जलविद्युत क्षेत्रमा १४२ प्रतिशतले घट्यो लगानी, असोजसम्म ५ वटा आयोजनाको प्रतिबद्धता 



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा गत वर्षको तुलनामा जलविद्युत क्षेत्रमा १४२.२० प्रतिशतले लगानी प्रतिबद्धता घटेको छ । उद्योग विभागमा दर्ता भएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा लगानी प्रतिबद्धता घटेको हो । 

गत आर्थिक वर्षमा असोजसम्ममा १९ वटा आयोजनाले ५८ अर्ब २२ करोड ४२ लाख ८५ हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका थिए । तर, यो वर्षको सोही अवधिमा ५ वटा आयोजनाले २४ अर्ब ३ करोड ९० लाख २० हजार रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । 

असोजसम्ममा दर्ता भएको तथ्याङ्कअनुसार गत साउनको  २२ गते एउटै आयोजनाबाट साढे १३ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । विभागमा सिम्बुवा रेमिट हाइड्रो लिमिटेडले ताप्लेजुङ जिल्लाको फुङलिङ गाविसमा १३ अर्ब ४४ करोड रुपैयाँ लगानीमा जलविद्युत आयोजना सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । 

उक्त आयोजनाबाट ७०.३ मेगावाट बिजुली उत्पादन हुनेछ । कम्पनीअनुसार आयोजनाबाट वार्षिक ३७८.९६ गिगावाट उत्पादन गर्नेछ । त्यस्तै, आयोजनाबाट सुक्खाको समयमा १७७.४३ गिगावाट र वर्षाको समयमा २६१.५३ गिगावाट बिजुली उत्पादन गर्ने अनुमान गरेको छ । उक्त  आयोजनाबाट  ५२ जनाले रोजगारी पाउनेछन् । 

त्यसै गरी, साउनमै  लमजुङ जिल्लाको अर्चलबोट गाविसमा म्यार्दी खोला हाइड्रोपावर कम्पनीले प्रालिले बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले ४ अर्ब २२ करोड ९६ लाख ३३ हजार कुल चुक्ता पूँजी लगानी गरी २७.५० मेगावाट बिजुली उत्पादन गर्ने जनाएको छ । उक्त आयोजनाबाट ४५ जनाले रोजगारी पाउनेछन् । 

त्यस्तै, विभागमा सोलरबाट २.३ मेगावाट बिजुली उत्पादन गर्ने गरी तराई इनर्जी कम्पनी दर्ता गरेको छ । कम्पनीले १८ करोड लगानीमा सोलरबाट बिजुली उत्पादन गर्नेछ । जसबाट ८ जनाले रोजगारी पाउनेछन् ।  

विभागअनुसार कास्की जिल्लाको माछापुच्छ्रे गाविसमा एसएन इनर्जी प्रालिले २४ मेगावाट बिजुली उत्पादन गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले ४ अर्ब ३८ करोड ७६ लाख ८३ हजार लगानी प्रतिबद्धता जनाएको छ । उक्त आयोजनाबाट वार्षिक औसत १३७.२७ गिगावाट बिजुली उत्पादन हुनेछ । कम्पनीअनुसार आयोजनाबाट सुक्खा याममा औसत २४.३१ गिगावाट र वर्षा याममा औसत ९६.३४ गिगावाट बिजुली उत्पादन हुनेछ । साथै, आयोजनबाट ६५ जनाले रोजगारी पाउनेछन् । 

इलाम जिल्लाको सुवर्णखाल गाविसमा सिद्धि हाइड्रोपावर कम्पनीले सिद्धि खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याउने भएको छ । आयोजनाको लागत १ अर्ब ८० करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । आयोजनाबाट १० मेगावाट  बिजुली उत्पादन गर्नेछ ।

कम्पनीअनुसार आयोजनाबाट वार्षिक औसत ५५.७१ गिगावाट बिजुली उत्पादन हुनेछ । त्यसै गरी, सुक्खा याममा औसत ८.८० गिगावाट र वर्षा याममा औसतमा ४६.९१ गिगावाट बिजुली उत्पादन हुने गरी विभागमा उद्योग दर्ता गरेको छ । साथै, आयोजनाबाट २५ जनाले रोजगारी पाउनेछन् । विभागमा दर्ता भएको जलविद्युत आयोजनामा सम्पूर्ण स्वदेशी लगानी रहेको छ । 


अरिष्मा मोक्तान