अर्थतन्त्रमा थोरै सुधार गर्यौं भने ब्याजदर कम हुँदै जान्छ: चन्द्र ढकाल



धार्मिकसँगै सांस्कृतिक र आर्थिक महत्व बोकेका हाम्रा दसैं तिहार लगायतका चाडवाड एक अर्कामा भाइचारा अभिवृद्धि गर्दै शुख शान्ति एवं समृद्धिको कामना गर्ने अवसर पनि हुन् ।

राम्रो लाउने र मिठो खाने अवसरका रुपमा समेत हेरिने यी चाडवाडलाई उत्साह र उमंगका साथ परिवारसंगै बसेर मनाउन सकिने अवसरको सिर्जना गर्ने प्रयत्नमा हामी लागेका छौं ।

लगानी बढाऔं र स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गरौं भनेर महासंघले निरन्तर गरिरहेको पहल यसैका लागि हो । कोही पनि चाडवाडका बेला परिवारबाट टाढा नहोस् । दसैं दशाको रुपमा नभइ उत्साहका रुपमा सबै नेपालीको घरमा भित्रियोस भन्ने हाम्रो चाहना हो ।

त्यसका लागि रोजगारीका पर्याप्त अवसर सिर्जना गरेर गरिबी हटाउनुपर्छ । रोजगारीका लागि लगानी आवश्यक हुन्छ । त्यो लगानी स्वदेशीले मात्र पुग्दैन विदेशी लगानी पनि चाहिन्छ । त्यसैको खोजीमा अहिले हामी जुटेका छौं ।

पछिल्ला दुई दसैं नेपाली उद्यमी व्यवसायीका लागि त्यति उत्साहजनक रहेनन् । कारण यहाँहरुलाई थाहै छ । मूलतः हाम्रा आफ्नै नीतिका कारण हामी समस्यामा परेका हौं । आजको पावन अवसरमा म विगतलाई कोट्याएर निराश बन्न र यहाँहरुलाई पनि निराशामा राख्न चाहन्न ।

अबको दिनमा अर्थतन्त्रमा सुधारका केहि किरण देखिन थालेका छन् । प्रधानमन्त्रीले आर्थिक सुधारका लागि उच्चस्तरिय आयोग गठन गर्ने कुरामा गत असोज २५ गते महासंघको कार्यक्रममा प्रतिवद्धता जनाउनुभएको छ ।

उक्त आयोगले तात्कालीन सुधारका लागि सबैतिर समन्वय र सहकार्य गर्नुका साथै नयाँ पुस्ताको सुधारको खाका बनाउनेछ । यसमा निजी क्षेत्रको प्रतिनिधित्व अनिवार्य रुपमा रहने गरि व्यवस्था गर्नुपर्ने हाम्रो आग्रह हो ।

हामीले प्रस्ताव गरेको उक्त संयन्त्रले अन्य कुनै निकायको जिम्मेवारी खोस्ने छैन । यसमा आवश्यक कर्मचारी सम्बन्धित निकायबाट नै लिन सकिन्छ । अर्थ, उद्योग मन्त्रालय, योजना आयोग एवं नेपाल राष्ट्र बैंकको उच्च नेतृत्व यसमा रहनु आवश्यक हुने हाम्रो सुझाब हो ।

अर्थतन्त्रका वाह्य परिसूचक र तरलताको अवस्थामा सुधार भएको अहिलेको अवस्थामा समन्वयात्मक रुपमा अगाडि बढन सकियो भने हामी सुधारको नयाँ चरणमा प्रवेश गर्नेछौं ।

किनभने अहिले आयात गर्न पर्याप्त सञ्चिति छ । सञ्चितिसँगै चालु खाता र शोधनान्तर अवस्थामा सकारात्मक रहेको हुँदा विदेशी लगानीकर्तालाई पनि ढुक्क हुने अवस्था छ । रेमिट्यान्सले बजार चलायमान बनाइ राख्ने नै छ।

बैंक वित्तिय संस्थाहरुसंग करिब ५ खर्ब रुपैयाँ छ । उनीहरु लगानी गर्न तयार छन् र हामीले थोरै सुधार गर्यौं भने ब्याजदर पनि कम हुँदै जानेछ । यसले बजारमा माग सिर्जना गर्ने नै छ । तर यसका लागि नीतिगत सुधार र स्थायत्विमा पूर्व शर्त हुन् ।

उच्चस्तरीय आयोगले त्यसको प्रत्याभूति गर्नेछ । अब हामीले सुधारका लागि ढिलाई गर्नु हुँदैन । विश्वमा विभिन्न युद्धहरुले अनिश्चितता सिर्जना गर्दै गैरहेको छ । हाम्रो युवा उमेरको लाभ अबको ३० बर्षमा लिन सकिने छैन । त्यसैले सुधारका लागि सबै मिलेर पहल गरौं ।

हाम्रो भविष्य उज्वल छ । हामी पौरखी छौ । हामीले गर्न सक्छौं । अब आर्थिक सुधारलाई मूल मन्त्र बनाउँ ।

( ढकालले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश )


क्लिकमान्डु