सेयर बजारबारे मनलाग्दी तालिम दिने बढेपछि सर्टिफिकेट अनिवार्य गर्दै धितोपत्र बोर्ड



काठमाडौं । अब सेयर बजारका बारेमा तालिम दिन अनिवार्य रुपमा सर्टिफिकेट लिनु पर्ने भएको छ । धितोपत्र बोर्डले तिहारपछि पाइलटिङ गरेर काम अघि बढाउने भएको छ ।

अहिले सेयर बजारका बारेमा स्वघोषित विज्ञ घोषणा गरेर मनलाग्दी तालिम दिने, कम्पनीको एनलाइसिस गर्ने, सामाजिक सञ्जालमा सेयर बजारमा बारेमा विश्लेषण दिनेको भिड जस्तै छ ।

बिना पाठ्यक्रम यस्ता तालिम दिँदा लगानीकर्ताले वास्तविक सूचना नपाउने भएकाले बोर्ड आफैंले सेलेबेस तयार पार्ने र योग्यलाई सर्टिफिकेट दिने तयारी गरेको जनाएको छ ।

धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालका अनुसार तिहार लगत्तै यो काम सुरु हुनेछ । त्यसकाे सुरुवात ब्राेकर कम्पनी र मर्चेन्ट बैंकर्सबाट हुने छ ।

अहिलेसम्म ब्रोकर कम्पनी वा मर्चेन्ट बैंकर्सको सञ्चालक वा कम्पनी सचिव बन्नका लागि कुनै पनि कक्षा लिनुपर्ने व्यवस्था छैन । अब भने ब्रोकर तथा मर्चेन्ट बैंकर्सको कम्पनी सचिव वा सञ्चालक बन्न कम्तिमा एउटा कोर्ष पढेको हुनुपर्ने व्यवस्था गर्न लागेको छ । कोर्ष लिने व्यवस्था ब्रोकर र मर्चेन्ट बैंकर्समा सफाल भएपछि सेयर बजारको तालिम दिने र अन्य क्षेत्रमा पनि लागु गर्ने तयारीमा बोर्ड रहेको छ ।

‘स्वतन्त्र विज्ञहरुको योग्यता, रोस्टर अफ लोकल र एनुयल रिपोटिङ सिस्टम, एनुयल इनडिपेन्डेन्ड डिरेक्टर रिपोटिङ सिस्टम लागू गर्दैछौं’ विश्व लगानीकर्ता सप्ताह २०२३ का अवसरमा आयोजित अन्तकृया कार्यक्रममा गत आइतबार बोर्डका अध्यक्ष रमेश कुमार हमालले भनेका थिए, ‘सर्टिफिकेशन कार्यक्रम लागू गर्न हामीले पाठयक्रम विकास गर्न अघि बढिसकेका छौं । यो कार्यक्रम हामीले बोर्डबाट पास गरेका छौं । सर्टिफिकेशन कार्यक्रम तिहार सकिएलगत्तै लागू गछौं । त्यो ब्रोकरबाट लागू गरेर मर्चेन्ट बैंकर्स हुँदै सूचीकृत कम्पनीमा गएर सर्टिफिकेशन कार्यक्रम नगरी बजारमा सेवा दिन पाइँदैन ।’

यसले सुशासन कार्यान्वयनमा सहयोग पुग्ने हमालको तर्क छ ।

अहिले ब्रोकर तथा मर्चेन्ट बैंकर्सहरुलाई तालिम दिँदा के विषयलाई प्राथमिकता राख्ने, के विषय लगानीकर्तालाई चाहिएको हो त्यसलाई केन्द्रमा राखेर पाठयक्रम बनाइरहेको बोर्डका सूचना अधिकारी तेजप्रसाद देवकोटाले बताए । यस्तै सेयर बजारका विज्ञले तालिम दिँदा कुन कोर्स कति समयका लागि दिने भन्ने विषय पाठ्यक्रममा राखिने उनको भनाइ छ ।

यसको लागि बोर्डले सुरुमा ब्रोकर कम्पनी र मर्चेन्ट बैंकर्सबाट पाइलटिङको रुपमा काम सुरु गर्ने छ । कम्पनी सचिव कस्तो हुने, योग्यता कति हुने, कम्पनी सञ्चालक समितिको योग्यता के-कति हुने, भूमिका के हुने ? भन्ने विषय पनि यो कार्यक्रममा समावेश गरिने उनको भनाइ छ ।

तिहार पछि पहिलो चरणमा ब्रोकर कम्पनी र मर्चेन्ट बैंकिङमा प्रयोग गरेर हेरेपछि सेयर बजारको बारेमा तालिम दिने तथा अन्य क्षेत्रमा पनि काम हुने उनको भनाइ छ । यो अभ्यास अन्य देशमा पनि भएको र नेपालमा पनि निकै नै आवश्यक रहेको देवकोटाको भनाइ छ । यस विषयमा बोर्ड सञ्चालकले शैद्धान्तिक निर्णय गरेको र अब यस विषयमा कार्यविधि बन्ने देवकोटाले बताए ।


क्लिकमान्डु