दसैंमा घर जाने यात्रुमाथि ठगी, ‘सुपर डिलक्स’ को भाडा लिएर सामान्य गाडीको टिकट



काठमाडौं । दसैंमा चाडवाड मनाउन घर फर्कने यात्रुबाट यातायात व्यवसायीले सेवा सुविधाको नाममा ढाँटेर अत्यधिक भाडा असुल गरिरहेको पाइएको छ ।

यातायात व्यवसायीले सामान्य यात्रुवाहक सबारी साधनको सेवा सुविधा उपलब्ध गराई ‘सुपर डिलक्स’ को नाममा यात्रुहरुबाट अधिकतम भाडा दर असुल गरी ठगी गरेको पाइएको हो ।

बसमा अत्यधिक चौडा फोल्डिङ सिट, बढी स्थान, वाईफाई, पानी, पूर्ण रुपमा वातानुकुलित, अडियो भिडियो मनोरञ्जनको व्यवस्था, सिटभन्दा बढी यात्रु नबोक्ने, सिटमाथि बत्ति, पंखा र स्वीचको व्यवस्थाका साथै मोवाइल चार्जरसमेतको सुविधा भएको भन्दै यात्रुबाट सुपर डिलक्स सेवाको नाममा अत्यधिक भाडा दर असुल गरेका हुन् ।

यातायात व्यवसायीले बर्षभरीको कमाइ दसैं अवधिमा निकाल्ने योजनाका सामान्य सिट भएको बसलाई सुपर डिलक्सको नाममा यात्रुलाई लुटिरहेका छन् । साधारण बसलाई पनि ‘डिलक्स’ र ‘सुपर डिलक्स’ को नाममा व्यवसायीले अधिकतम भाडा दर असुल गरी ठग्दै आएका हुन् । सेवा सुविधाअनुसार सरकारले डिलक्स र सुपर डिलक्सको यात्रु भाडा दर सबैभन्दा बढी तोकेको छ ।

गाडीलाई सुपर डिलक्स भन्ने र तिनमा के–कस्ता सुविधा हुनुपर्ने बिषयमा सरकारले अनुगमन नगर्दा सुपर डिलक्सका नाममा यात्रु ठगिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।

‘काठमाडौंबाट गुलरिया जान टिकट काट्दा यातायात कर्मचारीले सुपर डिलक्सको नाममा २ हजार ३ सय १६ रुपैयाँको टिकट भिडाए,’ गुलरिया नगरपालिका ३ का सिमान्त केसीले भने,‘तर बसमा यात्रा गर्दा समान्यस्तरको फोल्डिङ सीट मात्रै थियो । त्यो फोल्डिङ सीट पनि बिग्रेर घरी तल जाने घरी माथि जाने भइरहने खालको थियो । यो बाहेक अतिरिक्त कुनै सुविधा थिएन । तर पैसा सुपर डिलक्सकै नाममा असुल गरियो ।’

केसीले आफूजस्तै सयौं यात्रुहरु सुपर डिलक्स सेवाको नाममा ठगिएको गुनासो पोखे । टिकटमै साधारण, सुपर र सुपर डिलक्स भनेर मापदण्ड उल्लेख नहुँदा हजारौं यात्रु रकमको तुलनामा सेवा नपाइँदा ठगिएको उनले बताए ।

राजधानीबाट बाहिरिने क्रममा विभिन्न स्थानमा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीको टोलीबाट अनुगमन हुन नसक्दा यात्रुले अत्याधिक भाडा बुझाएर पनि साधारण बसमा कष्टकर यात्रा गर्न बाध्य भएको उनको भनाइ छ ।

‘बसमा वाईफाई, वातानुकुलित, पंखा, मोवाइल चार्ज गर्न मिल्ने र आरामदायी सिट चौडाका साथै मनोरञ्जनको व्यवस्था भनेर सुपर डिलक्सको नाममा रकम लियो,’ टेलिफोन सम्पर्कमा आएका केसीले भने,‘तर बिग्रेको फोल्डिङ सिटबाहेक अन्य कुनै सुविधा थिएन । लास्टै झुर र कवाडी बसमा यात्रा गर्नुपर्यो ।’

सरकारले काठमाडौंबाट गुलरिया जाने साधारण बसको हकमा १ हजार ६ सय ८ रुपैयाँ, डिलक्सको हकमा १ हजार ९ सय ३० र सुपर डिलक्सको हकमा २ हजार ३ सय १६ रुपैयाँ भाडा दर तोकेको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ को उपदफा २ को (क) ले वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतोल, ढाँचा वा बनावटआदी ढाँटी, लुकाई, छिपाई वा झुक्याई त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्न नपाइने व्यवस्था गरेको छ । ऐनले यस्तो कार्यलाई अनुचित व्यापारिक तथा व्यवसाय क्रियाकलाप अन्तर्गत राखेको छ ।

सोही दफाको (ख) ले झुठा वा भ्रमपूर्ण विज्ञापन गरी वस्तु वा सेवा बिक्री वा प्रदान गर्न नपाइने व्यवस्था गरेको छ । यस्तै उपदफा १ को (ग) अन्तर्गत १ मा कमशल वस्तुलाई विशिष्ट वा गुणस्तर भएको स्तरमान, गुणस्तर, मात्रा, श्रेणी, संरचना, डिजाइन देखाई बिक्री गर्न नपाइने व्यवस्था गरेको छ ।

यसरी भ्रमपूर्ण एउटा सेवा देखाएर कमशल सेवा उपलब्ध गराउनेको हकमा यो ऐनको दफा ३८ को (ङ) कसुर सजायअनुसार २ लाखदेखि ३ लाख रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था गरेको छ । त्यस्तै कमशल वस्तुलाई विशिष्ट वा गुणस्तर भएको स्तरमान, गुणस्तर, मात्रा, श्रेणी, संरचना, डिजाइनको नाममा ठगि गर्ने कसुरअन्तर्गत ३८ को (च) ले २ बर्षदेखि ५ बर्षको कैद वा ४ लाखदेखि ६ लाख रुपैयाँ जरिवाना वा दुवै हुन सक्ने व्यवस्था गरेको छ ।

वाईफाई, एयर कन्डिसन, भिडियो, धेरै चौडा र आरामदायी फोल्डिङ सीट भएको भन्दै यातायात व्यवसायीले सुपर डिलक्सको लागि तोकिएको उच्चतम भाडा दर यात्रुहरुबाट असुल गरी ठगि गरेको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बिष्णु तिम्लिसिनाले बताए ।

‘सुपर डिलक्सको नाममा अधिकतम भाडा दर असुल गरी सबै जिल्लाको बस टिकट काटिएका छन र काट्ने क्रम जारी छ,’महासचिव तिम्लिसिनाले भने,‘यातायात व्यवसायी, ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको मिलेमतोमा साधारण बसलाई पनि सुपर डिलक्सको नाममा अधिकतम भाडा दर असुल गरी टिकट काटिएको छ ।’

उनले राज्य गम्भिर भएर अनुगमन नगरेका कारण यातायात व्यवसायीले अधिकतम भाडादर यात्रुबाट असुल गरेको बताए । उनले भने,‘ट्राफिक प्रहरीले पनि केही रकमको भरमा सजिलै छाडिदिने प्रवृतिले यातायात व्यवसायीको मनोवल बढेका कारण चाडवाडको समयमा ठगि धन्धा अत्यधिक मौलाएको छ ।’

जनशक्ति अभावको नाममा राज्यले चाडवाडको समयमा यात्रुलाई लुटिन बाध्य बनाएको बताउँदै उपभोक्तावादी तिम्लिसिनाले टिकट काट्दा एउटाको भनेर भाडा उठाइएको छ । ‘तर यात्रा गर्दा कमशल सुविधा भएको बसमा यात्रुलाई यात्रा गर्न बाध्य बनाइएको दर्जनौं गुनासो हाम्रो संस्थामा आइपुगेको छ,’ तिम्लिसिनाले भने ।

तिम्लिसिनाले भनेजस्तै अहिले यातायात व्यवसायीले देशभरकै रुटमा सुपर डिलक्सको नाममा बसको भाडा दर उठाएर यात्रुलाई टिकट बेचेका छन् ।

यस्तै घर जाने सर्वसाधारणको चाप बढेर बस संख्या कम भएको रुटमा कुदाइएको साधारण बसको टिकट पनि सुपर डिलक्सकै नाममा काटिएका छन् । उता सामान्य स्तरको जीप, मिनीबस र माइक्रोमा स्तरीय वर्गको भनेर अधिकतम भाडादर यात्रुबाट असुल गरिएको छ ।

विराटनगरको वरगाछी बस्ने सुमित्रा दाहालले पनि सुपर डिलक्सको नाममा २ हजार २ सय १२ रुपैयाँ असुल गरि बसका कर्मचारीले सामान्यस्तरको फोल्डिङ सिट मात्रै भएको बसमा कोचेर बसालेको आरोप लगाइन् । दाहालले आफूले चढ्को बसमा सरकारले तोकेको सुपर डिलक्स बसको कुनै सुविधा उपलब्ध नभएको जानकारी दिइन् ।

‘अत्यधिक भाडा तिरेर पनि कोचिएर निक्कै सास्तीपूर्ण यात्रा गर्नुपर्यो, सधैजसो उही बसमा यात्रा गर्दा भनेको समयमा टिकट राखिदिएकाले बसको नाम उल्लेख नगरौं,’टेलिफोन सम्पर्कमा दाहालले भनिन्,‘ व्यवसायीले भीडभाडको मौका छोपेर चाडवाडमै अत्यधिक ठग्ने भएकाले यो समयमा पनि सरकारले गम्भिर भएर अनुगमन नगरिदिए राज्यको उपस्थिति किन चाहियो र ?’

विराटनगर जाने सामान्यस्तरको बसको भाडा दर प्रति यात्रु १ हजार ५ सय ४७ र डिलक्सको १ हजार ८ सय ५७ रुपैयाँ सरकारले तोकेको छ ।

उर्का उपभोक्तावादी प्रेमलाल महर्जनले राज्यको संरक्षणमा यातायात व्यवसायीले सुपर डिलक्सको नाममा ठूलो रकम यात्रुबाट लुटिएको बताए ।

‘कडाईका साथ अनुगमन भए पो घटना सार्वजनिक हुन्छ, यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरीले आँखा चिम्लेका कारण टिकटमा कालोबजारी, एउटा सीटको टिकट लिएर अर्को सिट दिएको, टिकटमा ठगि भएकोलगायतका कुनै पनि घटना बाहिर आउन सकेन,’ उपभोक्तावादी महर्जनले भने,‘अहिले सबैभन्दा ठूलो ठगि भनेकै साधारण बसलाई सुपर डिलक्सको नाममा भाडा दर असुल्ने र मुढालाई पनि पूर्ण भाडा दर असुल गरिएको पाइएको छ ।’

लामो दूरीको यात्रु वाहक बसमा दुई जना चालक राख्ने व्यवस्था भएपनि एउटै चालकले यात्रु बोकेर गन्त्व्यसम्म पुर्याउने काम गर्दै आएपनि सरकारले कुनै चासो नदेखाउनु पछाडी मिलेमतो हुन सक्ने उनको भनाई छ । १ जना स्टाफ बस्ने हुडमा पनि ७ जनासम्म यात्रुलाई पूर्ण भाडा दरमा टिकट काटिएको अर्को वेथिती भेटिएको महर्जनले बताए ।

उनकाअनुसार पर्याप्त सबारी साधनको अभावमा बसका कर्मचारीले गैरकानुनी रुपमा पुरै भाडा असुल गरी मुढा र बर्नटको पनि टिकट काटेको बताए । सिट नपाएका यात्रुहरु पूर्ण भाडा तिरेर उभिएर पनि यात्रा गर्नुपर्ने बाध्यता भएको उनको भनाई छ ।

‘बाटोघाटो ध्वस्त भएको अवस्थामा सरकारको मिलेमतोमा मुढा र बर्नटको पनि पुरै भाडा दर असुल गरी टिकट काटिएको पाइएको छ,’ महर्जनले भने,‘एउटै सिट ४ जनासम्मको यात्रुको नाममा काटिएको फेला परेको छ ।’ विभागले कारवाही गर्छौ भनेर वास्ता नगरेको उनको भनाई छ ।

चाडवाडको समयमा वेथिति यतिमै सिमित छैन, यातायात व्यवसायी र बसका कर्मचारीको मिलेमतोमा हरेक बस, मिनिवस, जीप र माइक्रोमा ३ देखि ४ वटा सिट लुकाएर राखिएको पाइएको छ । यस्तो सिट अत्यधिक मूल्यमा वार्गेनिङ गरेर मात्रै यात्रुलाई उपलब्ध गराइएको महर्जनले जानकारी दिए ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ट उपाध्यक्ष सरोज सिटौंलाले टिकट र बस सेवाको नाममा ठगि नभएको दाबी गरे । उनले अधिकाँश जिल्लाको लामो दूरीमा सुपर डिलक्स बस भएकाले सोहि आधारमा भाडा दर उठाइएको जानकारी दिए ।
लामो दूरीमा सामान्यस्तरको बस नगण्य भएकाले यात्रुहरुले खोजेअनुसार सेवा उपलब्ध गराउँदै सुपर डिलक्सको भाडामा टिकट काटिएको बताए ।

‘भन्नलाई धेरैले धेरै कुरा भन्छन्,’ महासचिव सिटौंलाले भने,‘तर यातायात व्यवसायी र टिकट काट्ने आधिकारिक कर्मचारीले कुनै पनि यात्रुलाई ढाँटेर टिकट बिक्री गरेको छैन् । जुन सेवाको नाममा टिकट काटिएको छ, त्यो सुविधा उपलब्ध गराइएको छ । भिडभाडको समय भएकाले केही तलमाथि हुन सक्ला । तर सास्ती नै दिएको र ठगेको चाँही होइन होला ।’

उनकाअनुसार गत आइतबारदेखि शनिबारसम्ममा करिब ९ लाखको संख्यामा यात्रु घर फर्केका छन् । घर फर्कने यात्रुको चाप अष्टमी (कात्तिक ५ गतेसम्म) अत्यधिक रहने जानकारी दिदैं सिटौलाले सरकारले तोकेको मूल्य र सेवाको स्तरमा रहेर मात्रै टिकट काटिएको बताए ।

दसैंमा उपत्यकाबाट झण्डै १२ लाखको संख्यामा सर्वसाधारण पर्व मनाउन घर फर्किने गर्छन् । यात्रुको चाप बढेका कारण अहिले हरेक रुपमा नियमित बस संख्यावाहेक दैनिक १० देखि १५ वटा बस थपिएको महासंघले जनाएको छ ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुले पनि महासचिव सिटौंलाकै भनाईमा समर्थन गर्दै यात्रुबाट बढी भाडा दर असुल नभएको दाबी गरे । लामो दूरीमा गुड्ने अधिकाँश बस डिलक्स र सुपर डिलक्स वर्गकै भएकाले सोहि अनुसार तोकिएको भाडा दरमा टिकट काटिएको पनेरुले बताए ।

‘हामी दैनिक रुपमा अनुगमन गरिरहेका छौं,’ पनेरुले भने,‘तर भनेजस्तो यात्रु ठगिएको हामीले फेला पार्न सकेका छैनौं । ट्राफिक प्रहरीको सहकार्यमा सिटभन्दा बढी संख्यामा यात्रु बोकेको, निर्धारित भाडादरभन्दा बढी भाडा असुल भएको बिषयमा अनुगमन गरिरहेका छौं, हामीसँग भएकै जनशक्ति परिचालन गरी अधिकतम अनुगमन गरिरहेका छौं ।’

लामो दूरीका बसमा पनि कडाईका साथ दुई वटा चालक राख्ने व्यवस्था कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ ।

यस्तो छ सरकारको बसको सुविधाअनुसारको मापदण्ड

यातायात व्यवस्था विभागले बस, जीप, माइक्रोको सेवाअनुसार ४ प्रकारको मापदण्ड र वर्ग छुट्टयाएको छ । सोही सेवा र वर्गअनुसार मात्रै यात्रुबाट भाडा लिन पाउने व्यवस्था संशोधित यातायात व्यवस्थापन कार्यविधि २०६० अनुसार गरेको छ ।
विभागले रात्रीकालिन बस, स्तरीय डिलक्स, सुपर डिलक्स र जीप, माइक्रोबस र मिनीबस गरी ४ प्रकारको वर्ग निर्धारण गरी सुविधा र भाडादर निर्धारण गरेको छ ।

सामान्यस्तरको रात्री बसको मापदण्ड: आरामदायी र लचकदार सीट हुनुपर्ने, चालकसहित सिट संख्या ४० हुनुपर्ने, एक सिटको चौडाई, लम्बाई र उचाई क्रमशः १६ देखि १९ इन्चसम्मको हुनुपर्छ । यस्तै आगो निभाउने यन्त्र, प्राथमिक उपचारको व्यवस्था पनि हुनुपर्ने व्यवस्था गरिएको छ ।

स्तरीय डिलक्सको मापदण्ड: सिट आरामदायी र फोल्डिङ हुनुपर्ने, सिटको लम्बाई र चौडाई क्रमशः १७ देखि २० इन्च हुनुपर्ने, सिटको उचाई १९ इन्चसम्म हुनुपर्ने, वत्ति, पंखा र स्वीचको व्यवस्थाका साथै मनोरञ्जनको व्यवस्था हुनुपर्ने व्यवस्था गरिएको छ । प्रत्येक सीटमा सिट कभर, खोल र पर्दा सफा हुनुपर्ने, सिट पछाडी फोल्डिंग नहुने सिटमा यात्रा गर्ने यात्रुको हकमा सरकारले निर्धारण गरेको भाडा दरमा २० प्रतिशत कम भाडा तिर्नुपर्ने व्यवस्था छ ।

सुपर डिलक्सको मापदण्ड: सीट फोल्डिङ हुनुपर्ने, सिटको लम्बाई र चौडाई १७ देखि २० इन्चको हुनुपर्ने, सिटको उचाई १४ देखि १९ इन्च हुुनुपर्ने, वत्ति, पंखाको स्वीचका साथै मोवाइल चार्जर हुनुपर्ने, मनोरञ्जको सुविधा, आगो निभाउने यन्त्र हुनुपर्ने, बस पूर्ण रुपमा वातानुकूलित हुनुपर्ने, बसको ढोका हाइड्रोलिक हुनुपर्ने, ड्राइभर बस्ने क्याविनमा ड्राइभर बस्ने एक सिट मात्रै हुनुपर्नेलगायतको मापदण्ड तोकिएको छ ।

जीप, माइक्रोबस र मिनीबसको मापदण्ड: सिटको चौडाई १७ इन्च हुनुपर्ने, उचाई १६ देखि १९ इन्च हुनुपर्ने, प्राथमिक उपचार, आगो निभाउने यन्त्र र मनोरञ्जनको सुविधा हुनुपर्ने व्यवस्था गरिएको छ ।

टिकट पाउनै कठिन
यातायात व्यवसायीको सहकार्यमा सरकारले गत् सोमबारदेखि अग्रिम टिकट काट्ने सुविधा खुलाएको थियो । यो सुविधा खुलेको ६ दिनमै करिब ८० प्रतिशत टिकट बिक्री भइसकेको महासंघको दाबी गरिरहँदा अहिले पनि सयौं यात्रु दैनिक रुपमा टिकटका लागि भौतारिरहेका छन् ।

नेपालगञ्ज, डडेलधुरा, सुर्खेत, दैलेख, अर्घाखांची, जुम्ला, जाजरकोट, धनगढी, महेन्द्रनगर, टिकापुर, बझाङ्गसहित सुदुर पश्चिम र पूर्वका अधिकाँश यात्रुहरुले टिकट पाउन नसकेको उपभोक्तावादी संस्थाहरुको भनाई छ ।

दाँङ्गवाहेक अन्य जिल्लाका यात्रुहरुले पनि टिकट यात्रुहरुले नपाएको गुनासो पनि धेरै आएको आएको छ । पूर्वको बारा, पर्सा, रौतहठ, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी, मोरंग, झापा, इलाम, धनकुट्टा, उदयपुर जिल्ला जाने बस पनि न्युन संख्यामा हुँदा धेरै यात्रु टिकट पाउनबाट वञ्चित भएका छन् ।

‘कलंकी, गौशाला, नयाँ बसपार्क, कोटेश्वरमा टिकट सकिएको भन्दै यात्रुसँग पैसाको मोलमोलाई सुरु भएको छ, सुरुमा टिकट सकिएको भन्छन, पछि वार्गेनिङ गरी बढी रकम असुल गरी टिकट भिडाउदै आएको फेला परेको छ’, उपभोक्तावादी तिम्लिसिनाले भने ।


राजेश बर्मा