रेमिट्यान्स आप्रवाहमा ५ वर्षमा ६२ प्रतिशतको वृद्धि



काठमाडौं । बितेका ५ वर्षमा रेमिट्यान्स आप्रवाह करिब ६२ प्रतिशतले बढेको छ । देशमा रोजगारीका अवसर नहुँदा बिदेसिने युवाको संख्यामा भएको उच्च वृद्धिसँगै रेमिट्यान्स आप्रवाह पनि बढेर गएको हो ।

आर्थिक वर्ष २०७४/७५ मा ७ खर्ब ५५ अर्ब रेमिट्यान्स भित्रिएकोमा गत आर्थिक वर्षमा १२ खर्ब २० अर्ब नाघेको हो । यो वृद्धि ६१.५९ प्रतिशत हो । गत आर्थिक वर्षमा मासिक १ खर्बभन्दा बढीका दरले रेमिट्यान्स भित्रिएको छ ।

आव २०७५/७६ मा ८ खर्ब ७९ अर्ब, २०७६/७७ मा ८ खर्ब ७५ अर्ब, २०७७/७८ मा ९ खर्ब ६१ अर्ब र २०७८/७९ मा १० खर्ब ७ अर्ब रेमिट्यान्स आएको थियो ।

आव २०७४/७५ मा रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा ८.६ प्रतिशतले बढेको थियो । त्यस्तै आव २०७५/७६ मा १६.५ प्रतिशतले बढेको रेमिट्यान्स २०७६/७७ मा भने ०.५ प्रतिशतले घटेको थियो ।

कोभिड-१९ महामारीका कारण ७६/७७ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या पनि २०.५ प्रतिशतले घटेको थियो । त्यस्तै पुनः श्रम स्वीकृति लिनेको संख्या ३४.७ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।

आव २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले, २०७८/७९ मा ४.८ प्रतिशत र २०७९/८० मा २१.२ प्रतिशतले बढेको छ ।

रोजगारीका लागि बिदेसिने युवाको संख्या पौने ८ लाख

गत वर्ष रोजगारीका लागि बिदेसिने युवाको संख्या ७ लाख ७४ हजार ९७६ पुगेको छ । पाँच वर्षको अवधिमा वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा भने ठूलो वृद्धि भएको छैन ।

पाँच वर्षअघि आर्थिक वर्ष २०७४/७५ मा ६ लाख २० हजार ६२६ युवा रोजगारीका लागि बिदेसिएका थिए । आव २०७५/७६ मा त्यो संख्या घटेर ५ लाख १६ हजार ४८६ मा झर्‍यो ।

आव २०७६/७७ को पछिल्ला चार महिना कोभिडका कारण वैदेशिक रोजगारी प्रभावित भयो । चैतदेखिको लकडाउनका कारण उक्त वर्ष ३ लाख ७१ हजार ९२५ युवा मात्र जान पाए । कोभिडको असर अर्को वर्ष झन् बढ्यो । आव २०७७/७८ जम्मा १ लाख ६६ हजार ६९९ युवा रोजगारीका लागि खाडी तथा मलेसिया पुगे ।

बिदेसिने युवाको संख्या उल्लेख्य घटे पनि उक्त वर्ष रेमिट्यान्स आप्रवाह ९.८ प्रतिशतले बढ्यो । आव २०७८/७९ मा कोभिडबाट विश्वभरका देशहरुले मुक्ति पाउँदै गए । बिदेसिने युवाको संख्या पनि बढ्दै गयो । उक्त वर्ष बिदेसिने युवाको संख्या उच्च दरले बढेर ६ लाख ३७ हजार ११३ पुग्यो ।

बाहिरिने युवाको संख्या उच्च दरले बढ्दा रेमिट्यान्स आप्रवाह पनि सोही अनुपातमा बढेको छ । २०७९/८० मा रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढेको हो ।

नेपालबाट सबैभन्दा धेरै युवा मलेसिया, यूएई, साउदी अरब, कतार, कुवेत र दक्षिण कोरिया रोजगारीका लागि जाने गरेका छन् । त्यस्तै, रोमानिया, जापान, माल्टा, पोल्यान्ड, साइप्रसलगायतका देशमा जाने क्रम पनि बढ्दो छ ।


रवि धिताल