साउनमा सरकारको खातामा थपियो ५३ अर्ब ७९ करोड रुपैयाँ, खर्चभन्दा आम्दानी बढी



काठमाडौं । साउनमा संघीय सरकारको सञ्चित कोषमा ५३ अर्ब ७९ करोड रुपैयाँ थपिएको छ । सरकारले खर्चभन्दा आम्दानी बढी गर्दा सञ्चित कोष बचतमा गएको हो ।

साउनमा सरकारले विभिन्न स्रोतबाट ९५ अर्ब २३ करोड रुपैयाँ आम्दानी गर्दा ४१ अर्ब ४४ करोड रुपैयाँ खर्च गरेको छ । संघीय सरकारले साउनमा राजस्व र अन्य प्राप्तिबाट ७८ अर्ब ६० करोड, अनुदानबाट १२ अर्ब ८६ करोड, बाह्य ऋणबाट १ अर्ब ७५ करोड र आन्तरिक ऋणबाट १३ अर्ब ५९ करोड रुपैयाँ जुटाएको छ ।

सरकारले साउनमा चालुतर्फ १४ अर्ब ६१ करोड रुपैयाँ, पुँजीगततर्फ ९ अर्ब ६८ करोड र वित्तीय व्यवस्थातर्फ २५ अर्ब ८६ करोड रुपैयाँ खर्च गरेको छ ।

साउनमा आम्दानीभन्दा खर्च कम हुँदा संघीय सरकारको सञ्चित कोष बचतमा भए पनि गत आर्थिक वर्षमा सरकारले आम्दानीभन्दा खर्च बढी गर्दा संघीय सरकारको सञ्चित कोष १ खर्ब ७९ अर्ब रुपैयाँले घाटामा गएको थियो ।

चालु आर्थिक वर्षको पहिलो महिनामा सञ्चित कोषमा ५३ अर्ब ७९ करोड रुपैयाँ थपिएपछि संघीय सरकारको सञ्चित कोषको घाटा घटेर १ खर्ब २५ अर्ब रुपैयाँमा झरेको छ ।

संघीय सरकारको सञ्चित कोष घाटामा हुनुको अर्थ हुन्छ, सरकारले आम्दानीभन्दा बढी खर्च गरिरहेको छ । सरकारले राजस्व, वैदेशिक अनुदान, आन्तरिक र बाह्य ऋणबाट गरेको आम्दानीभन्दा बढी खर्च गर्दा सञ्चित कोष घाटामा जाने गर्छ ।

सरकारले सञ्चित कोष घाटामा रहेको अवस्थामा नियमित प्रयोग नहुने तर सरकारसँग भएको विभिन्न कोषका पैसा प्रयोग गर्दै खर्च व्यवस्थापन गर्ने गर्छ । सञ्चित कोष घाटामा भएको अवस्थामा धरौटी खातालगायतका विभिन्न कोषका पैसा प्रयोग हुने गर्छन्।

साउनमा विगतदेखि सरकारको खर्च न्यून हुने गरेकाले यो वर्ष पनि सञ्चित कोष बचतमा गएको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘साउनमा हामीले १३ अर्ब ५९ करोड रुपैयाँ आन्तरिक ऋण पनि उठायौं, अन्य खर्च पनि कम भएको छ । जसले गर्दा अहिले सञ्चित कोष ५३ अर्ब ७९ करोड रुपैयाँले बचतमा गएको हो,’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ‘भदौ प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने पैसा पनि बढ्ने, चालू खर्च र वित्तीय व्यवस्थापन खर्चको पनि भुक्तानी बढ्ने भएकाले आगामी दिनमा राजस्व संकलन बढेन भने संघीय सरकारको सञ्चित कोष बचतमा जाने सम्भावना छैन ।’


रवि धिताल