११ हजार बैंकर, साढे १२ हजार घरजग्गा व्यवसायी र ६० हजार उद्योगी किसान !



काठमाडौं । पछिल्लो सयम किसानहरु अन्य पेशा व्यवसायमा लाग्ने क्रम बढ्दो छ । उसैगरी, अन्य पेशा व्यवसाय गरिरहेकाहरु पनि खेती किसानी गर्न थालेका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको ७औं राष्ट्रिय कृषि गणना २०७८ अनुसार ६० हजार किसानले उद्योगमा पेशामा आवद्ध भएको बताएका छन् । जुन कुल किसानको ५.७ प्रतिशत हो । ५.७ प्रतिशत अर्थात् ६० हजार ३ सय किसानको परिवार शिक्षण पेशामा आवद्ध छन् ।

त्यसैगरी, १२ हजार ६ सय किसानले घरजग्गाको व्यवसाय गर्ने बताएका छन् । जुन कुल किसानको १.२ प्रतिशत हो । यो दशकमा शहरी तथा शहरोन्मूख इलाकामा घरजग्गाको कारोबार उल्लेख्य मात्रामा बढेकाले किसानहरु पनि घरजग्गा व्यवसायमा लागेका हुन् ।

त्यस्तै, बैंक तथा बिमा क्षेत्रमा काम गर्ने ११ हजार ३ सय घरपरिवारले कृषि व्यवसाय गर्दै आएका छन् ।

त्यसैगरी २२.२ प्रतिशत अर्थात् २ लाख ३५ हजार किसान थोक तथा खुद्रा व्यापार मोटरगाडी तथा मोटरसाइकल मर्मत सम्भारको पेशा÷व्यवसाय गर्छन् ।

त्यस्तै, ६ हजार ७ सय किसान कला, मनोरञ्जन र मनोविनोद पेशामा पनि आवद्ध छन् भने ०.४ प्रतिशत अर्थात् ४ हजार सुचना तथा सञ्चार (पत्रकारिता) क्षेत्रसँग पनि किसानहरु आवद्ध भएको देखिन्छ ।

यसैगरी ८.५ प्रतिशत अर्थात् ८९ हजार ५ सय किसानले वैज्ञानिक तथा विभिन्न प्रकारको प्राविधिकको काम पनि गर्दैआएका छन् भने १५.८ प्रतिशत अर्थात् १ लाख ६७ हजार १ सयको संख्यामा रहेका किसान निर्माण क्षेत्रमा पनि वैकल्पिक रुपमा काम गर्दैआएका छन् ।

यो गणनाअनुसार देशभर कृषि कर्म गर्ने घरपरिवारको संख्या ४१ लाख ३० हजार ७ सय ८९ पुगेको छ । नेपालमा कूल ६६ लाख घरपरिवार छन् । जसअनुसार ६२ प्रतिशतले मात्रै खेतीकिसानी गर्दै आएका छन् । दश वर्षअघिको गणनामा कूल परिवार संख्यामध्ये ७० प्रतिशत कृषि पेशामा आवद्ध थिए । संख्यामा कृषि पेशा गर्ने घरपरिवार बढे पनि प्रतिशतमा भने ८ प्रतिशत विन्दूले घटेका छन् ।

ऋण लिने कृषकको संख्या आधाले घट्यो

 सरकारले कृषिलाई प्रोत्साहन गर्न सस्तो ब्याजदरमै ऋण दिने व्यवस्था गरे पनि कृषि ऋण लिनेहरुको संख्या भने ह्वात्तै घटेको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको ७औं राष्ट्रिय कृषि गणनाको नतिजामा यस्तो देखिएको हो ।

एक दशकको अवधिमा कृषि ऋण लिनेहरुको संख्या ५० प्रतिशत हाराहारीले कम देखिनुले कृषिमा सरकारले दिएको सहुलिय बालुवामा पानी सरह भएको छर्लङ्ग हुन्छ ।

कृषि गणना २०७८ काअनुसार १२ प्रतिशत कृषकले मात्रै कृषि ऋण लिएका छन् । जबकी, कृषि गणना २०६८ कृषि ऋण लिने कृषक परिवारको संख्या ८ लाख ३६ हजार थियो, जुन त्यो बेला कुल कृषक परिवारको २२ प्रतिशत थियो ।

कृषि ऋण लिनेहरुमध्येमा पनि ३९ प्रतिशतले सहकारीबाट ऋण लिएका छन् । यसअघिको कृषि गणना अर्थात २०६८ को गणनामा सबैभन्दा बढी कृषि ऋण लिने अर्थात् ३५ प्रतिशतले आफन्तबाट ऋण लिएको पाइएको थियो ।

कृषिको काममा ऋण आवश्यक छ भन्ने र ऋण लिनेहरुको हकमा थप ऋण आवश्यक छ भन्ने परिवारको संख्या १४ लाख १५ हजार रहेको गणनाले देखाएको छ । कुल कृषक परिवारको ३४ प्रतिशतले यस्तो आवश्यकता महशुस गरेको बताएका छन् । जसमध्ये पनि ३७ प्रतिशतले कृषि ऋण पशुपन्छी पालनका लागि आवश्यक भएको बताएका छन् ।

सार्वजनिक गरिएको तथ्याङक अनुसार १ लाख ८७ हजार परिवारले बचत तथा ऋण सहकारी संस्थाबाट ऋण लिने गरेका छन् । यस्तै साहु महाजनबाट भने ५५ हजार परिवारले कर्जा लिएर कृषि पेश गरेका छन् । तथ्याङक अनुसार वाणिज्य बैंकबाट २८ हजार, विकास बैंकबाट ५७ हजार, फाइनान्स र लघुवित्तबाट ६१ हजार, कृषक समूहबाट ६६ हजार परिवारले कर्जा लिने गरेका छन् ।

नेपालमा कूल ४१ लाख ३० हजार ७८९ कृषक छन् । उनीहरुले २२ लाख १८ हजार ४१० हेक्टर जमिनमा खेती गर्दै आएका छन्।

बुढ्यौलीको काँघमा कृषि

नेपालको कृषि क्षेत्रप्रति युवाहरु आकर्षित हुन नसकेको तथ्य बाहिरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणनाअनुसार युवा समूह कृषि कर्मप्रति आकर्षित हुन नसकेको औल्याएको छ ।

तथ्यांकअनुसार नेपालको कृषि कर्म बुढ्यौली उमेर लाग्न लागेको नेपालीको काँधमाथि पुगेको छ । ३५ देखि ४४ बर्ष उमेर समूहका २।७ प्रतिशत जनसंख्या भएको नेपालीको काँधमाथि कृषि कर्म पुगेको छ ।

यस्तै ४५ देखि ५४ बर्ष उमेर समूहका २४.८ प्रतिशत नेपालीले कृषि कर्म गर्दैआएका छन । त्यसैगरी ५५ देखि ६४ बर्ष उमेर समूहका १८.३ प्रतिशत नेपालीले कृषि कर्म गर्दैआएका छन् ।

उता २५ बर्षमुनिका युवाहरुको सहभागिता कृषिमा २.६ प्रतिशत मात्रै छ । यसैगरी कृषिमा लागेका युवाहरुमध्ये २५ देखि ३४ बर्षसमूहको संख्या १४.९ प्रतिशतमात्रै छ । युवालाई प्रेरित गर्ने खालको नीति नहुँदा उनीहरु कृषिकर्मबाट पलायन भएर वैदेशिक रोजगारतर्फ आकर्षित भएका छन् ।

अघिल्लो पटकको कृषि गणनाको तुलनामा कृषि कर्ममा युवाहरुको संख्या घटेको र बुढ्यौली उमेर लागेका नेपालीको काँधमाथि कृषि आइपरेको यो तथ्याँकले पुष्टि गरेको छ ।

कृषिमा मेसिनको प्रयोग बढ्यो

नेपालको कृषि क्षेत्रमा मेसिनरी उपकरणको प्रयोग बढ्दै गएको छ । पछिल्लो १० बर्षको अवधीमा कृषि यन्त्रको प्रयोग बढेको हो । राष्ट्रिय तथ्यांक कार्यालयले बिहिबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ ले यस्तो तथ्य बाहिर ल्याएको हो ।

हिँजोसम्म परम्परागत रुपमा खेतीपाती गर्दै आएका किसानहरु अहिले आधुनिक कृषि यन्त्रको सहयोगमा गर्न लागेको यो तथ्यले पुष्टि गरेको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार २०६८ को तुलनामा झण्डै दोब्बर किसान परिबारले कृषि यन्त्रको प्रयोग गरेको पाइएको छ ।

पछिल्लो पटकको तथ्यांकअनुसार कृषिकर्म गर्न १६ लाख ३९ हजार किसानले ट्रयाक्टरको प्रयोग गरेको पाइएको छ । अघिल्लो पटक २०६८ मा सम्पन्न भएको कृषि गणनाअनुसार उक्त वेला ८ लाख ४५ हजार किसानले मात्रै ट्रयाक्टरको सहयोगमा कृषि कर्म गरेका थिए ।

यस्तै पछिल्लो पटकको तथ्यांकअनुसार जग्गा जोत्न किसानसँग ५८ लाख ट्रयाक्टर रहेको उल्लेख छ । २०६८ मा भने यस्तो ट्रयाक्टरको संख्या ३७ हजार थियो ।

यसैगरी कृषिकर्ममा पावर टिलर प्रयोग गर्ने किसानको संख्या ४ लाख ७१ हजार पुगेको छ । कृषि उपकरणमा आकर्षण भएका किसानको स्वामित्वमा भएको पावर लिटरको संख्या १ लाख १८ हजार पुगेको छ । अघिल्लो पटकको गणनाअनुसार देशभरका किसानमध्ये ७६ हजार किसानले पावर टिलर प्रयोग गरेको पाइएको थियो । त्यो वेला उनीहरुको स्वामित्वमा १० हजार गोटा पावर टिलर थियो ।

यस्तै पछिल्लो पटकको तथ्यांकअनुसार बाली झाँट्ने थे्रसरको प्रयोग गर्ने किसानको संख्या ११ लाख ७५ हजार थियो । यस्तै किसानको स्वामित्वमा १ लाख १५ हजार थ्रेसर मेसिन रहेको फेला परेको छ ।

२०६८ को तथ्यांकअनुसार त्यो वेला थे्रसर प्रयोग गर्ने किसानको संख्या ८ लाख ३ हजार थियो । यस्तै किसानको स्वामित्वमा ५२ हजार गोटा यस्ता औजार थियो ।

सिँचाइ सुविधा लिने किसानको संख्या बढ्यो

खेतिपाती गर्न आवश्यक पर्ने सिंचाई सुविधा लिने किसानको संख्या बृद्धि भएको फेला परेको छ ।

राष्ट्रिय कृषि गणनाअनुसार अघिल्लो बर्ष २०६८ को तुलनामा पछिल्लो गणनाअनुसार सिंचाई सुविधा लिने किसानको संख्या २८ लाख ८९ हजार पुगेको छ ।

तर, सिंचाई पुगेको क्षेत्रफल भने घटेको छ । अघिल्लो गणनाअनुसार २४ लाख ७२ हजार किसानले १३ लाख १३ हजार हेक्टर जग्गामा सिंचाई सुविधा प्रयोग गरेका थिए भने अहिलेको तथ्यांकअनुसार २८ लाख ८९ हजार किसानले १२ लाख ९ हजार हेक्टर जग्गामा सिंचाई सुविधा प्रयोग गरेका छन् ।

तथ्यांकअनुसार देशभरको किसानको संख्यामध्ये झण्डै ७० प्रतिशत किसानले सिंचाई सुविधा प्रयोग गरेका छन् । यसमध्ये पनि सबैभन्दा बढी मधेश प्रदेश र मधेश प्रदेशको वारा जिल्लाका किसानले यो सुविधा प्रयोगमा ल्याएका छन्।

नेपालमा ६२ प्रतिशतमात्रै कृषक परिवार

कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा घर परिवारमध्ये ६२ प्रतिशत मात्रै कृषक परिवार रहेको पाइएको छ ।

बिहीवार सार्वजनिक गरिएको सातौं कृषि गणनाको प्रमुख नतिजाअनुसार नेपालमा पछिल्लो १० वर्षमा ९ प्रतिशत बिन्दुले कृषक परिवार घटेको देखाएको हो । अघिल्लो कृषि गणनामा यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो ।

त्यस्तै, कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रिकुमार कार्कीले बताए । उनले अघिल्लो कृषि गणना २०६८ अनुसार ३८ हजार ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषिकार्य गरेको बताए।

उनले पछिल्लो १० वर्षमा ३ लाख हेक्टर जमिन कृषि कार्यमा घटेको बताए । उनले कृषि गणनाले कृषक परिवारअन्तर्गत जम्मा कित्ता सङ्ख्या १ करोड १५ लाख ८३ हजार ९५० र प्रतिकृषक परिवार कित्ता संख्या २.८ देखाएको छ ।


क्लिकमान्डु