताका आधारमा नियुक्ति गरिने पर्यटक प्रवर्धकको नियुक्ति पूर्वपर्यटनमन्त्री प्रेम आलेले रोकेका थिए । आले र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनञ्जय रेग्मीबीच कुरा नमिल्दा पर्यटन मन्त्रालयले हस्तक्षेप गरेर पर्यटन सद्भावना दूत आफैंले नियुक्त गर्न थालेको थियो । आलेले नियुक्त गर्न ठिक्क पारेका व्यक्तिलाई नेकपा समाजवादी पार्टीबाटै मन्त्री बनेका जीवनराम श्रेष्ठले नियुक्त गरेका थिए ।
श्रेष्ठले जाँदाजाँदै २६ जनालाई नियुक्त गरेका थिए । श्रेष्ठले गरेका सबै पर्यटन दूतको नियुक्ति बदर गर्दै पर्यटनमन्त्री किराँतीले गत चैतमा पर्यटन प्रवर्धकका रूपमा नियुक्ति दिने गरी नयाँ कार्यविधि ल्याएका हुन् । मन्त्री किराँतीले ल्याएको कार्यविधिअनुसार नियुक्ति खान अहिले पर्यटन मन्त्रालयमा २३ जनाको आवदेन परेको छ ।
पर्यटन मन्त्रालयका अनुसार यसअघि पर्यटन दूत भएका ४ जनासहित अन्य १९ जनाले आवेदन दिएका छन् । पर्यटन प्रवर्धक हुन तोकिएको योग्यता खुलाएका र योग्यता नै नखुलाई आवेदन दिनेहरूले एउटै देशका विभिन्न सहरमा नियुक्त मागेका छन् ।
पर्यटन मन्त्रालयका अनुसार अढाई दशकदेखि बेल्जियम बसेका र कलाकारिता गरेका श्याम श्रेष्ठले जर्मनीका लागि र विभिन्न देशमा पर्यटन प्रवर्धन गरेको भन्दै सोमनाथ सापकोटाले बेलायतका लागि नियुक्ति मागेका छन् ।
२० वर्षदेखि मकाउमा मण्डला ग्लोबल कम्पनीमा व्यवस्थापक निर्देशक भएर काम गरेका दोर्जे शेर्पाले चीनको मकाउमा, पर्यटन प्रवर्धनमा काम गरेको भन्दै बेखमान व्यञ्जनकारले क्यानडामा नियुक्ति मागेका छन् ।
पेसाको अनुभव नै नखुलाई ह्वाङ क्युहोले कोरिया, हरिबहादुर तामाङले क्रोएसिया, मिलन गुरुङले अमेरिका, अभिष्कार पाण्डेले अस्टे्रलिया, राजु पराजुलीले अमेरिका र चिरनरत्न शाक्यले थाइल्यान्डका लागि नियुक्ति मागेका छन् ।
तीन दशकदेखि खेलकुदमा काम गरेको अनुभव भएको भन्दै दानबहादुर घिसिङले हार्वर (अस्ट्रेलिया), ३ दशकदेखि पर्यटन प्रवर्धनमा काम गरेको भन्दै उदयदेव आचार्यले पोल्यान्डमा प्रवर्धकको नियुक्ति मागेका छन् ।
नौ वर्षदेखि व्यवसाय गरेको भन्दै रमेशराज बास्तोलाले पोर्चुगलमा, भिजिट नेपाल कार्यक्रम गरेका राजेन्द्र आर्यालले साउदी अरबमा र २० वर्षदेखि व्यापार गरेका राजेन्द्रकुमार शर्माले कतारको पर्यटन प्रवर्धक हुन इच्छा देखाएका छन् ।
यस्तै लामो समयदेखि प्रवर्धनको काम गरेको भन्दै नरबहादुर टण्डनले क्यानडा, तीन वर्षदेखि नेपाल चिनाउ अभियान गरेको भन्दै प्रकाश भण्डारीले माल्टा र ६ वर्षदेखि व्यापार गरिरहेको भन्दै तेजप्रकाश पुनले हङकङमा नियुक्ति मागेका छन् ।
१३ वर्षदेखि नेपाली संस्कृतिको प्रवर्धन गरेको दाबी गर्ने सुमन अधिकारीले क्यानडा तथा १७ वर्षदेखि नेपाली समाजको उत्थानमा लागेको भन्दै मोहम्मद रमजान अली मियाँले कतारका लागि नियुक्ति मागेका छन् ।
लामो समयदेखि प्रवर्धनमा लागेको भन्दै विनोद अधिकारी पेन्सिलभेनिया (अमेरिका), ३० वर्षदेखि वरिष्ठ पर्यटन व्यवसायी तथा समाजसेवीको रूपमा काम गरेको दाबी गर्दै सागर विष्ट चीन र २० वर्षदेखि व्यापार गरेको भन्दै वसन्त न्यौपाने आयरल्यान्डमा पर्यटन प्रवर्धक बन्न चाहेका छन् ।
पर्यटन बोर्डको अधिकारमाथि हस्तक्षेप
पर्यटन बोर्ड स्थापना भएदेखि नै बोर्डले पर्यटन सद्भावना दूतका रूपमा ‘अनररी पब्लिक रिलेसन रिप्रिजेन्टेटिभ’ (एचपीआरआर) नियुक्त गर्दै आएको यस्तो नियुक्तिको पर्यटन मन्त्रालयले हस्तक्षेप गर्न थालेको छ ।
मन्त्रीले आसेपासे र कार्यकर्ता नियुक्त गर्न बोर्डको अधिकार खोसेको आरोप नेपाल पर्यटन बोर्डले लगाएको छ । बोर्डले नियुक्तिका लागि उपयुक्त व्यक्ति भन्दा पनि आफन्त र आसेपासेलाई नियुक्ति दिलाउन खोजिएको आरोप बोर्डको छ । मन्त्रालयले बोर्डसँग समन्वय नै नगरी यस्तो नियुक्ति गर्दै आएको आरोप पनि लगाएको छ ।
कार्यविधिमा १० वर्षदेखि पर्यटनसम्बन्धी व्यापार तथा पेसामा आबद्ध भएको र पर्यटन, संस्कृति, खेलकुद र कलाकारितामा १० वर्ष लामो अनुभव भएको व्यक्तिलाई पर्यटन प्रवर्धकको रूपमा नियुक्ति दिने व्यवस्था छ ।
पर्यटन मन्त्रालयको प्रवर्धन महाशाखा प्रमुखको संयोजकत्वको ४ सदस्यीय एक मूल्यांकन समितिले दिएको सिफारिसका आधारमा पर्यटक प्रवर्धक नियुक्त हुने व्यवस्था छ । पर्यटन प्रवर्धक कार्यसम्पादन समितिले गरेको मूल्यांकनका आधारमा प्रवर्धकको नियुक्ति हुने मन्त्रालयले जनाएको छ ।
पर्यटन मन्त्रालयका प्रवक्ता हेमराज तामाङले पर्यटन प्रवर्धकको आवेदन धेरैको एकैपटक आएको तर कसैलाई पनि नियुक्ति नदिएको बताए । ‘आवेदनमाथि आवश्यक अध्ययन गर्ने काम भइरहेको छ । उनीहरूको नियुक्ति पर्यटन मन्त्रालयले तयार पारेको ‘पर्यटन प्रवर्धकसम्बन्धी कार्यविधि २०७९’ अनुसार नै हुनेछ,’ उनले भने ।
मन्त्रालयका पर्यटन प्रवर्धन महाशाखा प्रमुख राजेन्द्रकुमार केसीले आवेदनमाथि आवश्यक अध्ययन नगरी अहिले नै ठ्याक्कै यही हो भन्न नसकिने बताए । ‘कार्यविधिअनुसार आवेदन आएकाले सोही अनुसार नियुक्ति हुनसक्छ,’ उनले भने । यो विषयमा आफूलाई थप जानकारी नभएको केसीले बताए ।
पर्यटन मन्त्रालयका अनुसार पर्यटन प्रवर्धकले कुनै पारिश्रमिकबिना प्रवर्धनको काम गर्नुपर्ने हुन्छ । पर्यटक प्रवर्धकले कार्यविधिमा तोकिएअनुसारको पर्यटन प्रवर्धन गर्ने जिम्मेवारी पाउनेछन् । उनीहरुको नियुक्ति २ वर्षका लागि हुनेछ ।