राष्ट्र बैंकमाथि सीआईबीले उठायो प्रश्न- कमजोर नियमनले बैंकिङ कसुरमा कर्मचारीको संलग्नता



काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरसम्बन्धी अपराधका अधिकांश मुद्दामा सम्बन्धित बैंकमा कार्यरत कर्मचारी संलग्न रहेको जनाएको छ । आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सीआईबीले अनुसन्धान गरेका २० वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा १० जना सञ्चालक समितिका पदाधिकारी र ५० जना कर्मचारी संलग्न भेटिएका छन् ।

नेपाल राष्ट्र बैंकको कानुन महाशाखाले आयोजना गरेको कार्यक्रममा बैंकिङ कसुर अनुसन्धानसम्बन्धी प्रस्तुति गरेका सीआईबीका अधिकारीहरुले राष्ट्र बैंकको कमजोर नियमनको फाइदा उठाउँदा बैंक वित्तीय संस्थाको कर्मचारीको मिलेमतोमा बैंकिङ कसुरका अपराध बढिरहेको बताए ।

बैंकिङ कसुरसम्बन्धी अपराधका अधिकांश मुद्दाको अनुसन्धान गर्दा बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले बैंकहरुले अनिवार्य रुपमा नो योर इम्प्लोइ लागु गर्नुपर्ने सीआईबीको सुझाव छ । नो योर इम्प्लोइमार्फत कर्मचारीहरुको जानकारी संकलन हुँदा बैंकिङ कसुरसम्बन्धी अनुसन्धान गर्न सहज हुने सीआईबीको सुझाव छ ।

बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जा त्रुटीपूर्ण हुँदा निक्षेपकर्ताको निक्षेप जोखिममा पर्न सक्ने भए पनि सम्बन्धित बैंक/वित्तीय संस्था र नेपाल राष्ट्र बैंक समेतबाट जाहेरी दरखास्तका लागि पत्राचार/अनुरोध गर्दा सम्बन्धित निकायले कारबाही प्रक्रियामा जान उदासीनता देखिएको सीआईबीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले नियमन गर्ने विभाग/महाशाखालाई थप जिम्मेवार र प्रभावकारी बनाई तोकिएको समय सीमाभित्र स्थलगत निरीक्षण गर्ने/गराउने तथा दिएको निर्देशनको सम्बन्धित बैंक तथा वित्तीय संस्थाले पालना गरे/नगरेको यथोचित अनुगमन गर्न प्रणाली विकास गर्नुपर्ने सीआईबीको सुझाव छ ।

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको प्रभावकारी अनुगमन गर्न नसक्दा कमसल धितो लिई कर्जा लगानी गर्ने विकृति बढिरहेको सीआईबीको ठहर छ ।

बैंकिङ कसुरसम्बन्धी प्राय: कसुरहरुको उठान नेपाल राष्ट्र बैंकको जाहेरी/पत्रहरुबाट हुने गरेकाले अनुसन्धानमा नेपाल राष्ट्र बैंकको सक्रिय सहयोगको आवश्यकता पर्ने सीआईबीले जनाएको छ । राष्ट्र बैंले विज्ञ कर्मचारीसहित आवश्यक सहयोग र समन्वय गरेको अवस्थामा मात्रै सीआईबीले प्रभावकारी अनुसन्धान गर्न सक्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले समय-समयमा जारी गरेको एकीकृत निर्देशन कार्यान्वयन भए/नभएको विषयमा प्रभावकारी अनुगमन गर्दा नसक्दा वित्तीय अपराधमा वृद्धि भइरहेको सीआईबीको कथन छ । राष्ट्र बैंकबाट जारी भएका एकीकृत निर्देशनबमोजिमका काम सम्पादन भए/नभएको सम्बन्धमा नियमित र विशेष निरीक्षण गराउनुपर्ने सीआईबीको सुझाव छ ।

बैंकिङ कसुरसम्बन्धी विषयको अनुसन्धान गर्दा मूल्यांकनकर्ताले ऋणीसँग मिलेमतो गरी कमसल धितोलाई अधिक मूल्यांकन गर्ने गरेको सीआईबीले जनाएको छ । धितोले खाम्न नसक्ने गरी कर्जा प्रवाह हुँदा बैंक तथा वित्तीय संस्थाहरुमा जोखिम बढिरहेकाले बैंक वित्तीय संस्थाले स्थायी रुपमा पनि आन्तरिक मूल्यांकनकर्ता नियुक्त गर्नुपर्ने सीआईबीको सुझाव छ ।

बैंकिङ कसुरसम्बन्धी अपराध अनुसन्धानसँग सम्बन्धित सम्पूर्ण निकायलाई समेट्ने गरी नियमित प्रशिक्षण, कार्यशाला र सेमिनारको आयोजना गरिनुपर्नेसमेत सीआईबीले जनाएको छ ।


रवि धिताल